ताजा अपडेट »

तिलोत्तमाकी सीता भण्डारी हत्या प्रकरण: सत्यतथ्य छानविन गर्न एमालेको माग

आइतबार, २७ भदौ २०७८, १७ : ५२
10 Shares

बुटवल । नेकपा एमाले रुपन्देहीले तिलोत्तमामा सीता ‘भण्डारी आत्महत्या’ प्रकरणको सत्यतथ्य छानविनको माग गरेको छ । तिलोत्तमा–५ का आत्महत्या गरेको भनिएकी सीताको बारेमा निस्पक्ष र विश्वसनीय अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन र दोषिलाई कारबाहीको माग गरेको छ ।

एमाले रुपन्देहीका ईन्चार्ज दधिराम न्यौपाने तथा सह इन्चार्ज विश्वकर्माको उपस्थितीमा भएको बैठकले पीडित पक्षलाई न्याय दिलाउन सरकारसँग माग गरेका छन् । एमाले जिल्ला अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले बाढी, पहिरो र डुवानले प्रभावितहरुका लागि प्रदेश तथा केन्द्र सरकारले आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन माग गरेको छ । विभिन्न स्थानमा जनधन र भौतिक क्षति भएको विषयप्रति दुख ब्यक्त गर्दै सो पार्टीले राहत र सहयोग उपलब्ध गराई जनताको पीडामा मल्हम लगाउने काम गर्न आग्रह गरेको छ ।

यसैगरी कोभिड–१९ महामारीमा नागरिकहरुको जीवन रक्षार्थ खोपको ब्यवस्थापनलाई तीव्रता दिन सरकारसँग माग गरेको छ । उपचाररत कोभिड प्रभावितहरुको स्वास्थ्यलाभको कामनासहित आम नागरिकलाई स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गरी सचेतना अपनाएर सुरक्षित रहन अपिल गरेको छ ।

एमालो पार्टी कार्यालय पुष्पलाल स्मृति भवनमा आइतबार बसेको बैठकले भुलवस वा भ्रमवस विभाजनको पक्षमा उभिएका सदस्यहरुलाई फर्केर पार्टीको काममा जुट्न आह्वान गरेको छ ।

जिल्ला ईन्चार्ज न्यौपानेले पार्टीमा देखिएको बिग्रह र तथस्टतालाई चिर्दै सम्पूर्ण शक्तिका साथ कार्यकर्ता र जनतामा जान नेतृत्वमा रहेका कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टीलाई थप सुदृढ बनाउदै बिकास र सम्बृद्विको यात्रालाई नयाँ शिराबाट अघि बढाउन सकिने उनले बताए । यही भदौ ३० गते पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थितिमा हुने अगुवा कार्यकर्ता भेलालाई सफल बनाउन उनले आह्वान गरेका छन् ।

बैठकले स्थानीय तहका कमिटीहरुको व्यवस्थापनका लागि कार्यदल गठन गरेको छ भने असोज २० गते भित्र सदस्यता नवीकरणको सबै काम सम्पन्न गरिसक्ने निर्णय गरेको नेकपा एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिए । त्यस्तै कार्तिक ६ मा १५५ वटै वडा र कार्तिक ९ मा १६ वटै पालिका कमिटीहरुको अधिवेशनको तयारी सम्बन्धि निर्णयहरु भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।