ताजा अपडेट »

कोरोनाले ठूला मन्दिर सञ्चालनमा समस्या

शुक्रबार, २५ भदौ २०७८, ११ : ०८
8 Shares

पाल्पा । कोरोनाले ऐतिहासिक मठमन्दिरमा पूजा खर्च तथा पुजारीको पारिश्रमिक जुटाउन सास्ती भएको छ । कोरोनाको जोखिमले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल नहुँदा मन्दिरका नियमित पूजा खर्च, पुजारी र मन्दिरका कर्मचारीका निम्ति पारिश्रमिक जुटाउन समस्या देखिएको हो । स्थानीय प्रशासनले वैशाखदेखि भदौ तेस्रो हस्तासम्म मठमन्दिर सञ्चालनमा निषेध गरेसँगै धार्मिक पर्यटकीय क्षेत्र सुनसान बनेका थिए । निषेधाज्ञा अवधिदेखि अहिलेसम्म पाल्पाका अमरनारायण, भगवती, भैरव, ऋषिकेश, सिद्धबाबालगायतका मन्दिर धार्मिक पर्यटकको चहलपहल हुन नसक्दा मन्दिरमा आर्थिक समस्या बढेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

रिब्दीकोट गाउँपालिका–५ भैरव मन्दिर पाल्पा जिल्लाकै प्रसिद्ध मन्दिर हो । यो मन्दिरले वार्षिक रु ५० लाखभन्दा बढी आम्दानी गर्दै आएको भए पनि हाल मन्दिरको नियमित पूजा खर्च र पुजारी, कर्मचारीलाई पारिश्रमिक प्रदान गर्न समस्या भएको मन्दिर व्यवस्थापन समितिका सचिव नवराज ज्ञवालीले बताए । कोरोनाको उच्च जोखिमका कारण मन्दिरमा दर्शन गर्न आउने दशालु भक्तजनको सङ्ख्यामा कमी हुँदा मन्दिरको आम्दानीसमेत घटेको हो । मन्दिरमा चढाएको भेटी नै मन्दिरको नियमित आम्दानी हो ।

भैरव मन्दिर तानसेनबाट नौ किलोमिटर पश्चिममा पर्छ । कोभिड–१९ ले गर्दा नित्य पूजाबाहेक अन्य दैनिक पूजा गर्न कठिनाइ भएको छ । मन्दिरमा १४ स्थायी र अन्य ज्यालादारी कर्मचारी रहेका छन् । मन्दिरमा कोरोना असरले भक्तजन नआउँदा कर्मचारीको तलबभत्ता, मन्दिर व्यवस्थापनको खर्च जुटाउन समस्या चर्किएको छ । मन्दिरसँग जोडिएर स्थानीय बासिन्दाले रोजीरोटीको ग्यारेन्टी गरे पनि अहिले रोजगारीका अवसरबाट बञ्चित छन् ।

जिल्ला प्रशासन कार्यालयले मठमन्दिरमा भीडभाड गरी पूजा गर्न अझै रोक लगाएको छ । यसले गर्दा पाल्पामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल ठप्प छ । पर्यटकको आगमनमा कमी हुँदा दान, भेटी तथा सहयोगका भरमा सञ्चालित मठमन्दिर सञ्चालनमा आर्थिक बोझ थपिएको स्थानीय बासिन्दाको भनाइ छ । तानसेन नगरपालिका–२ नारायणस्थानस्थित अमरनारायण मन्दिर छ ।

कोरोनाले गर्दा साँझ–बिहान भजनकीर्तन हुनसमेत छाडेको छ । अहिले मन्दिरमा दर्शन गर्न आउने भक्तजन शून्य छ । मन्दिरमा दर्शन गर्न भक्तजन आउँदा पनि कोरोनाको त्रास छ । भक्तजन नआउँदा मन्दिरमा पूजा खर्च जुटाउन समस्या भएको मन्दिरका पुजारी उमाशङ्कर पोखरेलको भनाइ छ । तानसेन पर्यटकीयस्थल हो । पहाडी जिल्ला पाल्पामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुँदै आए पनि कोरोनाका कारण पर्यटक देख्न रहर हुन थालेको तानसेनका स्थानीय बासिन्दा वीरजङ्ग राणाको भनाइ छ । पाल्पामा पर्यटकीय चहलपहल नहुँदाको यहाँको पर्यटन व्यवसाय सङ्कटमा छन् । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।