ताजा अपडेट »

कोरोना फैलाएको भन्दै एक युवकलाई पाँच वर्ष जेल

बुधबार, २३ भदौ २०७८, १० : ५५
2 Shares

काठमाडौँ । दक्षिणपूर्वी एसियाली मुलुक भियतनाममा कोरोनाभाइरस फैलाएको भन्दै एक जना युवकलाई पाँच वर्ष जेल सजाय सुनाइएको छ। भियतनामको का माउ प्रान्तको एक अदालतले २८ वर्षीय ले भान ट्रीलाई कोरोना नियन्त्रण मापदण्ड पालना नगरेको र अरूलाई खतरनाक भाइरस फैलाएको अभियोगमा पाँच वर्ष जेल र ८ सय ८० अमेरिकी डलर जरिवाना तिराएको हो।

भियतानामको सरकारी समाचार संस्थाका अनुसार गत जुलाईमा ट्री हो ची मिन्ह सहरबाट मोटरसाइकलमा का माउ प्रान्तमा रहेको आफ्नो घर गएका थिए। बाहिरबाट आएका मानिसले अनिवार्य रूपमा २१ दिन आइसोलेसनमा बस्नु पर्ने नियम थियो। ट्रीले आफू बाहिरबाट आएको जानकारी स्थानीय स्वास्थ्य अधिकारीलाई दिएनन् न त आइसोलेसनमा नै बसे।

पछि उनमा कोरोनाको संक्रमण पुष्टि भयो। त्यतिञ्जेल उनले परिवार सदस्यसहित ८ जनालाई भाइरस सारिसकेका थिए। उनीबाट भाइरस सरेका एक जनाको मृत्यु भइसकेको छ। स्वास्थ्य मापदण्ड पालना नगरेको र अधिकारीहरूलाई आफ्नो अवस्थाबारे जानकारी नदिएको अभियोगमा अदालतले उनलाई दोषी ठहर गरेको हो। भियतनामले कोरोनाभाइरसको पहिलो लहरमा निकै प्रभावकारी ढंगले नियन्त्रण गरेको थियो।

यो वर्ष फैलिएको दोस्रो लहरले भने भियतनामलाई पनि गाँजेको छ। दोस्रो लहरमा भियतनाममा डेल्टा भेरियन्टको कोरोनाभाइरस फैलिएको थियो। भियतनाममा अहिलेसम्म पाँच लाख ३० हजार मानिसमा कोरोना संक्रमण भएको छ भने तीमध्ये १३ हजारले ज्यान गुमाएका छन्।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।