ताजा अपडेट »

हरितालिका तीज : विगतका वर्षमा भन्दा चहलपहल कम

आइतबार, ०८ भदौ २०७६, १८ : १२
4 Shares

छवि र रवि प्रकरणले तीज गीतमा प्रभाव

डि.बी. सुस्लिङ
बुटवल । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज आउन अब ९ दिन मात्रै बाँकी छ । शुक्रबार श्रीकृष्ण जन्माष्टमी मनाइएको छ । श्रीकृष्ण जन्माष्टमीको ११औं दिनमा आउने हरितालिका तीजको अघिल्लो दिन दर खाएर भोलिपल्ट (तीजको दिन) महिलाहरुले निराहर बर्त बसी भगवान शिवको पूूजा–आजा गर्ने धार्मिक परम्परा रहेको छ । तीज आउन १ महिना बाँकी छँदै विभिन्न पार्टी प्यालेस तथा होटल रेष्टुरेण्टमा दरखाने कार्यक्रमहरुको भरिभराउ हुने प्रचलन विगत वर्षको तुलनामा यो वर्ष भने कमी आएको देखिएको छ । सामाजिक सञ्चालहरु यूट्यूूब तथा फेसफुकमा नेपाली तीज गीतका म्यूजिक भिडियो र तस्विरहरुले रंगिने विगतका वर्षहरुको अवस्था यो वर्ष देखिएन ।

पछिल्लो समय पत्रकार शालिकराम पुडासैनिकको चितवनमा आत्महत्या प्रकरणमा टेलीभिजनका कार्यक्रम प्रस्तोता पत्रकार रवि लामिछाने तानिएको घटनाले सामाजिक सञ्चाल रङ्गिगएको देखिन्छ । सबैको ध्यान त्यतातर्फ केन्द्रित हुँदा तीजको चहलपहल र रौनकतामा कमी आएको हो कि भन्ने कतिपयको विचार पाउन सकिन्छ । यसै विषयमा रहेर नेपालका लोक तथा दोहोरी गीतका कलाकारहरुसँग बुद्धभूमीले गरेको कुराकानीलाई आधार मान्य हो भने, पत्रकार पुडासैनिको आत्महत्या र रवि लामिछानेलाई अनुसन्धानका लागि हिरासतमा राखिएको घटनाका कारण तीजको रौनकतामा कमी आएको छ । त्यस्तै केही समय अघि चलचित्र निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलको विवादले नै सामाजिक सञ्जाल तथा यूट्यूव छाएको थियो । जसले गर्दा सुरुवात मै यस वर्षका तीज गीत यूट्यäमा टेण्डिङ्गमा परेनन् । अर्कोतर्फ विभिन्न जिल्ला प्रशासन कार्यालयहरुले तीजका नाममा अभद्र तथा खर्चिलो क्रियाकलाप बढेको भन्दै होटल तथा पार्टी प्यालेसहरुमा दरखाने कार्यक्रम गर्न रोक लगाएका कारण पनि चहलपहल कम देखिएको उनीहरु बताउँछन् ।

‘यूट्यूव तथा सामाजिक सञ्चालमा तीजको रौनक नदेखिए पनि गाउँघरमा तीजको रौनक विगत वर्षकै तुलनामा रहेको छ,’ भन्छन् राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठानका महासचिव सुवास के.सी । तीज नजिकिँदै गर्दा विगतमा जस्तै यो वर्ष पनि कलाकारहरु व्यस्त नै रहेको उनको भनाई छ । पत्रकार पुडासैनिको आत्महत्या घटना तथा सरकारले दरखाने कार्यक्रममा लगाएको कडाइका कारण चहलपहल केही कम देखिए पनि गाउँघरमा महत्व र रौनकता विगतमा जस्तै रहेको उनको दाबी छ ।

लोकदोहोरी गायक बैकुण्ठ महत

गायक बैकुण्ठ महतले भने यो वर्ष विगतका वर्षभन्दा तीजको रौनकता ५० प्रतिशतले कमी आएको उल्लेख गर्छन् । ‘पत्रकार पुडासैनीको आत्महत्या प्रकरण, बदलिँदो जीवन शैली तथा देशमा परिवर्तन भएको नयाँ व्यवस्थाका कारण तीजका गतिविधिमा कमी आएको हो ।’–उनले भने । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठानकी सचिव गायिका राधिका हमालले पनि सो कुरालाई आंशिक रुपमा स्वीकार गर्दै विगत वर्षभन्दा यो वर्ष चहलपहल कमी देखिएको बताइन् ।

लोकदोहोरी गायिका राधिका हमाल

विगतका वर्षहरुमा एकै सिजनमा ४०/५० वटा तीज भाकामा आफूूले स्वर दिएको स्मरण गर्दै हमालले भनिन्–‘यो वर्ष ५/७ वटा गीतमा मात्रै स्वर दिएकी छु, यो वर्ष बजारमा कमै मात्रामा नयाँ तीज भाकाहरु आएका छन् ।’ पत्रकार पुडासैनीको आत्महत्या प्रकरणले तीजको चहलपहलमा खासै असर नगरेको उनको भनाई छ । बदलिँदो जीवनशैली, कलाकारहरुले कमै तीज भाकाका गीत बजारमा ल्याउनु तथा सरकारले ल्याएको नयाँ व्यवस्थाका कारण चहलपहलमा कमी देखिएको उनको बुझाई छ । गायिका मञ्जु पौडेलले भने चितवन काण्डकै कारण तीजको चहलपहलमा देशै भरी कमी आएको दाबी गर्छिन् । कलाकारहरु तीज नजीकिँदै गर्दा व्यस्तता बढेपनि विगत वर्षहरुमा जस्तो चापाचापको अवस्था नरहेको पौडेलको भनाई छ ।

लोकदोहोरी गायिका मञ्जु पौडेल

प्रशासनको कदममा कलाकारहरुको समर्थन्

विभिन्न जिल्ला प्रशासन कार्यालयहरुले तीज भड्किलो र महँगो हुँदै गएको भन्दै होटल तथा पार्टी प्यालेसहरुमा गरिने दरखाने कार्यक्रम रोक लगाएकोमा कलाकारहरुले समर्थन जनाएका छन् । तीजको समयमा आयोजना गरिने विभिन्न कार्यक्रमहरुमा सरकारले निगरानी बढाउनु जायज भएको बताउँछन् लोक तथा दोहोरी गीत प्रतिष्ठानका महासचिव सुवास के.सी. । तीजमा मौलिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै उनले सरकारले चालेको कदम सही भएपनि सबै जनताका लागि समान रुपमा नियमन गर्न उनको सुझाव छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी सचिव राधिका हमालले भने सरकारको कदमलाई एकदमै जायज भएको भन्दै प्रशंसा गरिन् ।

परम्परालाई बाचर्य राख्नका लागि दिदीबहीनी डान्सबार बाहेक अन्त पनि जम्मा भएर मौलिकता बचाउन सकिने विचार व्यक्तगर्दै उनले प्रशासनले भड्किला क्रियाकलापहरुमा रोक लगाएकोमा आफ्नो समर्थन रहेको उल्लेख गरिन् । गायिका मञ्जु पौडेलले भने सरकारले यसरी तीजका कार्यक्रमहरुमा रोक लगाउनु राम्रो नभएको उल्लेख गरिन् । तीजलाई मौलिक बनाउनका लागि नियमन गर्नु राम्रो कुरा भएपनि दरखाने कार्यक्रम लगायतका क्रियाकलापमा नै रोक लगाउनु व्यवहारिक नभएको उनको बुझाई छ । गायक बैकुण्ठ महतले पनि प्रशासनले चालेको कदमप्रति सहमती जनाउँदै कानून कार्यान्वयनमा विभेद नगर्न आग्रह गरे । कडाई गर्ने नाममा दिदीबैनीहरु जम्मा हुनै नहुने र कार्यक्रम आयोजना गर्नै नमिल्ने गरी गर्न भने नमिल्ने उनले उल्लेख गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।