ताजा अपडेट »

रोकिएन बुटवलको पहिरो: थप ७ घर पुरिए, बुटवल बजार जोखिममा

सोमबार, १४ भदौ २०७८, १४ : ५९
4 Shares

बुटवल । बुटवलमा आइतबार बिहानदेखि पहिरो अझै रोकिएको छैन । सोमबार बिहानैदेखि वर्षासँगै आएको पहिरोले बुटवलका थप ७ घर पुरिएका छन् भने दर्जनौ घर जोखिममा परेका छन् । निरन्तरको वर्षाका कारण जोखिम न्यूनिकरण काम गर्न समेत समस्या भएको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताएका छन् ।

हिजो सम्म २ दर्जन बढी घरमा पसेको बाढी आज थप ७ घर भित्र पसेको हो । पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । वर्षा नरोकिएमा र लेदो नरोकिएमा अझै दर्जन बढी घरमा क्षती पुग्न सक्ने सुरक्षा निकायले जनाएको छ ।

पहिरोबाट बुटवलको बमघाट र ज्योतिनगरको सीमा क्षेत्रका बस्ती सबैभन्दा बढी जोखिममा परेका छन् । साथै पहिरोको लेदो बगेर बुटवलको हस्पिटल लाइनसम्म आइपुगेको छ । वर्षा नरोकिए बुटवलको मुख्य बजार नै जोखिम पर्ने सुरक्षा निकायले बताएका छन् ।

२०३८ र २०५५ सालको बाढीले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र नराम्रोसँग प्रभाावित भएको थियो। ज्योतिनगरमा २०५५ साल भदौ २० गते चुरे पहाड नै खसेपछि ५७ घर क्षतिग्रस्त भएका थिए ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।