ताजा अपडेट »

टाउकोको मूल्य तोक्ने 'देउवा सरकार'ले बनायो केसीलाई मुख्यमन्त्री

विहीबार, २८ साउन २०७८, १८ : ०४
14 Shares

बुटवल । संयोगः भनौं वा राजनीतिक चर्खेपिङ्ग ? जबकी २०५८ सालमा शेरबहादुर देउवाको सरकारले आतंकारी भन्दै ५० लाख रुपैयाँ टाउकाको मूल्य तोकिएका तत्कालिन माओवादी नेताहरु मध्येका एक हुन् ,बुधवार लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका कुलप्रसाद केसी ‘सोनाम’ । अहिले उनै देउवा सरकारको पालामा, त्यसमा पनि उनै देउवाकै पार्टीको समर्थनमा केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेर इतिहास रचेका छन्। जनयुद्धको आधार इलाका मानिने रोल्पाको साविक कोटगाउँ गा.वि.स हाल रोल्पा नगरपालिका– ६ ज्यूबाङमा २०२७ साल माघ १० गतेका दिन बुवा टिकाराम के.सी. र आमा रजमता केसीको कान्छो सुपुत्रका रुपमा केसीको जन्म भएको हो ।

केसीको राजनीतिक यात्रा

गाउँमा कम्यूनिष्टहरुको एकीकृत परिवार ‘भलपाटे’भनेर चिनिने केसीले २०४३ सालमा मसालको विद्यार्थी संगठन अनेरास्ववियू (छैठौ) बाट राजनैतिक यात्रा सुरु गरेका थिए । बहुदलीय ब्यवस्था प्राप्तिको आन्दोलनमा २०४६÷४७ सालमा महेन्द्र बहुमुखी क्याम्पस दाङ जिल्ला विद्यार्थी सचिवको जिम्मेवारीमा थिए उनी । २०४७ सालमै ने.क.पा. (मसाल) को पार्टी सदस्यता प्राप्त गरी औपचारिक रुपमा पार्टीको राजनीतिक जीवन यात्रा शुरु गरेका केसीले २०४८ सालमा स्थायी शिक्षक एवं रोल्पा जिल्लामा पार्टी एरिया सेक्रेटरीको जिम्मेवारी निभाएका थिए ।

२०५० सालमा गिरिजा प्रसाद कोइराला रोल्पा भ्रमणमा पुग्दा शिक्षकहरुबाट कालो झण्डा देखाएपछि उनी स्थायी शिक्षकबाट हटाईएका थिए । शिक्षकबाट बखास्तमा परे केसी २०५० सालबाट निरन्तर ग्रामिण वर्ग संघर्षमा होमिदै गएर गाउँका जाली फटाहरुलाई जनविरोध काम गर्नबाट रोक्ने कार्यमा सक्रिय भए । वर्ग संघर्षको अवस्थामा रोल्पा जिल्लामा किलो सेरा टू, रोमियो अप्रेसन, जंगल सर्च अप्रेसन, कम्बिङ अप्रेसनमा उनलाई पनि तत्कालीन सत्ता पक्षकोले खोजी गरी मृत्युदण्ड दिनेहरुको लिष्टमा राखिएको थियो ।

क्रान्तिकारी योद्धको रुपमा स्थापित हुँदै पार्टीको २०५२ सालमा सम्पन्न दोस्रो जिल्ला सम्मेलनबाट जिल्ला समिति सदस्यमा निर्वाचित भएका थिए केसी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले जनयुद्ध शुरुवातको तयारी गरको थियो । २०५२ साल फागुन १ गते जनयुद्धको उद्घाटन स्वरुप होलेरी आक्रमण मोर्चामा सहभागी भइ निर्णायक भूमिका निभाएका थिए उनले ।

राजीनितिक सुझबुझ भएका मानिने नेता केसीले पार्टीले लिएको आफ्नो भूमिका निरन्तर रुपमा निर्वाह गर्दै जाने क्रममा २०५५ सालमा दाङ सल्यान र प्यूठानको संयुक्त जिल्ला कमिटीको सेक्रेटरी भएर कुशलता पूर्वक जिम्मेवारी निभाए । राजनीतिक क्षेत्रमा माओवादी जनमुक्ति सेनाको कमिसारको जिम्मेवारी सहित नेसी भेरी कर्णालीमा डिभिजन कामिसारको रुपमा २०५६ सालदेखि सैन्य मोर्चाको पनि जिम्मेवारी लिई भेरी कर्णालीलाई नयाँ उचाइमा उठाउन सफल भएको कमाण्डर ठानिन्छन् उनी । भेरी कर्णाली भेगका दर्जनौँ लडाईमा राजनीतिक कमिसारको भूमिकाबाट युद्धमोर्चा विजय हाँसिल गरेका थिए । पार्टीले उनको सृजनात्मक राजनीतिक कलाको उच्च मूल्यांकन गर्दै २०५७ साल रोल्पाको कुरेलीमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित गरेका थियो ।

३ वर्षको केन्द्रीय सदस्यको जिम्मेवारीका क्रममा २०६० सालमा भारत केन्द्रीय समितिको बैठकमा जादै गर्दा लखनउमा जेल परेका थिए उनी । आत्मसर्मण गराउनको लागि निरन्तर रुपमा जेलभित्र यातना दिने क्रममा पनि आफूले बरु आफ्नो जीवन बलिदानी गर्न तयार रहेको तर, समर्पण गर्न नचाहेको केसीले अहिले स्मरण सुनाउँछन् ।

२०६० देखि २०६३ सालमासम्मा जेल जीवनमा रहेर मुक्त भएपछि पनि तत्कालनि नेकपा (माओवादी) को कामीडाँडामा सम्पन्न केन्द्रीय कमिटीको बैठकबाट पुनः तेस्रो डिभिजन कमिसारको जिम्मेवारी पाएका थिए । राजनीतिक रुपमा निकै उत्साहित र वर्ग बैरीहरुको विरुद्धमा अरिङ्गाल झै लाग्ने स्वभाव भएका केसीले कमिसार हुँदै पुनः भेरी कर्णाली, सेती महाकारीको पश्चिम व्यूरो इन्चार्जको जिम्मेवारी सम्हालेका थिए ।

पार्टीले जे जिम्मेवारी दिन्छ त्यसलाई निडरताका साथ सामना गर्ने केसीको क्षमता पनि अदभूत नै रहेको उनको सहयोद्धाहरु बताउँछन् । शान्ति प्रक्रियामा आए पछि पनि राजनीतिक रुपमा प्रभावशाली रहेका केसी जीवनमा सरकारमा जानु भन्दा बाहिर बसेर पार्टीको राजनीतिक गर्ने इच्छाको कारणले सरकारमा जानका लागि हतार गर्न नचाहेको उनको भनाई छ । २०५९ सालमा पार्टी विभाजन हुँदा मोहन बैद्य नेतृत्वको माओवादी (क्रान्तिकारी) मा गएर उनले प्रचण्डको साथ छोडेका थिए पछि उनी अर्का नेता बादल संगै म प्रचण्ड नेतृत्वको माओवादीमा फर्किएका थिए ।

२०७३ सालमा माओवादी केन्द्रमै फर्किर केन्द्रीय कार्यालय सदस्यको जिम्मेवारी पाएका थिए । संगठन र पार्टीलाई जनस्तरसम्म लगेर मात्रै पार्टीको जीवन देख्ने बताउने केसीले गत निर्वाचनमा (माओवादी केन्द्र) को तर्फबाट रोल्पा क्षेत्र नम्वर १ , प्रदेश ‘ख’ बाट प्रदेश सदस्यमा निर्वाचित भएका थिए । नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि लुम्बिनी प्रदेशमा एमालेलाई कोटामा परेपछि दलको उप नेता एवं कानून मन्त्रीको जिम्मेवारी सम्हालेका उनी नेकपाको फुट र विवाद पछि त्यो जिम्मेवारीबाट बाहिरिएका थिए ।

नेकपा फुटेर अलग अलग भएपछि पुनः लुम्बिनी प्रदेशको सह इन्चार्जको जिम्मेवारीमा छन् । गत निर्वाचनमा रोल्पा क्षेत्र नम्वर १, ‘क’ प्रदेशबाट प्रदेश सभा उमेद्वार दिएका केसीलेले प्रदेश खसेका कुल मत ३३ हजार ८ सय ३३ मध्ये उनले १८ हजार ५ सय १२ मत लिएर विजयी भएका थिए।

मुख्यमन्त्रीको प्रतिवद्धता
प्रेस संगठन नेपाल लुम्विनी प्रदेशका संयोजक तथा रोल्पाका पत्रकार मानसिंह बिक सँगको संक्षिप्त कुराकानीमा नवनियुक्त मुख्यमन्त्री केसीले नागरिकलाई जति सकिन्छ खुशी र सुखी बनाउने र प्रदेशवासीको जीवनलाई समृद्ध बनाउने, अनि प्रदेशको राजधानी दाङको भालुबाङ क्षेत्रमा संरचना बनाउन सुरु गर्ने प्रतिकृया दिएका छन् । उनले मुख्यमन्त्रीको जिम्मेवारीमा आई पुग्दा सम्मको पहिलो श्रेय जनयुद्धका शहिदहरुलाई दिएका छन् ।

केसीको विवाह सम्वन्ध
जनयुद्धका एक चर्चित नेता केसीले जनयुद्धकै वर्ग संघर्षदेखि निरन्तर तत्कालीन माओवादी जनयुद्धमा सहभागी बन्दै हाल माओवादी केन्द्रका नेतृ परिवर्तन गाउँपालिका–२ राङ्सी रोल्पाकी तारा घर्तीसँग २०५२ साल भाद्र २५ गते जनवादी प्रगशिील विवाह गरेका थिए ।
त्यति बेला पूर्व सभामुख ओनसरी घर्ती र पूर्व उर्जा मन्त्री वर्षमान पुनमगर लगायत ३ जोडीको संयुक्त जनवादी विवाह भएको थियो । माओवादी जनयुद्ध तिव्र उत्कर्षमा पुगि रहेको बेलामा २०५६ सालमा छोरी मानवी केसीको जन्म भएको थियो ।

मानवीकाको बाल्यकाल युद्धकै मैदानबाट भयो । छोरी मानवीका युद्धको उपहार ठान्छन् केसी दम्पत्ती । माओवादी केन्द्रकी नेतृ तारा घर्ती । शान्ति प्रक्रियामा आएपछि छोरा अरिक केसीको जन्म भएको हो । अरिक अहिले ६ वर्षका भएका छन् । विदेश भ्रमणमा खासै चासो नराख्ने नेता केसीले चिनिया कम्यूनिष्ट पार्टीले निमन्त्रणा गरेको चीन भ्रमण र हङकङको समेत भ्रमण गरेका छन् ।

https://www.globalaawaj.com/archives/128756
प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार