ताजा अपडेट »

टाइगर प्यालेस खरिद गर्ने इन्द्रले ३४ करोडमा भैरहवामै अर्को होटल किन्ने

शुक्रबार, २४ साउन २०७६, ११ : ५४
8 Shares

साउन २४,

काठमाडौं । टाइगर प्यालेस रिसोर्ट खरिद गर्ने भनिएका इन्द्रबहादुर थापाले भैरहवामै अर्को होटल खरिद गर्ने भएका छन् । भैरहवास्थित निर्माणधिन गौतम बुद्ध एयरपोर्ट होटल ३४ करोड रुपैयाँमा खरिद गर्न लागेका हुन् । त्यसका लागि थापाले चेकमार्फत ७२ लाख रुपैयाँको बैना समेत दिइसकेका छन् । होटलका सञ्चालक डा. शिवभक्त पोखरेलले बैनावापतको ७२ लाख रुपैयाँको चेक बुझिसकेको तर चेक बाउन्स भएको जानकारी दिए ।

पोखरेलका अनुसार थापाले आफ्नो रकम नेपाल ल्याउनका लागि अहिले झमेला भएकाले चेक बाउन्स भएको बताएका थिए । थापाले आफू नेपाल आइसकेपछि चेक साटिने भन्दै आश्वासन दिएको उनले बताए । पोखरेलका अनुसार थापाले नेपाल आएका बेलामा पोखरेललाई उक्त रकम बराबरको चेक दिएका हुन् ।राष्ट्र बैंकका पूर्वकर्मचारी समेत रहेका पोखरेल डेढ वर्ष अगाडि राष्ट्र बैंकबाट राजीनामा दिएर व्यवसायमा लागेका थिए । राष्ट्रबैंकमा २० वर्ष काम गरेपछि उनी राजीनामा बुझाएर भैरहवामा होटल खोल्न गएका थिए । ७ कठ्ठा क्षेत्रफलमा सुविधासम्पन्न होटल निर्माणका लागि उनी भैरहवामा गएका थिए । तर निर्माणकै क्रममा आर्थिक संकट आएपछि उनले होटल सञ्चालनका लागि पार्टनर खोजेका थिए ।

यसैक्रममा पोखरेलले थापालाई भेटेका थिए । झण्डै ४ महिनाअघि भेटिएका थापालाई उनकै साथीले पोखरेललाई चिनाएका थिए । होटल सञ्चालनका लागि पार्टनर खोजिरहेका पोखरेललाई थापा भेटिँदा खुसी भएका थिए । तर थापाले आफू पार्टनर नबन्ने बरु सबै होटल नै खरिद गर्ने भन्ने प्रस्ताव राखेका थिए ।र, पोखरेलले थापालाई होटल बिक्री गर्न राजी भएका थिए । थापा मलेसियाका व्यवसायी हुन । संखुवासभा घर भएका थापाका बच्चादेखिका साथी इन्जिनियर शंकर गिरीले पोखरेललाई थापासँग भेट गराएका थिए । भक्तपुरको ठिमी घर भएका पोखरेल व्यवसायका सिलसिलामा भैरहवा पुगेका थिए । उनले  केही महिना अगाडि होटल एक्सप्लोर बुद्ध प्रालि सञ्चालन गर्न नसकेपछि बन्द गरेका थिए । -साभार : क्लिकमाण्डु डटकम

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।