ताजा अपडेट »

‘कोरोनाको तेस्रो लहर आउन सक्छ,सजग रहौँ’

विहीबार, ०७ साउन २०७८, १६ : ०५
8 Shares

बुटवल । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउनसक्ने बताएका हुन् ।

तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, शय्यालगायत पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ । मन्त्रालयबाट तेस्रो लहर आएर भयाभह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको अधिकारीले बताए ।

नेपालमा गत चैत दोस्रो सातादेखि दोस्रो लहरको सङ्क्रमण छ । नेपालमा अहिलेसम्म सात लाख २४ हजार ४५५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै छ लाख ३६ हजार ४०२ व्यक्ति स्वास्थ्य लाभ गरी घर फर्किएका र नौ हजार ६३७ को सङ्क्रमणबाट निधन भइसकेको छ ।

अहिले १० जिल्लामा ५०० भन्दा बढी र २६ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लंघन भइरहेकोले संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न नसकेको मन्त्रालयको भनाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।