ताजा अपडेट »

श्रीलंकाले किन्यो अमेरिकाबाट खोप, आइपुग्यो फाइजरको २६ हजार डोज

मंगलबार, २२ असार २०७८, १० : ४६
6 Shares

काठमाडौँ । श्रीलंकाले अमेरिकी कम्पनी फाइजरसँग कोरोनाभाइरसविरूद्धको खोप किनेको छ।  सोमबार फाइजरले श्रीलंकालाई पहिलो चरणमा २६ हजार डोज खोप उपलब्ध गराएको छ।

श्रीलंकाका राष्ट्रपति गोटवाया राजापाक्षेले अमेरिकी खोप किन्ने दक्षिण एसियाली मुलुकमा आफ्नो देश पहिलो भएको बताएका छन्। श्रीलंकामा अबको केही सातामै फाइजरले ८ लाख डोज खोप उपलब्ध गराउने छ। यो वर्षको अन्त्यसम्ममा फाइजरबाट  श्रीलंकाले ५० लाख डोज खोप ल्याउने स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

विश्व बैंकको श्रीलंका कोभिड-१९ इमरजेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रिपेयर्डनेस प्रोजेक्टको आर्थिक सहायतामा श्रीलंकाले अमेरिकी खोप किनेको हो। विश्व बैंकले यो प्रोजेक्टअन्तर्गत श्रीलंकालाई २९८.०७ मिलियन र खोप किन्नका लागि अतिरिक्त ८०.५ मिलियन डलर रकम ऋण दिने भएको छ।

श्रीलंकामा अहिलेसम्म भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको अक्सफोर्ड/अष्ट्राजेनेका, चिनियाँ कम्पनी सिनोफार्म र रूसको स्पुतनिक ५ भ्याक्सिन प्रयोग भइरहेको थियो। २ करोड जनसंख्या भएको श्रीलंकामा सोमबारसम्म झन्डै २९ लाख मानिसले पहिलो डोज खोप लगाएका छन् भने दुबै डोज खोप लगाउनेहरू १२ लाख ३० हजार छन्।  

श्रीलंकामा अहिलेसम्म २ लाख ६५ हजार मानिस कोरोना संक्रमित भएका छन् भने ३ हजार २ सयले ज्यान गुमाएका छन्।

एजेन्सी
लेखकको बारेमा
एजेन्सी