ताजा अपडेट »

प्रतिनिधिसभा विघटनको मुद्दामा कहिले आउला फैसला?

आइतबार, २० असार २०७८, १० : ४०
8 Shares
आइतबार, २० असार २०७८
8 Shares

काठमाडौं । संसद विघटन र प्रधानमन्त्री नियुक्तिसम्बन्धी परेका रिटमा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस हुँदैछ । आइतबार सभामुख अग्निप्रसाद सापकोटातर्फका कानून व्यवसायीले बहस गर्दैछन् । 

सभामुख सापकोटाका तर्फबाट वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने तथा अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्दै छन् । उनीहरूका लागि दुई घण्टा समय तोकिएको छ । ‘टि–ब्रेक’ अघि सभामुखका तर्फबाट बहस सक्ने तयारी छ । निवेदकले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र सभामुखलाई विपक्षी बनाएका भए पनि संसद् विघटन र प्रधानमन्त्री नियुक्तिमा सभामुखको फरक मत रहेका कारण छुट्टै बहस हुने भएको हो । 

गत असार ९ गतेबाट बहस शुरु भएको हो । शुरुमा निवेदक पक्षका ३६ कानुन व्यवसायीले १२ घण्टा बहस गरेका थिए । त्यसपछि राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट सरकारी र निजी गरी ३२ जना कानुन व्यवसायीले १४ घण्टा बहस गरेका थिए । जवाफी बहसका लागि ३ घण्टा समय दिइएको छ । जवाफी बहस आजै सकिने सम्भावना कम छ । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमणकुमार श्रेष्ठ, बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले जवाफी बहस गर्दैछन् । एमिकस क्युरीका लागि २ घण्टाको समय छुट्याइएको छ। 

बहस सकिएपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुट्नेछन् । छलफलपछि संयुक्त रुपमा फैसला लेख्नेछन् । सर्वोच्चले विगतमा बहस सकिए लगत्तै आदेश दिएकाले यसपटक पनि ढिला नगरी यही साताभित्र फैसला आउने सम्भावना रहेको छ।  संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराई छन् । 

प्रतिनिधि सभाका १४६ सांसद सर्वोच्चमा लाइन लागेर प्रतिनिधिसभा ब्युँताउन र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै जेठ १० गते रिट दिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।