ताजा अपडेट »

घर–दैलामा सिंहदरबार : खानेपानी मुख्य उपहार

शनिबार, १२ असार २०७८, १४ : २२
10 Shares

दलित बस्ती मोटरबाटाको कारण जोखिममा परेपछि गाउँपालिकाले तल बडाचौरमा १८ घरधुरीलाई सुरक्षित एकिकृत बस्तीमा सार्नका लागि १८ वटा घर निर्माण गर्दैछ । त्यस वडाका वडाध्यक्ष हिमप्रसाद पन्थीले त्यस वडाका २ सय ८३ घरधुरीमा एक घर,एक धारा पुगेको र आगमी वर्षमा चालु खानेपानी योजना सम्पन्न भई सबै वडावासीलाई एक घर,एक धारा पुराउने गरि काम भइरहेको बताए । उनले १ सय ४३ घरधुरीलाई खरको छानामुक्त बनाईएको बताए ।


गुल्मी । वि.स. २०६४ सालको संविधान सभाको निर्वाचन ताका गुल्मीको वाग्ला गाउँमा पुग्दा त्यहाँका जनताले विद्युत र खानेपानीको मुख्य समस्या सुनाउँदै थिए । सो क्षेत्रमा रहेका दलित समुदायहरुको आर्थिक अवस्था कमजोर नै थियो । शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधारहरुको समेत अभावले गाउँको अवस्था दयनिय देखिन्थ्यो ।

एक दशक बढी लामो समयपछि पुनः सोही गाउँको अवलोकन गर्ने अवसर जुर्यो । २०७५ साल बैशाखमा नेपाली काँग्रेसले सञ्चालन गरेको ‘नेपाली काँग्रेस गुल्मीको आह्वान, गाउँमै जाउँ गाउँमै रमाऔं ५० दिने महाअभियान’ त्यो अवसर जुराएको थियो । उनीहरुको यात्रा राजनैतिक उद्देश्यका साथ रहे पनि मेरा लागि १० वर्ष अघि भेटेको वाग्ला गाउँको भित्रि कथा बुझ्ने फरक उद्देश्य थियो ।

उक्त अभियानका क्रममा कांग्रेस नेता–कार्यकर्ताहरु सबैले गाउँका दलितहरुको घरमा बस्ने, उनीहरुको रहन–सहन खान पीन जे छ त्यही खाने, एक हप्तासम्म बसेर उनीहरुको घरयासी काममा सघाउने र परिवारको सदस्य जस्तै बनेर उनीहरुको समस्या बुझ्ने अभियान तय गरेका थिए । अभियानकै क्रममा नेपाली कांग्रेसका युवा नेता गगन थापा वाग्ला जानका लागि साँझ पख सदरमुकाम तम्घास आइपुगे ।

युवा नेता थापाको पछि लागेका युवाहरुको हुलसँगै म पनि पछि लागे । हामी रात छिप्पदीदै गरेको बेला धुर्कोट गाउँपालिका वडा नम्वर ७ वाग्लाको दलित वस्तीमा पुग्यौं । गगन थापा आउने भनेपछि त्यहाँका दलित समुदायहरु हामीलाई बास निर्धारण गरिएको घरमा जम्मा भएका थिए । त्यो बेला पनि त्यहाँका दलित समुदायले विद्युत, खानेपानी र गास, बास, कपासकै समस्या सुनाएका थिए । एक हप्ताको त्यो बसाईले वाग्ला गाउँलाई नजिकबाट चिन्ने अवसर जुरेको थियो ।

तत्कालिन जिल्ला विकास समितले साविक गाविस हुँदै सिंङ्गो गुल्मी जिल्ला खुल्ला दिशामुक्त घोषणा गरेको पनि धेरै भई सकेको थियो तर वाग्लाका दलित बस्तीमा रहेका धेरै घरमा ब्यवस्थित शौचालय थिएन । सरकारले खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्नका लागि साईफन दिएको रहेछ जुन घरको करेसामा थन्किएका थिए । नेता गगन थापाले वाग्लाको अवस्था देखेपछि भनेका थिए ‘हामी कहाँ छौं भनरे खोज्न गाउँका यस्तै वस्तीहरु पुगियो भने आफूलाई चिनिन्छ ।’

एक साताको बसाईपछि वाग्लाबाट हामी छुट्टियौं । मुलुकमा संघीय संरचना सुरु भइसकेको थियो, गाउँ–गाउँमा सिंह दरबार बन्ने अभियानले तीब्रता पाउँदै थियो । काचुली फेर्नका लागि वाग्लाले संघर्ष गर्दैगर्दा गतवर्षदेखि विश्वव्यापी रुपमा कोरोना महामारी फैलियो । जनजीवन ठप्प हुँदा आर्थिक तथा मानवीय क्रियाकलाप बन्द भएपछि वाग्ला बासीलाई हातमुख जोर्न पनि समस्या हुन थाल्यो । रोजगार नपाएर नपाएर भोकै मर्नु पर्ने अवस्था आएको भन्दै जनताले वडा कार्यालयमा घेराउन गर्न पुगे ।

त्यहाँका वडाध्यक्ष हिमप्रसाद पन्थी गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले आक्रोषित दलित समुदायलाई राहत दिने उद्घोष गरे । त्यसपछि सबैलाई काम दिइयो र रोजगारकै आधारमा राहत दिन थालियो । अहिले दोश्रो कोरोना कहरको लहरमा पुग्दा गत वर्षको जस्तो आक्रोष त्यहाँका दलित समुदायमा देखिएको छैन ।

पछिल्लो २ वर्षको अवधिमा वाग्लाले आफ्नो स्वरुप परिवर्तन गरेको छ । ठूलो दलित वस्ती कुनै समय उपेक्षित भएको आफ्रा गाउँ बेहुली सिंगारिए झैं सिङ्गारिएको छ । करिब सय घर–परिवार रहेको आफ्रा गाउँको दलित पहिलेको जस्तो टेक्नै नमिल्नेगरी बाटाहरुका सौच गरेको पाइँदैन, मानिसहरु रोजगार नपाएर बस्नु परेको गुनासो पनि सुन्नु पर्दैन । विद्यालय जान नमान्ने त्यहाका बालबालिकाहरु कापी कलम बोकेर विहानको १० नबज्दै विद्यालय पुग्न थालेका छन् ।

शैक्षिक रुपले पछि परेको उक्त गाउँमा पहिलो पटक झविलाल विश्वकर्माले २०४७ सालमा एसएलसी पास गरेका थिए । उनै एसएलसी गरेका झविलाले गाउँको अनुहार फेर्नका लागि थालेको अभियानले आज सार्थकता पाउन थालेको छ । छविलालको अगुवाईमा गाउँमा सरसफाई र जनचेतना छर्ने अभियान अहिले पनि जारी रहेको छ । उनले विगत सम्झदै गाउँमा ब्राम्हण क्षेत्री लगायतका अन्य समुदायका मानिसहरुसमेत आउन नरुचाउने गरेका तीतो ईतिहास सुनाए ।

स्थानीय स्तरका सामाजिक विकासँगै नेकपा एमाले पार्टीमा आवद्ध भई जिल्लाका राजनीतिक गतिविधिहरुमा समेत सामेल भइरहने झविलाले सबैलाई गाउँमा आउन प्रेरित गर्ने गरी विकासको अभियानमा बस्तिलाई जोड्ने काम गरेका छन् । विगतमा जस्तो पीउने पानीका लागि एक घण्टाको पैदल यात्रापछि ‘काफलपानी पँधेरो’मा पुगेर एक गाग्रो पानीका लागि पनि घण्टौ पालो कुर्नु पर्ने अवस्था अन्त्य भएको छ ।

यसैगरी धुर्कोट गाउँपालिकाले खरका छानामुक्त गाउँपालिका घोषणा गरेपछि सबैको घरमा टिनको छाना छ । घर–घरमा शौचालय बनेका छन् । गाउँवासी नियमित सरसफाईमा जुट्ने गर्दछन् । टोल मै रहेको रामपोखरी प्राविको स्तरवृद्धि गरिएको छ । गाउँबाट एसएलसी उतिर्ण गर्नेहरु २२ जना पुगेका छन् र उच्च शिक्षा हासिल गर्नेहरु करिव १५ जना रहेका पुगेका छन् । ‘हाम्रो आफ्रा गाउँ मात्र होईन वाग्लाको प्राय सबै दलित वस्तीहरुको मुहार फेरिएको छ ।’–झविलालले भने ।

उनका अनुसार अजमिर कोटको दलित वस्ती मोटरबाटाको कारण जोखिममा परेपछि सुरक्षित ठाउँमा व्यवस्थापन गर्ने काम भइरहेको छ । तलबडाचौरका १८ घरधुरीलाई सुरक्षित एकिकृत वस्तीमा सार्नका निर्माण कार्य भइरहेको छ । वडाका अध्यक्ष हिमप्रसाद पन्थीले त्यस वडाका २ सय ८३ घरधुरीमा एक घर एक धारा पुगेको र आगमी वर्षमा हाल निर्माणका काम भइरहेका खानेपानी योजना सम्पन्न भई सबै वडावासीलाई एक घर एक धारा पुराउने गरि काम भई रहेको बताए । उनले १ सय ४३ घरधुरीलाई खरको छानामुक्त बनाईएको बताए । त्यस्तै जनता आवास कार्यक्रम अन्तरगत १३ बनाइएको, २८ वटा सुरक्षित वस्ती विकासका घर निर्माण र टिनको छाना सहित २ सय २ घरधुरी प्रत्यक्ष लाभान्वित भएको उनले बताए ।

विद्युतीय पूर्वाधार तथा विकासतर्फ काठको पोल विस्थापित गरि स्टिलका पोल गाडिएको र सबै वडावासीको घरमा विद्युत पुर्याइएको उल्लेख गरे । वडाका प्रत्येक टोलहरुमा मोटरबाटाको सुविधा पुगेको बताउँदै अध्यक्ष पन्थीले जनप्रतिनिधि निर्वाचित भएर आएपछि गाउँमा चौगुना बिकास भएको दाबी गरे ।

धुर्कोट गाउँपालिका खानेपानी तथा सरसफाई विकास समिति (वास) का संयोजक छविलाल विश्वकर्माले पनि पछिल्लो चार बर्षमा नसोचेकै विकास भएको बताउँछन् । धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल, उपाध्यक्ष शिवबहादुर खत्री लगायतका जनप्रतिनिधीहरुले कोभिडको महामारीका कारण अझै सोचें जस्ता काम गर्न नसकिएको तर आगामी कार्याकाल भित्र चुनावमा गरेका सबै प्रतिवद्धता पुरा गर्ने बताए ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार