ताजा अपडेट »

कालिगण्डकी-तिनाउ डाइभर्सन : ३५ किलोमिटर सुरुङ खनेर १ लाख हेक्टर बढी जमिनमा सिञ्चाई

शुक्रबार, ११ असार २०७८, १९ : ०५
18 Shares

बुटवल । करिब डेढ दशकदेखि उठाउँदै आएको कालिगण्डकी तिनाउ डाइभर्सन बहुउदेश्यीय आयोजनाका लागि कार्यालय स्थापना गरी काम अगाडि बढ्ने भएको छ । कालिगण्डकी नदीलाई डाईभर्सन गरेर तिनाउ नदिमा मिसाई रुपन्देही, कपिलवस्तु र नवलपरासीका खेतियोग्य जमिन सिञ्चाई गर्ने उद्देश्यसहित यो योजना अगाडि बढाइने भएको हो ।

कालिगण्डकि नदीको राम्दीभन्दा साढे दुई किलोमिटर तल ड्याम निर्माण गरी २७ किलोमिटर सुरुङ हुँदै पाल्पाको तिनाउ–२, दोभानमा पानी ल्याउने योजना रहेको छ । दोभानमा निर्माण हुने ड्यामबाट १२६ मेगावाट विद्युत उत्पादन गर्ने प्रारम्भिक अध्ययन भएको कालिगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रमुख सन्तोष कैनीले ग्लोबल आवाजलाई जानकारी दिए ।

करिब ९ मिटर चौडा सुरुङमार्गबाट ८१ दशमलव ६ क्युसेक पानी तिनाउ नदीमा मिसाएर विद्युत् उत्पादनसँगै सिञ्चाईको व्यवस्था गर्ने लक्ष्य रहेको छ । यो आयोजनाबाट दोभानमा पहिलो र बुटवल नजीकै बेलवासमा दोस्रो विद्युत् गृह निर्माण हुने गरी डिपिआर बन्दैछ । अध्ययनका क्रममा सबै पानी बेलवासमा पुर्याएर एउटा मात्र विद्युत् गृह बनाउने तयारी भए पनि बेलवासदेखि तिनाउसम्म करीव १०० मिटर फराकिलो नहर बनाउन असम्भव भएपछि दोभान र बेलवास दुबै ठाउँमा पानी झार्ने तयारीसहितको योजना बनेको हो ।

दोभानमा पहिलो विद्युत् गृहबाट आधा पानी तिनाउमा मिसाइने छ भने बेलवासमा बन्ने दोस्रो विद्युत् गृहबाट २७ किलोमिटर लामो नहर बनाएर तिनाउको पश्चिम क्षेत्र हुंदै कपिलवस्तुसम्म सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । पश्चिममा बाणगंगा नदीसम्म यस्तो नहर बन्ने छ । दोभानबाट तिनाउमा खसालिएको आधा पानी १४ किलोमिटर लामो पूर्वी नहर हुँदै तिनाउ पूर्वका क्षेत्रमा सिँचाइका लागि उपयोग गरिने छ । त्यसका लागि सोह्र छत्तीस मौजा लगायतका नहरहरुलाई समेत व्यवस्थित गर्ने योजना रहेको सिँचाइ विभागले जनाएको छ ।

शनिबार उप्रधानमन्त्री विष्णु पौडेलले उक्त आयोजनाका लागि स्थापित कार्यालयको औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । शुक्रबार मात्रै अर्थसहित गृह, उद्योग बाणिज्य तथा आपुर्ती, उर्जा, जलश्रोत तथा सिञ्चाई गरी ५ मन्त्रालयको जिम्मेवारी पाएका पौडेलले आयोजनाको कार्यालय उद्घाटनका लागि रुपन्देही आउने कार्यक्रम रहेको छ । रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका पौडेलले चुनावी नाराका रुपमा कालगण्डकी–तिनाउ डाइभर्सनको विषयमा आवाज उठाउँदै आएका थिए । आर्थिक वर्ष २०७८/७९ को बजेटमा पनि बजेट समावेश गरी आयोजना अगाडि बढाइने उल्लेख गरिएको छ ।

डाइभर्सनका कारण कालीगण्डकीको तल्लो तटीय क्षेत्रमा वातावरणीय समस्या सिर्जना नहुने विज्ञहरुले बताएका छन् । नदी डाइभर्सनको अन्तरराष्ट्रिय मापदण्डलाई समेत टेकेर वातावरणीय प्रभाव अध्ययनको निष्कर्षका आधारमा परियोजना अघि बढाउन लागिएको उपप्रधानमन्त्री पौडेलले बताए । सुक्दै गएको तिनाउमा पानीको मात्रा बढाउने उपयुक्त विकल्पको रुपमा तिनाउ-कालीगण्डकी डाइभर्सनलाई हेरिएको उनले बताए ।

बहुउद्देश्यीय आयोजना अन्तरगत पाल्पाको दोभानमा विद्युत ड्याम तयार हुने छ भने सिञ्चाईका लागि दोभानदेखि रुपन्देहीको बेलबाससम्म ७ किलो मिटर लामो सुरुङबाट पानी ल्याइने छ । १ लाख हेक्टर बढी खेती योग्य जमिनमा सिञ्चाई सुविधा पुर्याउन सक्ने गरी निर्माण गरिने यो आयोजना सपन्न गर्न १८० अर्ब लागत अनुमान गरिएको छ । आयोजना सञ्चालनका लागि डिपिआर निर्माणको काम सुरु गर्ने तयारी स्वरुप कार्यालयको स्थापना गरिएको आयोजना प्रमुख कैनीले जानकारी दिए ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।