ताजा अपडेट »

दाङमा सर्पदंशको जोखिम वृद्धि

शुक्रबार, ११ असार २०७८, १३ : ५०
18 Shares

देउखुरी । गढवा गाउँपालिका–७ विजयपुर निवासी १२ वर्षीया रेश्मा बोहरालाई यही असार ४ गते विषालु सर्पले डस्यो । सोही दिन बिहान ७ः०० बजे गोठमा पराल लिन गएका समयमा उहाँलाई सर्पले डसेको थियो । उपचारका लागि सर्पदंश उपचार केन्द्र गढवामा लगियो ।

त्यहाँ पु¥याउँदा बिरामीको अवस्था जटिल भइसकेको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बालिकालाई अन्यत्र सिफारिस गरियो । लमही अस्पतालमा बालिकाको मृत्यु भयो । “सर्पदंशमा उपचार थाल्न खोजियो, भेनल ओपन नै भएन”, सर्पदंश उपचार केन्द्र गढवामा कार्यरत स्वास्थ्यकर्मी देवीराम आचार्यले भन्नुभयो, “बिरामी अर्धचेत अवस्थामा थियो, विष चढिसकेकाले उपचार नै शुरु गर्न सकिएन ।”

राजपुर गाउँपालिका–३ निवासी १० वर्षीय सङ्गम यादवलाई गत वर्ष असार २६ गते विषालु सर्पले डस्यो । उपचारका लागि लमही ल्याउन खोजियो  तर ढिला भयो । धान रोप्नका लागि खेत तयार पार्न सङ्गम बुबा–आमासँगै खेतसम्म पुग्नुभएको थियो । खेतको आलीमा उभिएको बेला सर्पले डसेको थियो । त्यसपछि सङ्गमको शरीरमा विष चढ्न थाल्यो । सर्पले डसेको आशङ्कामा आली खन्दा मुसा भेटिएको थियो । मुसाले टोकेको भनेर ढुक्क हुने अवस्था नभएपछि उपचारका लागि अस्पताल पु¥याउन थालियो । लमही पु¥याउन नपाउँदै बीच बाटामै सङ्गमको मृत्यु भयो ।

“समयमा थाहा पाउन पनि सकिएन, बेहोस भएपछि सर्पले डसेको अड्कल गरियो”, बुबा गुरुप्रसाद यादवले भन्नुभयो, “सर्पले डसेर छोरा गुम्यो, उसलाई बचाउन सकिएन ।” दाङमा सर्पदंशका बिरामीले उपचारको अभावमा ज्यान गुमाउने गरेका छन् । अस्पताल पु¥याउन ढिलो हुँदा सर्पदंशका बिरामीले अकालमा ज्यान गुमाउने गरेका हुन् ।

सर्पदंशका बिरामीलाई विषालु सर्पले डस्यो भने अस्पताल पु¥याउन कुनै अलमल गर्नु हुँदैन । त्यो ज्ञान सर्वसाधारणलाई नभएका कारण बिरामीको अकालमा ज्यान जाने गरेको आचार्यले बताउनुभयो । सो गाउँपालिकाको लगानीमा निर्माण भएको भवनमा नेपाली सेनाको प्राविधिक सहयोगमा सर्पदंशको उपचार शुुरु गरिएको हो । उक्त उपचार केन्द्रमा तत्कालका लागि नेपाली सेनाले तीन तालीम प्राप्त स्वास्थ्यकर्मी खटाएको छ भने गाउँपालिकाले दुई दक्ष स्वास्थ्यकर्मी परिचालन गरेको छ । वर्षाको समय शुरु भएसँगै दाङमा सर्पदंशको जोखिम बढेको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र अन्य स्वास्थ्य एकाइबाट सर्पदंशका बिरामीलाई प्राथमिक उपचारपछि जिल्लाबाहिर पठाउने गरिएको थियो । गढवामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि यो समस्या समाधान भएको छ । सर्पदंशका कारण हरेक वर्ष कम्तीमा पाँचदेखि सात व्यक्तिको मृत्यु हुने गरेको थियो । वर्षा र गर्मी दुवै मौसममा सर्पदंशका घटना बढ्ने गर्छन् ।

दाङ पनि सर्पदंशको जोखिमको जिल्लाभित्र पर्छ । त्यसमध्ये देउखुरी क्षेत्र बढी जोखिम मानिन्छ । गढवामा सर्पदंशको उपचार हुने गर्छ । लमहीमा सञ्चालनको तयारीमा छ । सो सर्पदंश उपचार केन्द्रमा विषालु सर्पले डसेर उपचारका लागि पुगेकाले नयाँ जीवन पाउन थालेका छन् । बिरामीको अवस्था बिग्रिसकेपछि उपचार केन्द्रमा पु¥याउँदा उपचार गर्न गाह्रो पर्ने गरेको छ ।

“सर्पले डस्नेबित्तिकै उपचारका लागि पु¥याउनुपर्छ , झारफुक गर्ने, घरमै अलमलमा पर्दा बिरामीको ज्यान जोखिममा पर्छ”, स्वास्थ्यकर्मी आचार्यले भन्नुभयो, “यहाँ धेरै बिरामी विषालु नभएका सर्पले डसेर आउनुहुन्छ ।” बिरामी र आफन्तले ढिला गरी स्वास्थ्य संस्थामा ल्याउने भएका कारण बिरामीलाई बचाउन नसकिने अवस्था छ ।

गढवामा नेपाली सेनाको निगरानीमा उपचार हुने गरेको छ । लमही नगरपालिकाले लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र सञ्चालनको तयारी गरेको छ । उपचारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न देउखुरीमा स्वास्थ्यकर्मी तथा चिकित्सकलाई तालीम प्रदान गरेको छ । लमही नगरपालिका तथा राजपुर, गढवा र राप्ती गाउँपालिकामा कार्यरत स्वास्थ्यर्मीलाई सर्पदंशको उपचार प्रभावकारी रुपमा सञ्चालन गर्न तालीम प्रदान गरिएको लमहीका नगर प्रमुख कुलबहादुर केसीले जानकारी दिनुभयो ।

आव २०७६÷७७ मा मात्रै १३ व्यक्तिको सर्पले डस्दा मृत्यु भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्क छ । हरेक वर्ष सर्पदंशका कारण ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ । आव २०७४÷७५ मा दुई र ०७५÷७६ मा तीन व्यक्तिको मृत्यु भएको केन्द्रका सूचना अधिकृत विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो  । देउखुरीका राजपुर, गढवा तथा राप्ती गाउँपालिका र लमही नगरपालिका सर्पदंशको उच्च जोखिममा छन् । सरकारी अस्पतालमा ‘एन्टी स्नेक भेनम’ भए पनि सर्पदंशका बिरामीले उपचार पाउँदैनन् ।

सर्पले डसेको खण्डमा बिरामीलाई सजिलो हुने गरी भुइँमा सुताएर शरीरमा कसिएको कपडा फुकाली दिनुपर्छ । डसेको ठाउँ वरिपरि प्रेसर ब्यान्डेज लगाउनुपर्छ । यी सबै कुरा गरिसकेपछि छिटोभन्दा छिटो नजीकैको उपचार केन्द्रमा पु¥याउनुपर्छ ।

रासस
लेखकको बारेमा
रासस