ताजा अपडेट »

स्याखु र डोकाको माग घट्यो, परम्परागत सीप हराउँदै

शुक्रबार, ११ असार २०७८, १३ : ४१
105 Shares

दाङ । रोल्पा रुन्टीगढी गाउँपालिकाका ५६ वर्षीय यमलाल घर्तीको पेशा बासका विभिन्न सामग्री बनाउने हो । उनले यही पेशाबाट नै आफ्नो घरको दैनिक चलाउँदै आएका छन । उनले बासबाट स्याखु, डोका, छिटनी, ढकियालगायत सामग्री बनाउँदै आएका छन् । तर, पछिल्लो समयमा यी सामग्रीहरू मध्य धेरै सामग्रीहरूको माग कम भइरहेको उनले बताए ।

रोल्पाबाट दाङको बिजौरीमा ति सामग्री बेच्न आएका घर्तीले पछिल्लो समय बजारमा आएका प्लाष्टिकका भाडासँगै सबै क्षेत्रमा परिर्वतन हुँदै गएपछि सामग्रीहरू कम बिक्री हुने गरेको बताए । ‘अहिले भन्दा छिटनी धेरै बिक्री हुन्छ,’ उनले भने, स्याखु, डोका, नाम्लो कम मात्रमा बिक्री हुन्छ । अहिले डोका, नाम्लो प्लाष्टिकको पाइन्छ ।

‘स्याखुको ठाउँमा रेनकोट प्रयोग हुन्छ । तर, आफ्नो सीप नै यही हो । यो स्याखुको सिजन पनि अहिले नै हो । पहिलाको जस्तो अहिले बिक्री हुँदैन ।’-उनले भने । युवा पुस्ताले यो सीप नसिक्दा हराउन लागेको उनले बताए । गाउँमा अहिले ४ जना आफू जस्तै उमेरका व्यक्तिहरूले मात्र यो सीप जानेको र अहिले आफूहरूले मात्र बनाउने गरेको बताए । उनले भने, ‘एकातिर सामग्रीहरूको माग घट्दै जानु र अर्कातिर युवाहरूले यो सीप नसिक्दा अब हराउने अवस्थामा आएको छ ।’

मैले छोराहरूलाई यो सीप सिकाउन धेरै कोसिस गरे । तर, उनीहरूले सिक्न मानेन् ।’ अब यो सीपलाई जोगाउनको लागि यी सामाग्रीहरूको बजार व्यवस्थापन र नयाँ पुस्तालाई आकर्षण गर्नको लागि विशेष ध्यान दिनु पर्ने समेत उनले बताए । अहिलेका युवाहरू विभिन्न काम गरेर दैनिक हजार बढि कमाउन सक्छ । तर, यो एउटा सामग्री बनाउँदा एक दिनमा सकिदैन । मेहेनत धेरै लाग्ने भएकाले पनि युवाहरूले यो सीप सिक्न मन नगर्ने उनको भनाई छ । त्यसैगरी उनले यि सामग्रीहरू बनाउनको लागि घरमा बास लगाएको र त्यसैबाट बनाउँदै आएको बताए । बजारमा माग भएपछि मात्र आफूहरूले बनाउने गरेको समेत उनले बताए । उनले एउटा स्याखु ४९५ र छिटनी, एक सयदेखि तीन सयसम्ममा दिने गरेको बताए ।

अहिले गाउँमा यातायातको पहुँच भएपछि आफूलाई सामाग्री ल्याएर बजार बेच्न पनि सहज भएको उनको भनाई छ । पछिल्लो समय कृषि क्षेत्रमा आधुनिकता बढेसँगै परम्परागत रुपमा प्रयोग हुने सामग्रीहरू कम प्रयोग हुन थालेका छन् । लामो सयमदेखि बासका विभिन्न सामग्रीहरूको व्यवसाय गर्दै आएका ब्यापारीहरूले पनि पछिल्लो समय स्याखुहरुका माग कम हुँदै गएको बताए । तुलसीपुर–१९ बिजौरीमा व्यवसाय गर्दै आएकी सुन कुमारी घर्ती मगरले गत वर्ष ३ दिन मै ६०/७० पिस स्याखु बिक्री गरेको भएता पनि यस पटक धेरै बिक्री नभएको बताइन् ।

यस पटक १३० पिस स्याखु ल्याइएकोमा थोरै मात्रामा बिक्री भएको उनले बताइन् । ‘एउटा स्याखु ४ सयदेखि ६ सयसम्मको हुन्छ । त्यसमा मलाई ३०/३५ रुपैयाँ मात्र नाफा हुन्छ,’ उनले भनिन्, ‘तर, अहिले मानिसहरूले पैसा छैन भन्दै प्लाष्टिक लैजाने गरेका छन् । अब यो महिनासम्म मात्र यसको सीजन हो । यस पटक यि बिक्री हुदैनन् ।’ प्रत्येक वर्ष स्याखुको माग घट्दै गइरहेको उनको भनाई छ । यस पटक धेरै पानी परेको छ । जसले गर्दा पनि धेरै विक्री हुन्छ भन्ने आसा थियो । तर, गत वर्षकोभन्दा कम मात्रामा बिक्री भएको छ । अब यस्तै भए अर्काे वर्ष यसको माग अझ घट्ने उनको उनको भनाई छ ।

त्यस्तै गत वर्षभन्दा यस पटक स्याखुको माग घटेको विजौरीमा व्यवसाय गर्दै आएका मेघराज पोख्रेलले बताए । उनका अनुसार पछिल्लो समय खेतीपाती गर्ने बेला मानिसहरूले गोरुको ठाउँका ट्रयाक्टरबाट जोत्ने र २०/२५ जना रोप्न लाग्ने ठाउँमा ४/५ जना मात्र भए हुने भएकाले पनि यसको माग घट्दै गएको बताए । उनले भने, ‘स्याखु अन्य समयमा भन्दा पनि बर्खामा खेतीपाती गर्ने बेला प्रयोग हुने हो । तर, अहिले खेतीपाती गर्दा धेरै मानिसहरु लाग्दैन । जसले गर्दा पनि माग कम भएको हो । बजारमा रेनकोट जस्ता अन्य सामानहरु पाइने भएकाले पनि माग घट्दै गएको हो ।’ गत वर्ष करिब ५ सय पिस बिक्री भएकोमा यस पटक आफूले ३ सय थान मात्र मगाएको भएता पनि अहिले सम्म २ सय बिक्री भएको बताए । ‘याो सीप बुढापाखासँग मात्र छ । युवाहरुसँग छैन् । अब यो हराएर जान सक्छ । त्यसैले यस्ता सीपलाई बचाउनको लागि युवाहरू लाग्न जरुरी छ । त्यसका लागि राज्यले विशेष ध्यान दिनुपर्छ ।’-उनले भने ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी