ताजा अपडेट »

कोरोनाका भेरिअन्ट कतिसम्म खतरनाक बन्न सक्छन् ?

आइतबार, ०६ असार २०७८, १० : ५८
6 Shares

काठमाडौँ । अहिले हामी सजिलै फैलिने खालको भाइरससँग सङ्घर्ष गरिरहेका छौँ भन्ने स्पष्ट छ। यो कोरोनाभाइरस सन् २०१९ को अन्त्यमा चीनको वुहानमा भेटिएको भाइरसको दाँजोमा सम्भवत: दुईगुना सजिलै फैलिने खालको हो। यूकेको केन्टमा पहिलो पटक पहिचान गरिएको अल्फा भेरिअन्टले कोभिडको फैलिने क्षमता निकै बढायो। अहिले पहिलो पटक भारतमा देखा परेको डेल्टा संस्करणले त्यो क्षमतालाई अझै बढाएको छ। यो क्रमिक विकासको क्रममा छ। त्यसोभए के हामी कहिल्यै नसकिने नयाँ र त्यससँग जुध्नका लागि कठिनभन्दा कठिन भइरहेको भाइरसको भेरिअन्टको दुष्चक्रमा फस्यौँ त?

भाइरस कति खराब बन्छ भन्ने सीमा छ?

यो भाइरसले पूर्णत: फरक प्रजातिलाई सङ्क्रमित गर्ने कुरामा ठूलो फड्को मारेको छ। हाम्रा लागि यो भाइरस सार्ने सबैभन्दा नजिकको नातेदार चमेरो बन्न पुगेको छ। पहिलो भेरिअन्ट विध्वंशक महामारी सुरु गर्न पर्याप्त थियो। तर अहिले यसको मानव शरीरसँग सिकाइ जारी छ।

इम्पीरियल कलेज लन्डनका भाइरोलोजिस्ट प्राध्यापक वेन्डी बार्क भन्छिन्, "जब यो भाइरस मानिसमा प्रवेश गरे त्यसबेला यसका लागि पूर्ण हुनु भनेको निकै दुर्लभ थियो।" "उनीहरू मानिसमा प्रवेश गरेर व्यवस्थित भए र त्यसपछि भाइरसको लागि राम्रो समय आयो।" उनका अनुसार रुघाखोकीदेखि इबोलासम्मका भाइरसहरू एकबाट अर्कोमा सर्ने र उनीहरूका क्षमता विस्तार हुने उदाहरणहरू रहेका छन्।

अझै कति पर?

भाइरसको शुद्ध जैविक फैलावट शक्तिबारे स्पष्ट तुलना गर्ने माध्यम भनेको तिनिहरूको आर-शून्य (जसलाई आर-नट भनेर उच्चारण गरिन्छ) मा हेर्नु हो। यो भनेको यदि कसैले पनि खोप लगाएका छैनन् र कसैले पनि सङ्क्रमणबाट बच्न थप सावधानी अपनाएका छैनन् भने त्यस्तो बेलामा हरेक सङ्क्रमित व्यक्तिले कति भाइरस सार्न सक्छन् भन्ने सङ्ख्याको औसत हो।

इम्पीरियलका रोग अनुसन्धानकर्ताहरूका अनुसार त्यो अङ्क वुहानमा महामारी सुरु हुँदा करिब २.५ थियो भने डेल्टा भेरिअन्टको ८.० सम्म उच्च हुनसक्छ। "यो भाइरसले हामीलाई धेरै नै अचम्मित पारेको छ," अक्सफर्ड विश्वविद्यालयमा भाइरस विकासक्रमबारे अध्ययन गर्ने डा. एरिस काट्जिरकिसले भने। "यो १८ महिनाभित्र दुईपटक यसको सङ्क्रामकता बढ्यो। दुईवटा भेरिअन्ट (अल्फा र त्यसपछि डेल्टा) हरेकमा सङ्क्रमण फैलाउने दरमा ५० प्रतिशतभन्दा बढीको असाधारण परिवर्तन देखा पर्‍यो।" उनी यो कति बढी हुनसक्छ भन्ने अङ्क तोक्नु "मूर्खतापूर्ण" हुने बताउँछन्। यद्यपि उनी आगामी केही वर्षहरूमा यो भाइरसको सङ्क्रामक हुने क्षमता थप बढ्ने सहजै देखिरहेका छन्।

अन्य भाइरसहरू पनि कीर्तिमानी र अधिक आर-नटयुक्त छन्। जस्तो कि दादुराको भाइरसले विस्फोटक महामारीको रूप लिनसक्छ। "अझै पनि यो माथितिर जाने ठाउँ छ," प्राध्यापक बार्कले भन्छिन्, "दादुराको भाइरसको आर-नट १४ देखि ३० को बीचमा रहेको छ। कोरोनाभाइरसको कतिसम्म पुग्छ भन्ने म भन्न सक्दिन।" उसो भए यी भेरिअन्टहरूले कसरी क्षमता बढाइरहेका छन् त?

फैलने क्षमता बढाउनका लागि भाइरसले धेरैखाले तरिका अपनाउँछ जस्तो:

  • हाम्रो शरीरका कोषहरूको द्वार कसरी खोल्ने भन्ने कुरामा सुधार गर्नु
  • हावामा लामो समयसम्म बाँच्नु
  • बिरामीको श्वासप्रश्वास र खोकीबाट धेरैभन्दा धेरै भाइरस निकाल्नु
  • अर्को व्यक्तिमा सङ्क्रमण फैलाउँदा आफूलाई परिवर्तन गर्नु

अल्फा भेरिअन्ट शरीरमा कुनै भाइरस प्रवेश गर्दा त्यसको जानकारी दिने प्रणालीलाई झुक्याउने कुरामा सफल भएको थियो। त्यस्तो जानकारी दिने प्रणाली कोषभित्र हुन्छ। तर त्यसो भन्दैमा यो अनन्तसम्म फैलन्छ भन्ने होइन। "अन्तत: कुनै न कुनै सीमा हुन्छ र कुनै पनि सुपर-अल्ट्रा भाइरस छैन, जसले हरेक खराब अवस्थामा पनि उत्परिवर्तन गर्न सकोस्," डा. काट्जिरकिस भन्छन्। कुनै कुरामा बलियो बन्नका निम्ति अर्को केही कुरामा प्राय: तपाईँ कमजोर बन्न सक्नुहुन्छ भन्ने 'इभोलुसनरी ट्रेडअफ' भनेर चिनिएको अवधारणमा पनि छ।

भाइरसको अर्को विकासक्रमको दिशा र जितका लागि इतिहासकै सबैभन्दा तीव्र गतिमा भइरहेको खोप कार्यक्रमले पनि फरक खाले अवरोध सिर्जना गर्नेछ। "खोपबाट बच्नका लागि उसलाई बलियो बनाउने परिवर्तनहरूले भाइरसलाई उसको फैलाउने दरलाई कम गर्ने सम्भावना पनि हुनसक्छ," डा. काट्जिरकिसले भने। त्यसको उदाहरणका रूपमा डेल्टा भेरिअन्टको उत्पर्रिवर्तन (जसलाई E484K भनिन्छ) ले प्रतिरक्षा प्रणालीबाट बच्नसके पनि त्यो तीव्र सङ्क्रामक हुन सकेन। यद्यपि डेल्टामा सङ्क्रामक र आंशिक रूपमा प्रतिरक्षालाई छल्नसक्ने उत्परिवर्तन देखिएका छन्।

कोरोना भाइरस भेरिअन्टः भाइरसमा उत्परिवर्तन भयो भने के हुन्छ?

कोरोनाभाइरसका लागि उच्चतम रणनीति के हुनेछ भन्ने अझै अनुमान गर्न कठिन छ। फरकफरक भाइरसहरूले सङ्क्रमण गराउनका लागि फरकफरक तरिका अपनाइरहेका छन्। दादुरा विस्फोटक हुन्छ तर यसले जीवनभरिका लागि प्रतिरक्षा छाडिदिने भएकाले सङ्क्रमण हुनका लागि कोही नयाँ व्यक्ति खोज्नुपर्छ। इन्फ्लुएन्जामा एकदमै थोरै मुस्किलले एकभन्दा माथि आर-नट हुन्छ तर यसले लगातार एकपछि अर्को प्रतिरक्षा उत्परिवर्तन गर्छ। "हामी वास्तवमै रोचक, मध्यविन्दुको र कुनै हिसाबले अनुमान गर्न नसक्ने चरणमा छौँ, यसले अहिलेको एक वर्षपछि के गर्छ भन्ने अहिले नै अनुमान गर्न कठिन छ," प्राध्यापक बार्कलेले भनिन्।

भाइरस सहजै धेरै फैलिनका लागि यो मध्यमखाले हुनुपर्छ भन्ने प्राय: दाबी गरिन्छ। त्यो हुनका लागि खासमा भाइरसका लागि एकदमै थौरै विकासक्रमको मात्र चाप हुन्छ। भाइरसले कसैलाई मार्नुभन्दा धेरै अघि उक्त व्यक्तिबाट अर्कोमा सरिसकेको हुन्छ। र, जसले धेरै भाइरस फैलाउँछन् (युवापुस्ता) खासै बिरामी पर्दैनन्। राम्रो खोप कार्यक्रम भएका धनी देशहरूमा व्यापक रूपमा प्रतिरक्षा विकास भएकाले अब आउने अन्य नयाँ भेरिअन्टहरूले खासै ठूलो समस्या निम्त्याउँदैनन् भन्ने आशा गरिएको छ। तर थप सङ्क्रामक नयाँ भेरिअन्टहरू बाँकी विश्वका लागि दु:स्वप्न साबित हुन सक्छन्।-वीवीसी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।