ताजा अपडेट »

कठै, हामी नेपाली जनता !

शनिबार, २९ जेठ २०७८, १६ : ०३
18 Shares

उखरमाउलो गर्मी । तपतपी चुहिरहेछन् पसिना । बन्धनमा परेको छ शरीर । बेचैन छन् मनका छालहरू । तर्सिरहेछन् खुसीको बहारमा डुबुल्की खेल्ने भविष्यका कल्पनाहरू । बन्दकोठाको भ्mयालबाट चियाउन खोज्छु, सुन्दर भविष्यको सुदूर यात्रा । तर देख्छु, जताततै तुवालो अनि हुृरी बतासको सङ्केत ।

आँखामा स्वयम्भू राखेर दौडिन्छन् मेरा स्वप्निल पाइलाहरू । खोज्छन् बुद्धत्वको सुनौलो बिहानी । तर भेट्छन्, आँखामा पट्टी बाँधेका न्यायालयहरू । देख्छन्, अहङ्कारको समुद्रमा पौडी खेल्नेहरू । आवेग र उत्तेजनाको होलीमा भुल्नेहरू । कर्मलाई बोलीले उछिन्नेहरू । मक्किएका धुरी खाँबाहरूलाई देवत्वकरण गर्ने हर्ता, कर्ता र पूजारीहरू । आमा छन् तर के गर्नू ? सौतेनी आमाको रहर छ । बाबु छन् तर झड्केलो बाबुसँगको पिरती पनि कम चाख लाग्दो छैन । छिमेकमा आगो लाग्दा केक काट्नेहरूको कमी छैन । के अरुलाई खाने बाघले आफूलाई नखाला र ?

नैतिकताको परिभाषा बदलियो । बदलियो, आफ्ना र अरूलाई हेर्ने दृष्टिकोण । विचार र सिद्धान्तको पगरीमा खिया लाग्यो कि पुरानियो ? चिन्दैनन् कि बुझ्दैनन् ? काग र कोइली । जनताको खुसीका लागि शासन व्यवस्था फेरियो । फेरियो, सर्वहारा वर्गका नेताको अनुहार र व्यवहार । हेरियो संघ, प्रदेश र स्थानीय सरकार । तर पनि भेटिएन खुसीमा बदलिएको नेपाल र नेपालीको मुहार ? संस्कार घरमै सिक्ने हो । तर संस्कार र नैतिकता कसैको बन्धकीमा छन् । बोलीले सीमा नाघेपछि दशगजाले के देशको रक्षा गर्ला ? दाजुभाइमै विभीषणहरू जन्मेपछि शान, मान र पहिचान कहाँ पुग्ला ? छिमेकी भाँडेपछि बाछिटा कता पर्ला ? हतपतमा सत्ता, शक्ति र कुर्सी मोहमा फसेपछि फर्केर फेरि टेक्ने धरातल फेला पर्ला ?

काम बन्द छ । दाम बन्द छ । जताततै कसैलाई उचाल्ने र कसैलाई पछार्ने गन्ध छ । उनी पछारिन्नन् बरु जनता थला पर्छन् । चुलो बन्द छ । कसैका छाती खुम्चिएका छन् । कसैका फैलिएका छन् । कोही बेढङ्गले उफ्रिएका छन् । कोही सोचिरहेछन्, आफ्नो टाउको फुटे अरूको बेलैसरि । परीक्षामा पास हुने लक्षण कसैको देखिँदैन । खै, किन हो कुन्नि ? आफ्नासँग विश्वास छैन । पराईसँग लगनगाँठो कसिरहेछन् । लमीले मस्त कमिसन लिइरहेछ । पण्डितले तमासाको मन्त्र पाठ गरिरहेछ । कुन बाजा तालमा नाच्ने ? जनता रनभुलमा परिरहेछन् । भक्तहरू देवता कुन ठूलो भन्ने अलमलमा छन् । तर पनि भजनमा मग्नमस्त छन् । नास्तिकहरूलाई के को टन्टा । घण्टैपिच्छे यिनीहरूको रमितालाई फलो गरिरहेछन् ।

ऊ हिजो मसँग थिई । आज छोडेर गई । आफूसँग छँदा दिलकी रानी, अरूसँग गए वेष्या ? जे पनि सहेर को बस्न सक्छ ? आत्मनिर्णयको अधिकार सबैलाई छ । आत्मनिर्णयभित्र रहेको नैतिकताको लगाम बदनाम भएपछि यी सब कुरा कागजी हुँदारहेछन् । यही दुषित माया पिरतीको चक्रव्यूहमा नेपाली राजनीति र नेपालीको सुन्दर भविष्य कुहिरोको काग बनेर अल्मलिरहेछ । छि† कति दुर्गन्धित राजनीति ?

सामाजिक सञ्जाल राजनीतिको यही अराजनीतिक दुर्गन्धले ग्रसित छ । जनता उपचारको अभावमा त्रसित छन् । समय, श्रम र बौद्धिकता बेतुकको तर्कवितर्कको आहालमा डुबिरहेछ । देशको स्थिति दिनप्रतिदिन बेहाल छ । हामीलाई चाहिएको छ गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा । तर जनताका सेवक हौँ भनेर कहिल्यै नथाक्ने तर मौकामा चौका हान्न देशीविदेशी प्रभूको इच्छा राख्ने मनोबल नभएका, पदलुप्त र ढोँगी नेतृत्वको चङ्गुलबाट हामी कहिले र कसरी उम्कने ? गणतन्त्र त आयो तर कतै हात्ती आयो, हात्ती आयो फुस्सा हुने त होइन ? कठै, हामी नेपाली जनता ।

https://www.globalaawaj.com/archives/108581
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।