ताजा अपडेट »

छोराको जन्मदिन मनाउने तयारी,बाबुको मृत्युको खबर

विहीबार, २७ जेठ २०७८, १९ : ४४
8 Shares


गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–५ पाहकटेरी गाउँमा एउटा हृदयविदारक घटना घटेको छ । सो गाउँका ३० वर्षिय विदुर बिक्रम कुँवरका छोरा आदर्श कुँवरको तीन वर्ष उमेर पूरागरी चौथो वर्ष प्रवेशको जन्मोत्सव मनाउने तरखर गर्ने दिन हो । तर, दुर्भाग्य : दुई दिनदेखि घरबाट बेपत्ता भएका उनका बाबु कुँवरको आजै मृत्युको खबर आउँदा परिवार मात्रै होइन गाउँ नै स्तब्ध भयो ।

अस्ती मंगलबार रातिदेखि छिमेकबाटै बेपत्ता भएका बिदुर बिक्रमको शव हिजो बुधबार साँझ ६ बजेको समयमा इस्मा रजस्थलको राँगा पाइँला नजिकै शिवेभिर भन्ने स्थानमा फेला परको थियो । सोही अनुरुप उनको शव आज पोष्टमार्टम गर्न र घटनाको छानविनका लागि सदरमुकाम तम्घास ल्याइएको हो । अस्ती मंगलबार दिउँसो दुई बजेतिर घरबाट हिँडेका विक्रम कुँवर सो गाउँका पाहकटररी गाउँ नजिकैको खादीपाटी भन्ने स्थानको प्रतिक्षालयमा का केहि साथीहरुसँग क्यारमबोर्ड खेलेर बसिरहेको देख्नेहरु बताउँछन्।

उनिसँग क्यारमबोर्ड खेल्नेहरुमा स्थानीय प्रकाश अर्याल,रामबहादुर बिष्ट र सन्तोष बिष्ट रहेको छन् । त्यसको केहि बेरपछि छापास्थित माइती घरबाट फर्किदै गरेकी बिदुर विक्रमकी श्रीमती शारदा कुँवरले आफ्ना तीन वर्षीय छोरा आदर्शलाई लिएर त्यस स्थानमा श्रीमानलाई भेटिन् । बाबुले छोरालाई एउटा चिजबल खरिद गरि घर पठाई दिए । त्यसको केहि बेरपछि यमबहादुर बिष्टको घरको दलानमा बोका काटी त्यसको आन्द्रभुँडी रगत लगेर नजिकै रहेको केशव कुँवरको होटलमा लगेर पकाई सकेपछि उनै प्रकाश अर्याल,रामबहादुर बिष्ट, सन्तोष बिष्ट,राजन कुँवर, धनबहादुर कुँवर, टिकाराम अर्यालय , बिष्णु घिमिरे , बसन्त बिष्ट समेतसँग बसेर विदुर विक्रम कुँवरले भुटुवा खाएको समेत देखिएको स्थानीयले बताएका छन् ।

राति छोरा घर नआ पछि ती खानपिनमा बसेका साथीहरु मध्येका केशव कुँवरलाई ‘यति अबेर घर आएनन् कता गयो?’ भनेर फोन गरेर सोद्धा ‘८ /९ बजे नै यहाँबाट घर हिँडेको हो।’भनेर जवाफ दिएको बताइएको छ । मृतक विदुर विक्रमका बाबु धनबहादुर कँुवरले बिहीवार जिल्ला प्रहरी कार्यालय गुल्मीमा छोराको रहश्यमय मृत्यु भएको भन्दै घटनाको छानबिन र अनुसन्धानका लागि जाहेरी दिएका छन् ।जाहेरीवाला बाबु धनबहादुर कुँवरले छोराको मृत्यु रहस्यम भएको बताए ।

उनका जेठा छोरा तथा मृतका जेठा दाजु राजेन्द्र बिक्रम कुँवर भन्छन् ‘भाईको हत्या नै भएका आधारहरु छन् । त्यस स्थानबाट आउने बाटो आफ्नो घरदेखि अगाडिको भिरमा उनी मृत फेला परेका छन्। मदिरा सेवन गरेर लडेर मृत्यु भयो भन्ने हो भने त्यसभन्दा डर लाग्दो भिर उतै लड्नु पर्ने जबकी घर कै बाटो आएर,घरमा नपसी उता जानुको कारण केहि छैन कुनै गाउँ पनि छैन कुनै पसल पनि छैन । अस्ती राति नै हामो बुवा–आमाले खोज्दा त्यस स्थानमा भाईको शव देखिएको थिएन । तर, हिजो साँझ त्यो स्थानमा कसरी शव भेटियो ?’

ती दाजु राजेन्द्र बिक्रम , दिदी सहित कुष्मा कुँवर , बहिनीहरु उषा कुँवर , बिन्दु कुँवर र र सिता कुँवर घटना घट्दा काठमाण्डौं थिए। घरमा भाइको रहस्यम रुपमा मृत्यु भएको खबर सुुनेर उनिहरु लकडाउनका बावजुद पनि गाडी रिजर्भ गरेर आज बिहान सदरमुकाम तम्घास ओर्लिएका छन्। बहिनी उषा कुँवरले दाजुको हत्या नै भएको दाबी गर्छिन् । दाजु गुमाउनुको पीडाले भावविह्ल भएका उनीहरुलाई मृतकका छोरा ३ वर्ष पूरा गरेर आज देखि ४ बवर्षको उमेरमा पाइला टेकेका आदर्श कुँवरले थप भावविह्ल पारेका छन्।

अस्तिदेखि छोराको जन्म दिन मनाउने तयारी गरेर माइतीबाट घर आएकी उनकी आमा शारदा कुँवर छोराको जन्म दिन मनाउने दिन आजै श्रीमानको मृत्युको खबरले अर्धमुर्छित बनेकी छन् । छोराले आदर्शले ‘मेरो बर्थडे मनाई दिन बाबा कति बेला आउनुहुन्छ ?’ भनेर सोध्छन् हामीले के जवाफ दिउँ ? आदर्शकी फुपु तथा मृतककी बहिनी विन्दु कुँवरले भनिन् ‘आजै यस्तो देख्नु पर्यो ?’ विदुर विक्रम कुँवर त्यस गाउँका सोझा र भद्र युवाका रुपमा गनिन्थे । ३० महिना मलेशियाको रोजगारमा बसेर साहुले तलब नदिई ४ वर्ष अघि रित्तो हात घर फर्किएका उनी काठमाण्डौमा बस्दथे।

कोरोना संक्रमणबाट बँच्न बैशाख १० गते अर्थात् डेढ महिना अघि मात्रै घर आएका उनको मृत्युले त्यस परिवार मात्र नभई सिङ्गो पाहकटरी गाउँ शोकाकुल बनेको छ । श्रीमती शारदासँग विदुर विक्रमले ५ वर्षअघि मात्र प्रेम विवाह गरेका थिए । घटनाका सम्वन्धमा जिल्ला प्रहरी प्रमुख एसपी गोपाल चन्द्र भट्टराईले हिजो प्रहरी निरीक्षकको कमाण्डमा घटना स्थलको मुचुल्का उठाउन र अनुसन्धान गर्न प्रहरी पठाइएको र आज आफूलाई परिवारजनबाट जाहेरी आएको बताउँदै घटनाको सुक्षम अनुसन्धान गरिने बताए ।

https://www.globalaawaj.com/archives/112357
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।