ताजा अपडेट »

राजनीतिमा नैतिकताको संकट

मंगलबार, ११ जेठ २०७८, २१ : ३०
107 Shares

नीतिहरूको राजा राजनीति हो । शाब्दिक अर्थमा राज्यको शासन व्यवस्थासम्बन्धी नीतिलाई राजनीति भनिन्छ । राजनीतिको क्षेत्र व्यापक छ किनकी राजनीतिबाट कोही अछुतो रहन सक्दैन । खेतीकिसानी, व्यापार, उद्योग, वाणिज्य, अर्थव्यवस्था, शिक्षा, स्वास्थ्य आदि क्षेत्र राजनीतिको प्रभावबाट अलग रहन सक्दैनन् । स्वतन्त्र ढङ्गले सञ्चालन गरिएको भनिए पनि यी क्षेत्रमा राजनीतिको बाछिटाले हानेको कुरा छर्लङ्गै छ । यसकारण देशको राजनीतिप्रति सचेत हुनु, राजनीतिक अवस्थाका बारेमा चासो राख्नु र बुभ्mनु तथा त्यसप्रति आफ्नो विचार व्यक्त गर्नु नागरिकको अधिकार र कर्तव्यभित्रको कुरा हो ।

तर,सबै क्षेत्रले आन्तरिक कामको सट्टा असम्बन्धित कुरामा पनि राजनीतिको चक्रव्यूहमा कुँम जोडाउनु र कथित विज्ञताको विज्ञापन विभिन्न सामाजिक सञ्जाल वा अरु कुनै माध्यमबाट प्रस्तुत गर्ने कुराले नेपाली राजनीति गन्तव्यहीन यात्रामा अल्मलिएको छ । काम गर्ने भन्दा सल्लाह दिने बढी भएपछि के हुन्छ ? सल्लाहकारको सल्लाह नै उल्टो भएपछि के हुन्छ? समर्थकको कोलाहलमा वास्तविक कुरा नबुझिएपछि के हुन्छ ? यही कुरा नेपाली राजनीतिमा देखापरको छ । यसले राजनीतिभित्र अतिवादी राजनीतिक प्रवृत्तिलाई बढावा दिइरहेको छ भने राजनीतिक वृत्तमा अन्योल, निराशा, कुण्ठा र नैतिक विचलन देखापरेको छ ।

साँच्चिकै भन्ने हो भने अहिले मतदाता हुन् कि कुनै राजनीतिक पार्टीका कार्यकर्ता छुट्याउन गाह्रो छ । र, ती कार्यकर्ताहरू यस्ता छन् कि ढुङ्गाले बरु सुन्ला तर फरक विचारधारा राख्नेहरूका कुरा सुन्दै सुन्दैनन् । विचार, सिद्धान्त र व्यवहारनिष्ठ व्यक्तिले आफ्नो नराम्रो कुरा त्याग्ने र अरुको राम्रो छ भने अनुसरण गर्नुपर्ने हो तर त्यो नेपालको राजनीतिमा अभ्यास गर्ने कुरा आकाशको फल आँखा तरी मर जस्तै भइरहेको छ । जसरी शरीरमा आएको पिलोलाई आफ्नो ठानेर जोगाइँदैन, निचोरेर खिल फालिन्छ त्यसरी नै आफूसम्बन्ध दल वा सङ्गठनमा भएका नराम्रा पक्ष वा विचारलाई त्याग्नुपर्छ । तर नेपाली राजीनीतिमा यस्तो संस्कार बिरलै पाइन्छ । आफ्नो भनेपछि राम्रो भन्ने अन्धभक्त प्रवृत्तिले नेपाली राजनीतिमा नैतिकताको खडेरी परेको कुरा घाम जस्तै छर्लङ्ग छ ।

बिडम्बना भन्नुपर्छ, नेपालका राजनीतिक दलका कार्यकर्ताहरू सिधा हेर्छन्, दायाँबायाँ देख्दैनन् । व्यवहारमा यति धेरै कठोर छन् कि सिद्धान्तमा जेहोस् तर पार्टी र पार्टीको नेताप्रति नतमस्तक भएर जयजयकार गर्छन् । कार्यकर्ता काम गर्ने कर्ता भन्दा पनि आफ्नो पार्टी र पार्टीका नेताप्रति अन्धभक्त छन् । उनीहरू बाङ्गोलाई पनि सोझो देख्छन् र सोझोलाई पनि बाङ्गोका रूपमा व्याख्या गर्न माहिर छन् । यो हुनु भनेको राजनीतिमा देखिएको नैतिकताको संकट हो ।

नेपाली राजनीतिमा नैतिकताको खडेरी आउनुको मूल कारण कुनै पार्टी वा दलसँग आबद्ध संस्कारको पुस्ता हस्तान्तरण नै हो । हजुरबुबादेखि नातिसम्म आइपुग्दा पनि एउटै पार्टीमा लाग्नु नराम्रो नै हो भन्न त अलि नमिल्ला तर, आफन्तले मान्ने पार्टीलाई आफ्नो पुख्र्यौली सम्पत्ति ठान्ने प्रवृत्तिका कारण नेपाली राजनीतिमा नयाँ शक्ति र नयाँ अनुहार प्रवेश गर्न नपाएको पक्कै हो । सामाजिक सञ्जाल र चिया गफमा नेताले गल्ती गर्दा भोट माग्न त आउला अनि देखाउँछौँ भन्ने तर चुनावमा नेताहरू घरदैलोमा आउँदा अन्धभक्त भएर बाबुको बिर्ता जस्तो फेरि उही पुरानै चिन्हमा स्वस्तिक छाप लगाउने ढुलमुले चरित्रले पनि नेपाली राजनीतिमा नैतिकताको पतन भएको हो ।

भनिन्छ, शिक्षाले चेतना र चेतनाले असल राजनीतिक संस्कारको विकास गराउँछ । तर, सिद्धान्तको सापेक्ष व्यवहार हुनुको सट्टा निरपेक्ष बनेका कैयौँ उदाहरण हामीले देखेसुनेकै छौँ । प्रतिष्पर्धीलाई शत्रु नै देख्ने स्कुलिङ भएपछि कुन असल र कुन खराब हो,भन्ने कुरामा नै विरोधाभास देखिन्छ, देखाइन्छ । अनि कसरी हुन्छ नैतिकताको राजनीति । आफ्नो आङको भैसी नदेख्ने अरुको आङमा जुम्रा छ कि भनेर हेर्ने प्रवृत्तिले नेपाली राजनीतिमा नैतिकता र राजनीतिक संस्कार च्यूत भएको हो । विपक्षी देखेपछि विरोध गर्नैपर्ने भन्ने मानसिकताले ग्रसित नेता र कार्यकर्ताको भिडले नेपालको राजनीतिमा नैतिकताको विचलन भएको छ भने राम्रा कामको प्रशंसा गर्ने सकारात्मक चिन्तनमाथि तुषारापात भएको छ ।

लोकतान्त्रिक मुलुकको राजनीति प्रतिष्पर्धामा आधारित हुन्छ । लोकतान्त्रिक व्यवस्थामा जित हासिल गर्ने पक्षले पराजित हुने पक्षलाई कदर गर्ने संस्कार हुन्छ । तर नेपाली राजनीतिमा प्रतिस्पर्धामा जित्नेले हार्नेलाई भुसुना नगन्ने र हार्नेले जित्नेलाई सिद्धान्ततः स्वीकारे पनि व्यवहारमा निश्चित समय कुर्न नसक्ने प्रवृत्ति छ । जसले गर्दा राजनीतिमा नैतिकताको संकट पैदा भएको छ । यो नियम अन्तरपार्टी र पार्टीभित्रै पनि नेपाली राजनीतिमा देखापरेको छ । यस्तो प्रवृत्ति राजनीतिक स्थायित्वका लागि घातक साबित भइरहेको छ ।

हरेक पार्टीको आफ्नो नीति, विधान र अनुशासनको सीमा हुन्छ । पार्टीमा आबद्ध भइसकेपछि पार्टीका सदस्यहरूले त्यसको अक्षरशः पालना गर्नुपर्दछ । बहुमत र अल्पमतका आधारमा यी नियम र अनुशासनको पालनामा विचलन हुने बित्तिकै पार्टीभित्र नैतिक संकट पैदा हुन्छ । नेपालका विभिन्न राजनीतिक दलमा अहिले देखिएको विचलन, आन्तरिक द्वन्द्व र फुटको स्थिति आउनुको कारण पनि यही हो । पार्टीगत नीतिको अवलम्बन र राजनीतिक अनुशासनको कमीले अहिले कसैमा शक्तिको अहङकार पैदा भएको छ भने कोही पार्टीभित्र आफ्नो अस्तित्व र प्रभावका निम्ति आफ्नै दलभित्र मात्र नभएर अन्य दलसँग मिलेर संघर्ष गर्दै छन् । यो अवस्था आउनुको कारण पनि राजनीतिमा नैतिकताको पतन हुनु हो । यदि राजनैतिक नैतिकता हुँदो हो त कसैले यति हठ र अहङ्कार तथा कसैमा यति राजनीतिक विचलन आउने थिएन ।

राजनीति कुनै विचारबाट निर्देशित हुन्छ । कुनै राजनीतिक विचार वा आस्था अवलम्बन गर्नु ठिकै हो तर मेरो वा हाम्रो पार्टीले गरेको हो भन्ने नाममा नराम्रा वा असङ्गत कुराप्रति पनि चुप लागेर बस्नु वा स्वीकार गर्नु राजनीतिक नैतिकता गुमाउनु हो । नेपाली राजनीतिमा फरक दल होस् या दलभित्र रहेका गुट उपगुटहरू हुन् यस्ता कुराबाट यिनीहरू अलग हुन सकेका छैनन् । फरक पार्टीमा आफ्नाले गरेको गल्तीमा चुप लागेर बस्ने वा समर्थन गर्ने र एउटै पार्टीमा भए गुटगत धारणा बनाउने प्रवृत्तिले पनि नेपाली राजनीतिमा नैतिकताको विचलन भएको कुरालाई पुष्टि गर्दछ । यी र यस्ता कुरामा राजनीतिक कार्यकर्ता अन्धभक्त भएर लागेकै छन् जुन हामीले सामाजिक सञ्चाल वा अन्य माध्यमबाट देखिरहेका छौँ । यसले राजनीतिक संस्कारको त धज्जी उडाएकै छ भने अर्कोतर्फ यसले एउटा नेता र पार्टीलाई मात्र होइन सिङ्गो राष्ट्रलाई क्षति पुग्ने निश्चित छ ।

राजनीतिक स्थायित्व, देशको आर्थिक समृद्धि र राजनीतिमा नैतिकता एक अर्कामा अन्तरसम्बन्धित छन् । तर, वर्तमान अवस्थामा नेपालको राजनीतिको छवि धमिलिएको छ । कोरोनाको महामारीमा जुट्नुपर्ने सरकार, सरकार टिकाउने धन्दामा लागिरहेको छ भने विपक्षी दल र सत्ता पक्षका केही नेताहरू सत्ता प्राप्तिको होडमा लागिरहेका छन् । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको काम, कर्तव्य र अधिकारमा बिरोधाभास देखिएको छ । यस्तो परिस्थितिमा हरेक राजनीतिक दल, नेता, कार्यकर्ताहरू नैतिकताको डोरीमा आबद्ध भई देशलाई राजनीतिक निकास दिनुपर्छ भने सबै एकजुट भई कोरोना महामारीको नियन्त्रणमा लाग्नु आवश्यक छ । पद, प्रतिष्ठा र सत्ता भन्ने कुरा कर्म तथा जनताको सेवामा जुटेका आधारमा अवश्य प्राप्त हुन्छ । यदि अब पनि अन्धभक्त राजनीतिको चङ्गुलमा देश फस्यो भने त्यसले कोरोनाले भन्दा राष्ट्रलाई बढी अस्थिरता, अन्योल र बर्बादीतिर धकेल्ने कुरा निश्चित छ । त्यसैले वर्तमान नेपाली राजनीतिको निकास भनेकै अन्धभक्त राजनीतिमा नैतिकताको सङ्कट निराकरण गर्नु नै हो ।

https://www.globalaawaj.com/archives/108342
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।