ताजा अपडेट »

प्रतिभा मृत्यु प्रकरण : एक महिनामा पनि प्रतिवेदन सार्वजनिक भएन

आइतबार, ०९ जेठ २०७८, २० : ४६

बुटवल । रुपन्देहीको प्यारामाउण्ट इङ्गलिश बोर्डिक स्कूलमा अध्ययनरत छात्रा प्रतिभा सापकोटाको मृत्यु बारेको छानविन प्रतिवेदन एक महिनामा पनि सार्वजनिक भएको छैन । घटना बारे अध्ययन गर्न बनेको ५ सदस्यीय समितिले ३ दिनभित्र प्रतिवेदन तयार गर्ने भनिएपनि महिना दिन बित्न लाग्दा समेत सार्वजनिक नभएको हो । रुपन्देहीको तिलोत्तमा–१ मा अवस्थित प्यारामाउन्ट बोर्डिङ हाई स्कूलको होस्टेलमा रहेकी छात्राको गत बैशाख ११ गते मृत्यु भएको थियो । स्वास्थ्यमा अचानक समस्या आएपछि उपचारका लागि मणिग्राम स्थित क्रिमशन अस्पतालमा लैजाँदा अस्पतालले मृत घोषणा गरेको थियो ।

तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गाँगाराम आचार्यको संयोजकत्वमा ३ दिन भित्र घटना बारे सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्ने गरी बैशाख १२ गते ५ सदस्यीय समिति गठन भएको थियो । छानविन समितिको दस्यहरुमा नगर शिक्षा समितिका सदस्य टंक पौडेल, प्याब्सन तिलोत्तमा अध्यक्ष डि.बी. थापा, अभिभावक संघ तिलोत्तमाका अध्यक्ष नारायण ज्ञवाली र कोरोना फोकल पर्सन केशब भट्टराई रहेका छन् ।कोरोना महामारीको दोस्रो लहर नेपालमा प्रवेश गरिरहेको अवस्थामा नगरपालिकाले तिलोत्तमाका सबै विद्यालयहरुलाई छिटो परीक्षा सकेर विद्यालय बन्द गर्न आह्वान गरिरहेका बेला उनी पनि परीक्षाका लागि विद्यालयमा बसेकी थिइन् ।

विद्यालयमा उनीसँगै करिब ५० जना विद्यार्थी बस्दै आएका थिए । ‘विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले होस्टेलमा बस्दै आएकी प्रतिभाले छाती दुःख्ने समस्या भएपछि उनको दाजुलाई लिन बोलाएर घर गएकी थिइन् ।’- विद्यालयका सह प्राचार्य लिलाधर किरातले भने ‘एक्कासी स्वास्थ्य समस्या आएपछि उपचारका लागि मणिग्रामको क्रिमशन अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको जानकारी प्राप्त भयो ।’ विद्यालयले वैशाख १५ गते सक्ने गरी परीक्षा सञ्चालन गरीरहेको थियो ।

गुल्मीको चन्द्रकोट गाउँपालिका ८ साबिक तुराङ्ग गाविसको झुर्मु गाउँमा जन्मिएकी १५ बर्षिया प्रतिभा सापकोटा तिलोत्तमाको नयाँमिल स्थित ठूलो बुवा दधिराम सापकोटाको घरमा बस्दै आएका थिए भने अध्ययनका लागि विद्यालयको होस्टेलमै बस्ने गरेकी थिइन् । प्रतिभाको मृत्युका कारण बैदेशिक रोजगारीका लागि जापानमा रहेका उनका बुबा आमा डोलनाथ सापकोटा र लक्ष्मी नेपाल आउनु परेको थियो ।

अध्ययन प्रतिवेदन सार्वजनिक नभएको बारे प्रतिक्रिया जनाउँदै अध्ययन समितिका संयोजक आचार्यले आफूहरुले प्रतिवेदन बुझाएको भए पनि सार्वजनिक भने नभएको बताए । ‘हामीले ५ दिन लगाएर प्रतिवेदन तयार पारेका थियौं ।’-ग्लोबल आवाजसँग कुरा गर्दै उनले भने, ‘प्रतिवेदन मेयर बासुदेव घिमिरलेलाई बुझाएको भए पनि कोरोनाका कारण सार्वजनिक नभएको हुनसक्छ ।’ यसैगरी मेयर घिमिरेले केही दिनमै प्रतिवेदन सार्वजनिक गर्ने बताएका छन् । ‘हामीले प्रतिवेदन पाइसकेका छौ, कोरोना महामारी एक्कासी बढेकै कारण सार्वजनिक गर्न सकिएको थिएन’–घिमिरेले भने,‘अब एक÷दुई दिनमै सार्वजनिक हुन्छ ।’

https://www.globalaawaj.com/archives/101836
डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।