ताजा अपडेट »

रुपन्देहीमा निषेधाज्ञा : के गर्न पाइने,के नपाइने ?

मंगलबार, १४ बैशाख २०७८, १८ : ११
8 Shares

बुटवल । रुपन्देहीमा कोरोना संक्रमण बढदै गएपछि जिल्ला प्रशासन कार्यालयले रुपन्देहीमा लकडाउन (निषेधाज्ञा)को तयारी गरेको छ । बैशाख १६ गते देखी बैशाख २९ गते सम्म रुपन्देहीमा निषेद्याज्ञा जारी हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले जनाएका छन । यसको औपचरिक निर्णय भने भोली मात्र हुने भएको छ । निषेधाज्ञालाई बाध्यात्मक तरिकाले लैजाने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले बताए ।

उनले गत बर्ष चैत्र ११ गते जुन रुपमा बन्दाबन्दी भएको थियो रुपन्देहीमा पनि त्यस्तै प्रकृतिको बन्दाबन्दी गर्ने दावी गरे । अर्थात रुपन्देहीमा दैनिक उपभोग्यदेखी खाद्यान्नसम्म कुनै पनि पसल खोल्न नपाइने प्रजिअ तामाङ्गले जनाएका छन् । “अहिले ऐनले हामीलाई धेरै सुविधा दिएको छ जुन सुकै ऐन लगाएर कार्यवाही गर्न सक्छौं ।” तामाङ्गले भने “ बाहिर देखिए एक महिनाको लागी थुन्ने छौ ।” यस अवधिमा शान्ती सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला, ब्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मि, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, ब्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले जानकारी दिए । यस्तै जिल्ला भित्र सबै प्रकारका निजि तथा सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ ।

कुनै पनि भेला, भिडभाड जम्मा हुन, मानिसहरु भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरिएको छ । सबै प्रकारका सभा, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालीम, गोष्ठि, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टर स्टोर, सपिङ्ग मल, ब्यूटिपार्लर र स्विमिङ्ग पुल, स्पा, संग्रहालाय, पुस्तकालाय, समूहमा खेल्ने खेलकुद, जिमखाना आदि सञ्चालन गर्न पनि रोक लगाईएको छ । त्यस्तै पराम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, साँस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघटमा पनि प्रशासनले रोक लगाएको छ । शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, भाषा कक्षा, ट्युसन सेन्टर लगायतका जमघट हुने गतिविधिहरु सञ्चालन गर्न तथा होटल, रेष्टुरेन्ट सञ्चालन गर्न रोक लगाईएको छ ।

अति आवश्यकिय सामाग्रीहरु खाद्यान्न, ग्याँस, तरकारी, फलफुल र दुध लगायत दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको लागी उद्योग बाणिज्य संघ र ब्यपार संगठनले ब्यवस्था मिलाउने र यस्ता वस्तुहरुको कृत्रिम अभाव सृजना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरुलाई कार्यवाही गरिने भएको छ । यसको साथै सिमालाई अझै ब्यवस्थापन गरि अत्यावश्यक अवश्थामा नेपाल आउनु पर्ने नेपालीहरुको लागी मात्र बेलहिया नाकाबाट प्रवेश अनुमति दिईने जनाइएको छ । यसरी आउने नेपालीले बेलहियामै सञ्चालनमा रहेको होल्डिङ्ग सेन्टरमा तापक्रम मापन सहित अभिलेखिकरण गर्ने, एन्टिजेन परिक्षण गर्ने र नकारात्मक रिपोर्ट आएका नेपालीलाई स्थानिय तहमा क्वारेन्टाईन वा आईसोलेसन सम्म पु¥याउने ब्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताए ।

बढ्दो कोरोनाको महामारीलाई ध्यानमा राख्दै जिल्लामा रहेका ८३ वटै एम्बुलेन्सलाई कोभिड मैत्री बनाई सञ्चालनमा ल्याउने डिसिसिएमसीले तयारी गरेको छ । उद्योगहरुलाई भने निश्चित मापदण्ड अपनाउदै सञ्चालनको अनुमति दिईएको छ । उद्योगले आफ्ना श्रमिक र अन्य जनशक्तिलाई अनिवार्य रुपमा कार्यस्थलमै राख्नुपर्ने, निजहरुको खानाको ब्यवस्था कार्यस्थलमै गरिदिनु पर्ने, बाहिर जार र बाहिर रहेर परिवार लगायत अन्य कुनै ब्यक्तिसंग सम्पर्क गर्न नदिने गरि उद्योग सञ्चालनको अनुमति दिईएको छ । उद्योगमा बस्दा पनि भौतिक दुरी कायम राख्ने, स्वास्थ्य सम्बन्धि अन्य प्रोटोकल पालना गर्ने, सबै श्रमिकको दैनिक ज्वरो, स्वास्थ्य जाँच गर्ने र माक्स सेनेटाईजर तथा साबुन पानीको प्रयोग गर्ने र तयारी अवश्थामा एम्बुलेन्स राख्न पनि जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ ।

सबै ब्यवस्था उद्योगीले नै गर्ने पर्ने गरि कामदार संक्रमित भए स्वयम उद्योगले नै आईसोलेसनको ब्यवस्था गर्नु पर्ने शर्त राखिएको छ । यी सबै मापदण्ड पुरा भए नभएको भन्ने अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा अनुगमन समिति पनि गठन गरिएको छ । अनुगमन समितिमा नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक, शसस्त्र प्रहरीका प्रहरी नायब उपरिक्षक, उद्योग बाणिज्य संघ र नेपाल पत्रकार महासंघको प्रतिनिधि हुने छन् ।

https://www.globalaawaj.com/archives/102585
बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।