ताजा अपडेट »

जागिर दिने भन्दै तीन सय युवाबाट ६ करोड ठगी

विहीबार, ०५ असार २०७६, ०८ : ३९
4 Shares


असार ५,

काठमाडौँ ।  सिंगापुर लगेर पानीजहाजमा जागिर लगाइदिने प्रलोभन देखाएर तीन सय युवासँग ६ करोड ठग्ने व्यक्ति पक्राउ परेका छन् । नुवाकोट गणेशस्थान–९ का ३४ वर्षीय प्रवीण पौडेललाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले हेटौँडाबाट पक्राउ गरेको हो । महाशाखा प्रमुख एसएसपी सहकुल थापाले तीन सय युवाबाट पौडेलले पाँच लाखसम्म रकम उठाएको बताए । ‘पानीजहाजमा क्रु मेम्बरको जागिर लगाइदिने भनेर तीन सय युवाबाट करिब ६ करोड उठाएको प्रारम्भिक अनुसन्धानबाट देखियो । बाँकी तथ्य अनुसन्धानबाट सार्वजनिक हुँदै जानेछ,’ एसएसपी थापाले भने ।

प्रहरीका अनुसार उनले युवा संकलन गर्न विशालनगरमा चार वर्षदेखि अप्रेन्टिस फर्म प्रालि खोलेका थिए । प्रतिमहिना ६ सय ५० डलर तलब दिने काममा पठाउने र त्यसका लागि जहाजमै तालिम लिनुपर्ने भन्दै अग्रिम दुई लाख लिन्थे । भारतीय जहाजका क्रु मेम्बरलाई तालिम दिने कम्पनीसँग सम्झौता समेत गरेका थिए । सिंगापुर जान तयार भएका युवालाई उनी त्यहीँ लैजान्थे । यसरी ठगिएका  ५८ जना सम्पर्कमा आइसकेको अनुसन्धानमा खटिएका महाशाखाका एसपी सुशीलसिंह राठौरले बताए । -नयाँ पत्रिका दैनिक

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।