ताजा अपडेट »

बहुमुखी प्रतिभाका खेलाडी राज भगत प्रधानाङ्ग

शनिबार, १४ चैत्र २०७७, २० : २३
8 Shares

धरान प्राकृतिक हिसाबले मात्र सुन्दर छैन, यसले नेपाली खेलकूदको क्षेत्रलाई थुप्रै होनहार खेलाडिहरु दिएको छ । अझै शारीरिक सुगठन खेलको कुरा गर्ने हो भने यसले रमेश नाथ खनाल र राज भगत प्रधानाङ्गजस्ता प्रतिभाशाली खेलाडी जन्माएको छ । राज भगत प्रधानाङ्ग युवा अवस्थामा निक्कै दुब्ला पाताला थिए । वि. स. २०२४ साल तिर उनलाई पिताले रमेशनाथ खनाल गुरु कहाँ लिएर गए । २०२५ सालमा स्थापाना भएको डाँफे जिम्नाजियमा व्यायाम गरी रमेश गुरुले २०२७ मा मिष्टर धरानको उपाधि जिति सकेका थिए । व्यायाम थालेको छोटो समयमा राज भगत गुरुका प्रिय चेला बन्न सफल भए ।

नेपाल बैंकमा जागिर गर्ने शिलशिलामा २०२९ सालमा उनि विराटनगर पुगे । ‘जहां चाह त्यहाँ राह’–भने झै त्यहाँ उनको संगत मोहन दंगोलसंग भयो जसले आफ्नो घरमा नै सानो व्यायामशाला खोलेका थिए । बिस्तारै उनको भेटघाट विराटनगरमा अरु व्यायाम गर्ने साथीहरु घनश्याम मुखिया, अशोक गुप्ता, दिपक के शी, पार्थसारथिसेन गुप्ता लगायतको समूहसंग भयो । २०३१ मा पुनःधरान फर्केर आफ्नै घरमा धरान व्यायाम मन्दिर संचालन गरे । वि स २०३३ सालमा भएको दोश्रो मिष्टर धरानको उपाधि जित्न उनी सफल भए । वि सं २०३१–३२ विराटनगरबाट काठमाडौंमा कबड्डी प्रतियोगिता खेल्न रमेश खनाल, राजभगत प्रधान, नरेन्द्रनाथ अधिकारी,पार्थसारथि सेन गुप्ता लगायतको समूह आएका थिए ।

तत्कालीन पूर्वाञ्चलबाट प्रथम राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुने टोलीमा प्रायः सबै बडी बिल्डरहरू नै थिए । काठमाडौंमा भेट भएका थप बडी बिल्डरहरूसँगको सल्लाहमा उनीहरू संघ दर्ता गर्ने प्रयासमा जुट्न थाले । तत्कालीन राखेपका सदस्य–सचिव कुमार खड्कविक्रम शाहका पालामा उनीहरुले बडी बिल्डिङ संघ दर्ताका लागि निकै पहल गरे तर सफल भएनन् । त्यस पछिका सदस्य–सचिव शरद चन्द्र शाहले समेत अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा बडी बिल्डिङ संघ नभएको भन्दै राखेपमा दर्ता गर्न नमिल्ने बताए । तर, यसै खेलसँग मिल्दो जुल्दो अर्को खेलको भारोत्तोलनका नाममा दर्ता गर्न सकिने बताए । त्यसपछि उनिहरुले नेपाल भारोत्तोलन तथा शारीरिक सुगठन संघको दर्ता गर्न सफल भएको उनले भने ।

बडी बिल्डिङमा लागि रहेका उनले प्रथम राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा ३५५ पाउण्ड उचालेर स्वर्ण पदक मात्र हात परेनन्,राष्टिय किर्तिमान समेत राख्न सफल भएको खुशी सुनाए । दुइ पटक बि स २०३७ साल २०३९ मा स्ट्रोङ्गेष्ट म्यान अफ नेपाल उपाधि जितेका उनि सन् १९८४ काठमाडौ र १९८५ मा ढाकामा भएको साफ खेलकुद प्रतियोगितामा समेत उनको सहभागि भएको उनले बताए । शारीरिक सुगठन खेलबाट उदाएका उनि भारोत्तोलन र एथलेटिक्स खेलमा समेत सफलताको स्वाद चाखे । बहुमुखी प्रतिभाशाली खेलाडी राज भगत प्रधानाङ्ग धेरै खेलाडीका लागि आज पनि प्रेरणाका स्रोत हुन् ।

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार