April 13, 2021, Tuesday
२०७८ बैशाख १, बुधबार

दमदार दिलमाया

5.2K

नौ महिनाकी छोरी रचनालाई पिठ्यूमा बोकेर घरबाट छुट्टिनुको पीडा कम्तिको थिएन होला दिलमाया श्रेष्ठलाई । घरबाट हिडेपछि माइतीले बनाइ दिएको सानो कटेरो, माथि टीन तल फुसको थियो । श्रीमान घननारायण श्रेष्ठको मन नौनी जस्तै थियो । पाँच वर्षको फरक उमेर भएका यी दम्पतीका माया,ममता र स्नेह चखेवाको जस्तै लोभ लाग्दो थियो ।

दिलकुमारी अर्मपर्म गर्न जान्दिन, ऐचोपैचो गर्थिन् । परिवारलाई जीवनको सुख र दुःखको यात्रामा डोराइ रहन्थिन् । पर्म गरेर असार महिनाको एउटा झिसमिसे साँझमा सिमसिमे पानीसँगै आफू घर फर्किदा छोरी रचनालाई बलेनी पानीले भिजाइ रहेको थियो । आधा शरीर घरभित्र आधाबाहिर भेटेपछि दिलमायाको दिल धागोबाट चुँडेको चङ्गा जस्तै उड्यो । छोरी रचनालाई म्वाइँ खाइन्, काखमा राखिन् र निद्राबाट ब्यूँताउँदै दूध चुसाइन् । यो कुनै चलचित्रको दृश्य होइन् । दिलमायाको दिल दुखेको कथा व्यथा हो ।

तनहुँको घिरिङ्ग गाउँपालिकामा जन्मिएकी उनी बाबा आमाका जेठी छोरी हुन् । दुई दाजु,दुई भाइ अनि आफूमूनि तीन बहिनीहरु गरी आठ सन्तान थिए दिलमायाका । विहे गरेको पछिल्लो वर्ष अर्थात् २०५७ सालमा उनले प्रवेशिका परीक्षा उत्तीर्ण गरिन् । रचनाको रचना गरिन् सोही सालमा । धादिङ्ग पहाड घर भई २०२६/२०२७ सालतिर कावासोतीतिर बसाइ सरेका घननारायण श्रेष्ठसँग मागी विहे गरेकी दिलमाया अचेल नवलपुर जिल्लाको कावासोतीकी स्थायी बासिन्दा बनेकी छन् ।

२०६५ सालतिर कावासोतीकै लुम्बिनी डिग्री कलेजमा कक्षा ११ सुरु गरेकी उनले सोही कलेजबाटै ग्रामीण विकास विषयमा स्नातक गरेकी हुन् । विहान कक्षा ११ पढ्ने र दिउँसो विकू सहकारी र सीटीइभीटीको संयुक्त आयोजनामा क्षेत्रीय पशुसेवा तालिम केन्द्रद्वारा सञ्चालित ३५ दिने ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता तालिम लिइन् । पछि उनले सीटीइभीटीबाटै लेभल एक र दुईको सीप परीक्षण उत्तीर्ण गरिन् । यो नै उनको पशु सेवाको दैलो उघार्ने अर्थात् गरी खाने सीप बन्यो । तालिमले उनलाई तिखार्यो ।

अचेल उनले पुश सेवा सम्बन्धी पुनर्ताजगी तालिम पाएकी छन् । ल्याव र पशु प्रजनन् सम्बन्धी एवम् आवश्यकता अनुसार अनेक प्रकारका तालिम लिने अवसर प्राप्त गरेकी छन् । खास गरेर दिलमायाले कृत्रिम गर्भाधान तथा नश्ल सुधारमा विशेष दख्खल राख्छिन् । प्रतिवर्ष एक हजार ६ सय बढी गाई,भैसी र बाख्रामा उनले कृत्रिम गर्भाधान गराउँदै आएकी छन् ।

गाई र बाख्रालाई चार सय रुपैयाँ र भैंसीलाई कृत्रिम गर्भाधान गराए वापत ६ सय रुपैयाँ सेवा शुल्क लिने गर्छिन् । उनले सो सम्बन्धि १५ दिने तालिम क्षेत्रीय पशुसेवा तालिम केन्द्र, पोखराबाट लिएकी हुन् । त्यसैगरी उनले पशु सेवा तालिम तथा प्रसार निर्देशनालय हरिहरभवनबाट चरन तथा पशु आहारा व्यवस्थापन सम्बन्धि एक हप्ते तालिम लिएकी छन् र आफूलाई योग्य एवम् दक्ष पशु सेवा प्राविधिकका रुपमा सबैकाबीच उभ्याएकी छन् ।

कावासोतीमा उनलाई पशुपालकहरुले पशु डाक्टरकै रुपमा चिन्ने गर्छन् तरपनि उनका निम्ति अनेक चुनौतीहरु छन् । गाईमा ७५ प्रतिशत्, भैसी र बाख्रामा ६५ प्रतिशतका दरले कृत्रिम गर्भाधानको सफल दर छ । सतप्रतिशत् कृत्रिम गर्भाधान गराउन र डेलिभरी गराउन नसक्नु पनि आफ्ना लागि चुनौती ठान्छिन् उनी । राष्ट्रिय पशु प्रजनन् केन्द्र, पोखराको सहयोगमा उनले कृत्रिम गर्भाधान सेवालाई पशुपालकहरुका घरदैलामा पुराएकी छन् ।

आफ्नो सेवामा दुःख झेलेकी दिलमाया दिलदार छिन् अनि दमदार पनि । पशुका खुरले छातीमा हानेर पीडा दिएपनि गोठका पशुहरुका सेवा गर्न पाउँदा उनका ओठमा मुस्कान देख्न पाइन्छ । धुस्रो मुस्रो हुनु पर्ने, भने जस्तो सधैं सफलता नमिल्ने र पुरुष भेटेनरी प्राविधिकहरुको तुलनामा महिला हुनुको नाताले कम विश्वास गर्ने परम्परागत चलनले दिलमायाको दिल दुखेर कहिलेकाँही खुम्चिदो रहेछ ।

पशुपालकहरुले फोन गरेर तुरुन्त आउनुस है भनेर खबर गर्दा कहिलेकाँही थालको भात गाँस हाल्न छाडेर पल्सर मोटरसाइकिलमा दौडिनुको सेवाभाव न अक्षरमा न शब्दमा बयान गर्न लायक हुने दिलमायाले बताइन् । पशुहरु ब्याउन नसक्दा, सालनालको उचित व्यवस्थापन हुन नसक्दा र भण्डारा फर्काउने व्यथाले पशुपालकलाई भन्दा आफूलाई बढी पीडा हुने दिलमायाले सुनाइन् ।
छोरा रविन जन्मिएपछि श्रीमान् पनि कतार उडे सन्तानका सुखका लागि । यता दुईजना साना छोराछोरी,उनीहरुका स्याहार सुसार,पठनपाठनको जिम्मा समेत । करिव नौ वर्ष कतार र साउदी गरी अचेल श्रेष्ठ एग्रोभेट सेन्टरमा दुबैजना कम्मर कसेर लागेका छन् । सेन्टर खोलेर सेवा दिन थालेको पनि १२/१३ वर्ष हुन आँट्यो ।

दिलमायाले श्रीमान परदेश हुँदा एक्लै कसरी धानिन् घरपरिवार र आफ्नो व्यवसाय ? यतिबेला छोरीले भरतपुर पोलिटेक्निकल सेन्टरमा बिबिएस्सी एण्ड एएचको तेस्रो सेमेष्टर पढ्दैछिन् । भविष्यमा भेटेनरी डाक्टरको दौरानमा छिन् । छोरा रविनले भरतपुरमै कक्षा ११ पढ्दैछन् । श्रीमानलाई समेत सामुदायिक पशु सेवा कार्यकर्ताको ६ महिने तालिम दिलाएर आफ्नो सारथि बनाएकी छन् ।

पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय,गण्डकी प्रदेश,पशु सेवा विभाग, ललितपुर, पशु सेवा तालिम तथा प्रसार निर्देशनालय, ललितपुरबाट विभिन्न समयमा सम्मान प्राप्त गरेकी छन् । ती सम्मानहरुले उनको काममा उर्जा थपेको छ । जाँगरमा उकेरा लगाएको छ । कामप्रति निष्ठावान बनाएको छ र सबैका बीच दिलमाया भनी परिचित गराएको छ ।

एग्रोभेटबाट औषधी-पानी, बीउबिजन विक्रीवितरण र पशु सेवा वापत वार्षिक ३५ लाख बढी आम्दानी गर्ने र १० लाख बढी शुद्ध वचत गर्ने उनले बताइन् । भविष्यमा दिलमायाले छोरीको सहयोगमा पशुहरुको मात्र सेवा होइन पोल्ट्री सम्बन्धि सेवा दिने, आफ्नो एग्रोभेट सेन्टरको सेवालाई बिस्तार गरी शाखा खोल्ने र आफू थप योग्य र दक्ष बन्ने संकल्प बोकेकी छन् ।

पछिल्लो अपडेट