ताजा अपडेट »

नेपाली सेनाको ‘एकीकरण पदमार्ग’ प्रवर्द्धन योजना

सोमबार, २४ फागुन २०७७, १५ : ३२
12 Shares

नेपाली सेनाले नेपाल एकीकरणका दौरान यहाँ अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोको प्रवर्द्धन गरी ‘ ट्रेकिङ’ ट्रेलका रुपमा विकसित गर्ने योजना बनाएको छ ।

यसका लागि छवटा पदमार्ग पहिचान गरिएको छ । धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले विसं १८०३ देखि १८२० सम्म काठमाण्डौं र काभ्रेपलाञ्चोक जिल्ला एकीकरण अभियानमा प्रयोग गरिएका विभिन्न पदमार्ग पहिचान गरी पदयात्रा कार्यक्रमको आयोजनासमेत गरेको छ ।

गत साल धुलिखेलस्थित तत्कालीन विष्णुदल गणको ‘भ्रमण वर्ष–२०२०’ लक्षित ‘यूनिफिकेशन ट्रेकिङ ट्रेलका प्रवर्द्धन योजना तथा पदयात्रा कार्यक्रम कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण रोकिएको थियो । विष्णुदल गणले एकीकरण पदमार्ग पहिचान संरक्षण, सम्वद्र्धन र सैनिक इतिहास प्रवर्द्धन गर्ने उद्देश्यले छवटा पदमार्ग पहिचान गरेको थियो । विष्णुदल गण रसुवा र कालीजङ्ग गण धुलिखेल सरुवा भएपछि कालीजङ्ग गणले उक्त योजनालाई पूर्णता दिन थालेको हो । यही फागुन २० गते एकीकण पदमार्ग पदयात्रा कार्यक्रमको आयोजना गरिएको कालीजङ्ग गणका प्रमुख सेनानी मिलन थापाले जानकारी दिए ।

थापाका अनुसार पहिचान भएका छ पदमार्गमध्ये १८२० कात्तिक १० गते धुलिखेल विजयपश्चात् चौकोट–शारदाकोट–गोरखनाथहुँदै सोही कात्तिक ११ गते पनौती कब्जा गर्न प्रयोग गरिएको मार्गमा पदयात्रा गरिनेछ । उक्त १० किलोमिटर लम्बाइको पदमार्गमा गणले एक दिनको पदयात्रा कार्यक्रम तालिका बनाएको छ ।

काभ्रेपलाञ्चोक एकीकरणका दौरान तत्कालीन अवस्थामा प्रयोग गरिएका पदमार्ग, कोट, धार्मिक तथा पुरातात्विक महत्वका मठमन्दिर र ऐतिहासिक कलासंस्कृति झल्कने स्थानलाई योजनामा समेटिएको गणपति थापाले जानकारी दिए ।

विभिन्न अभिलेखअनुसार सेनाद्वारा पहिचान गरिएका अन्य पदमार्गमा १८०३ मा नगरकोट कब्जा गरेपश्चात् १८१६ मा नगरकोट–अनेकोट–लामीडाँडाहुँदै पलाञ्चोक कब्जा गर्न प्रयोग भएका बाटो, १८१८ मा पलाञ्चोक विजयपश्चात् भमरकोट–काभ्रेकोटसमेत विजय गरी सोही असार ३० गते चौकोटमाथि हमला गर्दा प्रयोग भएको बाटो, चौकोट विजयपश्चात् फस्कोट–फूलबारीकोट–बुचाकोट–मेथिनकोट कब्जा गरी १८१९ असोज २ गते तेमालकोट कब्जा गर्न प्रयोग गरिएको बाटो, तेमालकोट विजयपश्चात् १८२० कात्तिक १० गते धुवाँकोट–दाप्चा–नमोबुद्ध–फस्कोटहुँदै पुनः चौकोट विजय र सोही दिन कोटखेल हुँदै धुलिखेल विजय गर्दा प्रयोग भएको बाटो र धुलिखेलबाट गोसाईंस्थान–नालाकोट–साँगा हुँदै बनेपार पनौतीबाट नागीडाँडा–साँगा हुँदै बनेपा आउन प्रयोग गरिएका बाटो रहेका छन् ।

ट्रेकिङ ट्रेल ’ बनिसकेपछि ऐतिहासिक एवं कला झल्काउने स्थानलाई विश्वमा चिनाउन मद्दत पुग्ने विश्वास गरिएको छ । ट्रेकिङ ट्रेल अन्तर्गत शुरुआत स्थल, सङ्केत केन्द्र, मेडिकल, खानेपानी, शौचालयजस्ता भौतिक संरचना धुलिखेल र पनौती नगरपालिकाभित्र बन्ने भएकाले ती दुई स्थानीय तहले निर्माणमा सहयोग गर्नेछन् । गणपति थापाले भने , “यही फागुन २९ गते उक्त ट्रेकिङ ट्रेलमा विभिन्न निकायका व्यक्तिलाई अवलोकन गराइनेछ ।” उनका अनुसार गणले उक्त दिन प्रधानसेनापति पूणचन्द्र थापालगायत विभिन्न निकाय र नागरिक समाजका गरी ५०० व्यक्तिलाई पदयात्रामा सहभागी गराउने योजना बनाएको छ ।

पर्यटकीय नगरी धुलिखेल र ऐतिहासिक एवं धार्मिक नगरी पनौती नगरपालिकाले समन्वय गरी ट्रेकिङ ट्रेललाई स्थापित गर्न सरोकारवालाबीच विभिन्न चरणमा छलफलसमेत भएका छन् ।ट्रेकिङ ट्रेल निर्माणपछि स्थानीय तह, होटल एशोसियसन नेपाल तथा उद्योग वाणिज्य सङ्घलगायत सामाजिक संस्थाले त्यसलाई स्वदेशी एवं विदेशी पर्यटकका लागि ‘पर्यटकीय रुट’का रुपमा समेत विकसित गर्न सुझाइएको छ ।

रासस
लेखकको बारेमा
रासस