ताजा अपडेट »

लोकतन्त्र सुदृढ बनाउन कांग्रेस सधैँ लाग्छ : सभापति देउवा

विहीबार, १३ फागुन २०७७, १२ : २९
6 Shares

काठमाडौँ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र सुदृढ बनाउन कांग्रेस सधै लाग्ने बताउएका छन् ।कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिको ९९औँ जन्मजयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले बुधबार आयोजित ‘अहिंसा र शान्ति : आजको सन्दर्भ’ विषयक विचार गोष्ठीमा उनले लोकतन्त्रलाई सुदृढ बनाउने बाटो अदालतले खोलिदिएको बताएका छन् ।

“संसद् पुनःस्थापना गर्ने अदालतको आदेशले न्याय र प्रजातन्त्रको जीत भएको छ”, सभापति देउवाले भने ।पूर्वप्रधानमन्त्री देउवाले अदालतप्रति विचाराधीन मुद्दामा कांग्रेसले यो गर वा ऊ गर भनेर भन्न नमिल्ने भएकाले कांग्रेस चुप लागेर बसेको स्पष्ट पारे । कांग्रेस संसदीय व्यवस्था र प्रजातन्त्रका लागि लडेको पार्टी भएकाले संसद् पुनःस्थापनाले कांग्रेस खुशी रहेको उनको भनाइ छ ।सभापति देउवाले पार्टीको १४औँ महाधिवेशन भदौमा सम्पन्न हुने उल्लेख गरे । उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा निधिको महत्वपूर्ण भूमिका रहेको बताए ।

विश्वभर निधिको विचार लागू हुँदै गएको सभापति देउवाको भनाइ थियो ।कांग्रेस उपसभापति विमलेन्द्र निधिले पुनःस्थापित संसद्मा कांग्रेसले जिम्मेवारपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले अदालतको निर्णय कांग्रेसले स्वीकार गर्ने बताउँदै अदालतको आदेशसँगै वर्तमान प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उल्लेख गरे । संसदीय प्रक्रिया अहिंसा र शान्तिपूर्ण बाटो भएको उनको भनाइ थियो ।कांग्रेस केन्द्रीय सदस्य एवं सहकारी विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गानाले सादा जीवन उच्च विचारका व्यक्ति निधि भएको भन्दै निधिको आदर्श र सिद्धान्तबाट कांग्रेसले पाठ सिक्नुपर्ने बताए ।

अहिंसाबाट गरेको आन्दोलन सफल हुने धारणा राख्ने निधि गान्धीवादी नेता भएको उनको भनाइ थियो । प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालले कांग्रेसले अहिले सत्ताको लोभ गर्न नहुने धारणा राखे ।सो अवसरमा पूर्वमन्त्री तीर्थराम डङ्गोल, कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेल, प्रा डा आनन्दप्रसाद आचार्यलगायतले मुलुकको विकासका लागि शान्ति र अहिंसाको बाटो उपयुक्त हुने बताएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।