ताजा अपडेट »

भारतले दिने कोरोना खोप आज आइपुग्ने

विहीबार, ०८ माघ २०७७, ०६ : ५८
8 Shares

काठमाडौँ । भारतले अनुदानका रुपमा दिन लागेको कोरोनाविरुद्धको १० लाख डोज खोप बिहीबार नेपाल आइपुग्ने भएको छ । यो जानकारी बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले दिएका हुन् । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार खोप इन्डियन एयरलाइन्सको विमानमार्फत ल्याइँदैछ ।

स्वास्थ्य मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले खोप ल्याउन प्रशासनिक, कानुनी, प्राविधिक तथा आर्थिक कुनै पनि अवरोध बाँकी नरहेको बताए । स्वास्थ्य मन्त्रालयका अनुसार अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्नेलगायतको जनशक्तिलाई अर्को सातादेखि खोप दिन सुरु गरिनेछ ।

नेपालले कुल जनसंख्याको ७२ प्रतिशतलाई कोरोनाविरुद्धको खोप दिने लक्ष्य लिएको छ । आवश्यक थप खोप खरिदका लागि भारतको सहयोग महत्वपूर्ण रहने अपेक्षा लिएको मन्त्री त्रिपाठीले बताए । सो अवसरमा भारतीय राजदूत क्वात्राले कोभिड १९ महामारीको प्रभाव विश्व अर्थतन्त्रदेखि सामाजिक जीवनमा समेत परेको बताए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।