ताजा अपडेट »

नमुना बन्न सफल सन्ध्या

आइतबार, ०४ माघ २०७७, १७ : ३०
10 Shares

महिलाहरू परम्परागत सामाजिक सांस्कृतिक विभेद र मूल्य, मान्यताका कारण आज पनि प्रताडित छन्। आजको युगमा पनि राज्य, समाज एवम् परिवारबाटै पनि महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको पाइँदैन। समान योग्यता, समान आम्दानी र क्षमता भए पनि पेशागत महिलाले अझै पेशागत मर्यादा र स्वतन्त्रता प्राप्त गर्न नसकेको अवस्था छ। यस्तै सामाजिक परिस्थितिलाई धावा बोल्दै आजको समाजमा महिलाहरु पनि कुनैपनि बिधामा पुरुषभन्दा कमजोर नरहेको पुष्टि गर्ने नमुना महिला हुन, सन्ध्या श्रेष्ठ ।

आफ्नो बढेको वजन घटाउने चाहानामा जिम पुगेकी सन्ध्या श्रेष्ठलाई थाहा थिएन एकदिन यही खेलबाट उनले चर्चा शिखरमा पुग्नेछ भनेर । इश्वर र बिना श्रेष्ठकि सुपुत्रीका रुपमा सन्ध्या श्रेष्ठको जन्म वि स २०४५ सालमा पोखरामा भएको थियोे । शारीरिक हिसाबले उनको बजन बढेर ८५ केजी भए पछि उनमा स्वास्थ्यमा समस्या देखिन थाल्यो । चिकित्सकको सल्लाह अनुसार उनी २०७२ सालतिर व्यायाम गर्ने शुरु गरिन् । काठमाडौ स्थित सेप्स जिम जान थालिन् । शारीरिक सुगठनका अन्तर्राष्ट्रिय खेलाडी विजत्तम रत्न वज्राचार्यलेबाट व्यायाम प्रशिक्षण लिन थाले पछि सन्ध्या क्रमशः दुब्लाउन थालिन् ।

जिम प्रतिको उनको उत्साह दिनप्रतिदिन बढ्न थाल्यो । त्यही बेला नेपालमा पहिलो पटक काठमाडौं जिल्ला शारीरिक सुगठन संघको आयोजनामा प्रथम मिष्टर काठमाडौं शारीरिक सुगठन तथा महिला फिजिक्स प्रतियोगिताको आयोजना हुने भयो । प्रशिक्षक बिजत्तम सन्ध्यालाई सो प्रतियोगितामा सहभागी गराउन चाहन्थे । तर सन्ध्या प्रतियोगितामा प्रतियोगिहरु लगाउनु पर्ने छोटा पहिरनका कारण परिवार र सामाजले गलत हिसाबले हेर्ला कि भन्ने ठुलो त्रासमा थिइन् । अन्त्यमा उनले निकै साहस बटुलेर सहभागी हुने निधो गरिन् । प्रतियोगिता सम्पन्न भयो, अरु प्रतियोगीहरुलाइ पछि पर्दै उनी उपबिजेता बन्न सफल भइन् ।

सन् २०१६ ज्याश्मिन क्लबले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरेको अन्तरक्लब स्क्वेट् च्याम्पियनसिपमा सहभागी भएर उनले कास्यँ पदक जित्न सफल भइन् । त्यही वर्ष आयोजना भएको दोश्रो मिष्टर काठमाडौंमा वुमेन फिजिक्स तर्फ कास्यँ पदक हात पारिन् । सन् २०१७ ज्याश्मिन क्लबको आयोजना भएको अन्तरक्लब स्क्वेट् च्याम्पियनसिपमा सहभागी हुदै सबै प्रतियोगीलाइ उछिनेर उपाधि विजेता बन्न सफल भइन् । उनी आफ्नो खेलयात्रामा प्राप्त सफलताहरुको श्रेय आफ्ना प्रशिक्षकलाई दिदै भन्छिन् , विजय गुरु कै प्रेरणा र हौसलालबाट म अगाडि बढ्न सफल भएकि हुँ ।

पहिलो प्रतियोगितामा सहभागीताका लागि झन्डै मैले २० केजी भन्दा बढी बजन घटाएर ६५ केजी पुर्याएकी थिए । प्रतियोगिताको तयारीका क्रममा नुन समेत खान छाड्नु पर्दा हरेश नै खाइसकेकी थिए तर प्रतियोगितामा पाएको सफलता मलाई झन् यस खेलमा निरन्तरता दिन उर्जा थपि दिएको थियोे । सन्ध्याले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त संस्थाबाट पर्सनल फिटनेस ट्रेनरको समेत तालिम समेत लिएकी छिन् । हाल उनी सेप्स जिममा नै ट्रेनरका रुपमा अरु खेलाडीहरु पनि फिटनेस सम्बन्धि ज्ञानहरु दिने गरेकी छिन् ।

https://www.globalaawaj.com/archives/73455
सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार