ताजा अपडेट »

रुकुम–पूर्वको सिस्ने जिल्लाकै पहिलो पूर्ण खोपयुक्त

शुक्रबार, ३० असोज २०७७, ०७ : ४५
2 Shares

रुकुम–पूर्वको सिस्ने गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिका भित्रका सबै वडा र बस्तीका बालबालिकाले नियमित खोप पाएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

स्वास्थ्य कार्यालय रुकुम (पूर्व) र सिस्ने गाउँपालिकाको समन्वयमा औपचारिक कार्यक्रमको आयोजना गर्दै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । प्रतिनिधिसभाका सदस्य कमला रोकाले बिहीबार प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्दै पूर्ण खोप सुनिश्चित घोषणा गरे ।

गाउँपालिका अन्तर्गतको स्वास्थ्य संस्था र स्वास्थ्य कार्यालय रुकुम (पूर्व)को सक्रियता र सरकारको लक्ष्य र लगानीमा गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा भएको भन्दै सहयोग गर्ने सबै सम्बन्धित पक्षलाई सांसद रोकाले धन्यवाद दिए ।

अहिले जिल्लाका सबै बालबालिकाले नियमित खोप पाएका छन् । पछिल्लो समय अभिभावकमा पनि नियमीत खोपका लागि आफ्ना बालबालिकालाई स्वास्थ्य संस्थामै पुर्याउनुपर्छ भन्ने चेतनाको विकास हुदै गएको सांसद रोकाको भनाइ छ ।

यसैगरी गाउँपालिका स्वास्थ्य शाखाका संयोजक सुरेन्द्रप्रसाद यादवले गाउँपालिकामा बालबालिका जन्मेदेखि १५ महिनासम्मका ५२१ जना र १६ देखि २३ महिना सम्मका २९२ जना बालबालिकालाई पूर्णखोप प्रदान गरिएपछि गाउँपालिका पूर्ण खोप घोषणा गर्न सफल भएको बताए । गाउँपालिकामा पाँच स्वास्थ्य चौकी ६ सामुदायिक स्वास्थ्य इकाइ गरी ११ वटा स्वास्थ्य संस्थाबाट बालबालिकालाई नियमित खोप लगाउँदै आइएको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।