ताजा अपडेट »

बाह्रौ धर्मश्री विजेता (२०६८) : लोकेन्द्र परियार

बुधबार, २८ असोज २०७७, २० : ००
10 Shares

लोकेन्द्र परियारको जन्म लाहुरे परिवारमा हङकङमा भएको थियो । तथापी उनको मुल थाकथलो गोर्खा जिल्ला हो । उनका बुवा गोर्खा रेजिमेन्ट सेनामा जागिरे थिए । लोकेन्द्र युवा अवस्थामा सारै कमजोर र पातलो थिए । हङकङमा रहँदा एउटै कोठामा बस्ने दाजुहरुले डम्बेल उचालेर जिम गरेको देखेपछि उनलाई पनि रहर जाग्यो ।

दाजुहरु अनुपस्थितीमा पनि उनले डम्वेल उचाल्न शुरु गरे । पछि दाजुहरुको पछि लागेर उनी पनि जिम जान थाले । उनको पहिलो प्रतियोगिता सन् २००८ मा हङकङमा भएको मिष्ट्रर हङकङमा नेपाल शारीरिक सुगठन प्रतियोगिता थियो । जसमा उनले उपाधि कब्जा गर्न सफल भएका थिए । सोही प्रतियोगिताको २०१० र २०११ को संस्करणमा पनि उनी सहभागि भएर उपविजेता बन्न सफल भए ।

प्रतियोगिता लगातार जितेपछि हङकङमा रहेका नेपालीहरु बीच एकाएक उनको चर्चा चुलिएको थियो । उनलाई धेरै साथीभाइले नेपालमा हुने शारीरिक सुगठन प्रतियोगितामा सहभागि हुन सुझव दिए । उनलाई आफ्नो मातृभुमीमा आएर शारीरिक सुगठन प्रतियोगिता खेल्ने ठुलो रहर थियो । उनी वि.सं. २०६८ सालमा नेपालको पहिलो व्यायामशाला नेपाल व्यायाम मन्दिरद्वारा आयोजित बाह्रौ धर्म श्री खुल्ला राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगितामा सहभागी हुने अवसर पाए ।

७५ केजी तौल भन्दा माथिको समुहबाट खेलेका लोकेन्द्रले आफ्नो समुहमा स्वर्ण पदक विजेता बन्दै अन्तिम प्रतिस्पर्धामा उपाधि कब्जा गर्न सफल भए । विजेता भएका उनले उपाधि सहित नगद पुरस्कार १ लाख ५० हजार हात पारे । ६५ केजीबाट अन्तिम चरणमा सहभागी बनेका श्याम श्रेष्ठले उपविजेता हुदै ७५ हजार तथा ६० के जी मा सचित प्रधानले तृतिय हुदै ५० हजार नगद प्राप्त गरेका थिए ।

उनले पुनः २०७१ मा भएको तेह्रौ धर्म श्री खुल्ला राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगितामा सहभागी भएका थिए । तर यस पटक भने ७५ केजी तौल भन्दा माथिको समुहबाट खेलेका लोकेन्द्रले आफ्नो समुहमा दोश्रो स्थानमा चित्त बुझाए । उनले सन् २०१३ मा हङकङमा हङकङ नेपाल बडीबिल्डिंग फाउण्डेशन स्थापना गरे । उक्त संस्थालाइ IFBB अन्तर्राष्ट्रिय बडीबिल्डिंग एण्ड फिटनेसको महासंघको सदस्यता लिए । परियारले अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको अन्तर्राष्ट्रिय निर्णायक लाइसेन्स पनि लिए ।

नेपालमा अन्तर्राष्ट्रिय शारीरिक सुगठन महासंघ IFBB आवद्ध नेपालीज फेडरेसन अफ बडिबिल्डिङ एन्ड फिटनेश NFBF संस्थाको संस्थापकहरु मध्ये उनी पनि एक हुन् । सो संघ मार्फत शारीरिक सुगठन खेलमा नै आफ्नो भविष्य देख्ने नेपाली खेलाडीहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउने प्लेटफर्म दिन सक्रियतापूर्वक लागिरहेको सो संघका महासचिव अजय बज्राचार्य बताउँछन् । अजयले भन्छन्, “परियार एक जुझारु सशक्त भिजन लिएका शारीरिक सुगठन खेलमा केहि गरौं भन्ने भावना राख्ने व्यक्ति हुन् ।"

लोकेन्द्रका विचारमा शारीरिक सुगठन आम मानिसका लागि मात्र होइन हरेक खेल खेलका खेलाडीहरु लागि समेत शारीरिक क्षमता बढाउने सहयोगी सिद्ध हुन्छ । आजका नयाँ पिढीहरुव्यस्त जीवनशैलीमा रमाऊन तर उनीहरु आफ्नो स्वास्थ्य प्रति समेत सचेत हुन जरुरी छ । शारीरिक खेलको विकास र विस्तारमा सरकारी क्षेत्र उदासिन रहेको उनको बुझाई छ । पछि परिरहेको शारीरिक सुगठन खेल क्षेत्रमा समेत खुट्टा तान्ने प्रवृत्ति हावी रहेको देख्दा उनी सारै दुखित छन्।

(लोकेन्द्र परियारसँग सम्पर्क हुन नसकेपछि विभिन्न पत्रिकामा प्रकाशित लेखहरु र युट्यूबमा भेटिएका भिडियोहरुका आधारमा तयार गरिएको सामाग्री)

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार