ताजा अपडेट »

संक्रमणसँगै संकटमा मानवता

मंगलबार, २३ भदौ २०७७, १९ : ३०
6 Shares

बन्दाबन्दी, निषेधाज्ञा र उच्च सतर्कताले कोरोना भाइरस (कोभिड–१९) लाई जित्न सक्नु पर्ने तर, तथ्यांकले थप चूनौतीपूर्ण देखाइरहेको छ । यस्तो महामारीको समयमा पनि हामी आफ्नो दायित्वबाट चुकिरहेका छौं कि जस्तो छ । राज्यका नीति नियम र जनताका सरोकारको बेवास्ता गर्दै नागरिकले राज्य र राज्यले नागरिकको दमन गर्नमा तल्लीन छौं । प्रहरीले नागरिकका अत्यावश्यक कार्यमा पनि अवरोध गर्ने तर, पहुँचवालासँग सहकार्य गर्ने र नागरिकले ज्यान जोखिममा राखेर नागरिककै सुरक्षामा खटिएका सुरक्षाकर्मीरस्वास्थकर्मी माथी जाइलाग्ने र द्रुव्यबहार गर्ने कार्यले कतै मानवता संकुचित भएकै हो कि? राज्य र नागरिक बीच नङ्ग र मासुको सम्बन्ध हुनुपर्छ । संकटको बेलामा राज्य नै नागरिकको मूल अभिभावक हो । अहिलेको संकटमा राज्य र नागरिक बीच परस्पर सहकार्य हुनुपर्छ ।

राज्यले नागरिक र नागरिकले राज्यलाई दोषारोपण गर्दै आ–आफ्नो दायित्व वहन गर्नमा आनाकानी गरेको जस्तो देखिदा हामीमा रहेको मानवता विचलित भएको हो कि ! महामारीको बेलामा कालोबजारीको मौका छोप्नेहरूले व्यवसायिक जिम्मेवारिता बहन गर्नु पर्दैन,कर्मचारीलाई गाली गरे पुग्छ ? राज्यका उपल्लो दर्जामा रहेकाहरूले निरन्तर सेवा सुविधा उपभोग गर्ने तर, मध्यम र निम्न बर्गका घरमा चूलो बल्न र निद्रा आउन छाडेको बारे राज्यले बेवास्ता गर्दै जाने हो भने मानवता त रहँदैन–रहँदैन मानव जीवन समेत जोखिममा पर्ने अवस्था छ । कोरोनाको डरले भन्दा पनि भोक र आर्थीक ब्यबहारको कारणले आत्महत्याका घटना बढेका छन् ।

भर्खरै काठमाण्डौंमा एक मिर्गौला पिडित महिलाले दुखाई कम गर्ने सामान्य दबाइ किनेर खान नसक्ने अवस्थामा बाँच्नकै लागि सावधानी अपनाएर फलफूल बेच्न राख्दा प्रहरीले पिसाब नै फेर्नेगरी चोट प्रहार गरेको घटना सेलाएको छैन । राज्यले अभिभावकत्व ग्रहण गर्ने कहिले ? के गरिखाने बर्गको जीवन अस्तित्वसँग राज्यको कुनै जिम्मेवारी छैन ? यति संवेदनशिल विषयमा राज्यको किन उदासिनता ? देशका विभिन्न स्थानमा स्थानीय व्यक्तिहरूको अगुवाइमा ‘हुनेले दिएर, नहुनेले लिएर जाउँ’ भन्ने खाद्य सामग्री वितरण र असाहय बिरामीलाई निःशुल्क उपचार गर्ने अभियानले मानवता जिवितै छ भन्ने आभाष गर्न सकिन्छ । ढिलो चाँडो कोरोना (कोभिड–१९) बाट बाँच्न सकिएला तर, हामीले नै खतरामा पारेको मानवता सजिलै फर्किने अवस्थामा छैन ।

सबैभन्दा ठूलो धर्म मानवता हो यस्ले सम्पूर्ण मानव जातिकै कल्याण गर्छ । कोरोना पछि पनि हामीलाई एक अर्काको सहयोग चाहिन्छ । त्यसैले मिलिजुली कोरोनालाई नियन्त्रण गरौं । मानवताविरोधी कार्य बन्द गरौं । रोगसँग लडेर मृत्युको मुखबाट फर्केका हरूलाइ हामीले गर्ने व्यबहार मानवतावादी हो? यिनिहरू हाम्रै आफन्त र शुभचिन्तक होइनन् र ? यिनिहरूलाई सामाजिकिकरण गराउने जिम्मेवारी हाम्रो होइन? राज्य र नागरिकबीच उच्चस्तरको सहकार्य, नागरिक-नागरिक बीच आपसी तालमेल र सहयोग को आदानप्रदानबाट नै हामिले वर्तमान सन्कटबाट मुक्ति पाउनेछौं । कोही पनि रहरले संक्रमित भएको हुँदैन , उनिहरुलाई घृणा अपमानित नगरौं । आपसी तिक्तता त्यागौं , वैरभाव मनैदेखि हटाऔं, हुनेले नहुनेलाई सहयोग गरौं,हाम्रो भातृत्व बचाऔं । हाम्रो मानवतालाई अझ कसिलो गराऔं ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।