ताजा अपडेट »

रोल्पामा कोरोना संक्रमित शून्य

बुधबार, १७ भदौ २०७७, १५ : ०३
6 Shares

रोल्पा । रोल्पामा कोरोना सङ्क्रमित शून्य भएको छ । देशैभर कोरोना सङ्क्रमित समुदायस्तरमै बढिरहेका बेला रोल्पामा भने कोरोनाको सक्रिय सङ्क्रमित सङ्ख्या शून्यमा झरेको छ । पछिल्लोपटक अस्थायी आइसोलेशन केन्द्रमा बस्दैआएका तीन जना घर फिर्ता भएसँगै जिल्लामा सक्रिय सङ्क्रमित सङ्ख्या शून्य भएको हो ।

जिल्लामा हालसम्म देखापरेका सङ्क्रमित ८३ मध्ये ७८ जना कोरोना जितेर आइसोलेशनबाट फिर्ता भइसकेका छन् । सङ्क्रमितमध्येका अन्य पाँच सङ्क्रमित भने अन्य जिल्लाका रहेकाले हाल जिल्ला जनस्वास्थ्यको सम्पर्कमै नरहेको जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाका प्रमुख अनिल केसी बताउँछन् । उनीहरुको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिए पनि अझैसम्म जिल्लाको आइसोलेशनमा आइनपुगेकाले जिल्लाको कोरोनाको सक्रिय सङ्क्रमित सङ्ख्या शून्य देखिएको हो । क्वारेन्टिनमा बसेका बखत आत्महत्या गरेका एक जनाको रिपोर्ट पोजेटिभ देखिएका कारण जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक देखिएको छ ।

जिल्ला कोरोनामुक्त भन्न नमिल्ने र जिल्लाको क्षेत्रभित्र कोरोना पोजेटिभ नभए पनि जिल्ला बाहिर रहेका रोल्पाली कोरोना सङ्क्रमित हुन सक्ने भएकाले कोरोनामुक्त नभई कोरोना शून्य भएको अवस्था भन्न सकिने प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले बताए । “स्वाब परीक्षणका लागि केही नमूना पठाइएको हुँदा त्यसको पोजेटिभ रिपोर्ट आउनसक्ने सम्भावनालाई नकार्न सकिँदैन”, प्रजिअ रानाले भने ।

कोरोना सक्रिय सङ्क्रमितका लागि जिल्लामा ७८ श्ययाको आइसोलेशन केन्द्र स्थापना गरी सेवा प्रवाह भइरहेको छ । जलजला बहुमुखी क्याम्पसमा रहेको सो आइसोलेशन सञ्चालनका लागि जिल्लाका दशवटै स्थानीय तह र प्रदेश सरकारका साथै सर्वसाधारणले समेत आर्थिक भौतिक सहयोग गरेका थिए । जिल्ला कोराना शून्य रहे पनि सरकारको निर्देशन नहुँदासम्म आइसोलेशन केन्द्र कायमै रहने स्थानीय प्रशासनको भनाइ छ ।

भारत तथा अन्य मुलुकका साथै देशको विभिन्न जिल्लाबाटसमेत रोल्पा आवतजावत भइरहेको हँुदा जुनसुकै बेला कोरोना सङ्क्रमित देखिन सक्छन् । गत जेठ १ गतेदेखि हालसम्म भारतबाट दुई हजार ३७९ र तेस्रो मुलुकबाट २६१ जना रोल्पा भित्रिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । यसरी भित्रनेमध्ये सबैभन्दा धेरै सुनिल स्मृति गाउँपालिकामा ७४७ जना भारतबाट र पाँच जना तेस्रो मुलुकबाट छन् भने सबभन्दा कम थवाड गाउँपालिकामा भारतबाट २० र तेस्रो मुलुकबाट २४ जना छन् । जिल्लामा हालसम्म दुई हजार ४८१ जनाको स्वाब सङ्कलन गरिएकामा दुई हजार ४०८ जनाको स्वाब परीक्षण गरिएको छ । हाल जिल्लाका विभिन्न स्थानमा ९७ श्ययासहितको २२ स्थानमा क्वारेन्टिन छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।