ताजा अपडेट »

विवाह : विधान वा बन्धन ?

आइतबार, १४ भदौ २०७७, २१ : ००
148 Shares

विवाहलाई एउटा सामाजिक संस्कारको रुपमा लिइन्छ । उमेर पुगेका युवा युवतीलाई एक आपसमा जुटाई उनीहरुको बीचमा विधिविधान अनुसार वैवाहिक सम्बन्ध स्थापित गराइन्छ। विगतमा बालविवाह, बहुविवाह, अनमेल विवाह, समेतका प्रचलन भएपनि वर्तमान समयमा कानूनले यी सबै विवाहलाई बर्जित गरेको छ र २० वर्ष उमेर पुगेका युवा युवती मात्रै कानून बमोजिम वैवाहिक सम्बन्ध स्थापित गर्न योग्य हुन्छ्न भनी स्पष्ट व्यवस्था गरिदिएको छ।

विवाह पश्चात् पारिवारिक मामिलामा श्रीमान श्रीमतीको समान हैसियत हुने कुरा संविधानमै उल्लेख छ। तर, कति दम्पतीले घरायसी व्यवहार, आपसी सहमती र समझदारी गर्दछ्न त यसलाई यकिन गर्न सकिएको छैन । पुरुष प्रधान समाजले नारीलाई सधैं हेय र असक्षम दृष्टिले हेर्ने गरेका पर्याप्त उदाहरण हामी माझ नभएका हैनन् । यसो भन्दैगर्दा मैले सबै पुरुषहरु एउटै व्यवहार गर्नुहुन्छ भन्न खोजेको होइन तर वहुमतमा आएको कुराले अल्पमतलाई सधैं दबाएर नै राख्ने रहेछ।

एउटा विवाहित सक्षम नारी आफ्नो स्वविवेकले कुनै काम गर्न सक्दिनन् । उनलाई सधैं आफ्नो औकातमा रहन सिकाइन्छ । कुनै प्रतिकार गरी अगाडि बढ्न खोज्ने हो भने उनलाई घमण्डी वा फरक आचरण भएकी नारीको उपमा दिइन्छ । पोथी बासेमा अनिष्ट हुन्छ समेत भनेर हेयको दृष्टिले हेरिन्छ। बिहेपछि आफ्नो रहन सहन, बानी, व्यवहार सबै परिवर्तन गर्नुपर्ने हुन्छ । घर परिवार सबैको मन बुझाउनुपर्ने उनको कर्तव्य हुन जान्छ । हरेक समस्याका बावजुद पनि उनी सबैलाई खुसी राख्न तत्पर हुनुपर्छ। तर, उनको इच्छा, चाहाना र भावनाको कदर कसैलाइ पनि हुँदैन । बुझ्दा बुझ्दै पनि अबुझ हुनु र जवाफ हुँदा हुँदै पनि फर्काउन नसक्नु सायद यो भन्दा पिडादायी के हुन सक्ला र एउटा विवाहित नारीको लागि ।

अदृश्य रुपमा महिला हिंसाको शिकार भएतापनि उनको आवाज बाहिर आउन सक्दैन किनकी एउटी छोरीलाई बिहे गरेर जादाका बखत नै यो सिकाइन्छ कि जति सुकै दुख र गाह्रो परिस्थिति परे पनि तिम्रो जिन्दगी जाने घर त्यहि हि अनि पति पनि उहीँ नै हो । यसैले गर्दा अनेकन समस्या आउँदा पनि यहि वाणीलाई याद गर्दै जीवन चलाउनु पर्छ एउटा नारीले । अझ तितो यथार्थ त के हो भने नारीलाई हिंसा र दमन गर्ने अर्को पात्र नारी नै हुने गर्दछिन् । उखान छ नि ‘कहिले सासुको पालो कहिले बुहारीको पालो’ हो यस्तै छ यहाँको चलन।

सृष्टि चलाउने एउटा आधार हो बिहे । तर, बिहेपछि दम्पती बीच आउने आपसी मनमुटावले गर्दा कतिपय वैवाहिक सम्बन्ध आफैँमा असहज बन्दै गइरहेका छन् । फलस्वरूप हत्या, आत्महत्या , सम्बन्ध विच्छेदका घटना पनि दिनानुदिन बढ्दै गएको हामीले देख्न र सुन्न सक्छौं । तर, पतिबाट अलग भएर बसेकी नारीलाई यो समाजले चयनले बाँच्न दिन्छ त ? यहि समाज हो जहाँ एउटा पुरुष ४५/५० वर्षको उमेरमा पत्नीविहिन हुने हो भने उसले अर्को विवाहको लागि २०/२५ वर्षको अविवाहित केटी खोज्दछ र पाउँछ पनि । अर्कोतिर कलिलो उमेरमै पतिविहिन भएर बसेको नारीले अनेकन लाञ्छना सहदै बस्नुपर्ने हुन्छ। त्यसैले त सोध्न मन लाग्छ खै कहाँ छ महिला अनि पुरुषमा समानता ?

२१ औं शताब्दीका आधुनिक महिला हामी । तर, हामी न त परापूर्वकालमा फर्कन सक्यौं, न त आधुनिकता रमाएर बाँच्न नै । वाहिरी आवरणमा हामी आधुनिक देखिएप हामी बाँच्ने यो समाज अझैपनि आदिमकालमा नै छ । महिलालाई सधै हेय दृष्टिले नै हेर्ने गरिन्छ । एउटा नारी सधै एउटा पुरुषको दमनमा नै रहनुपर्छ रे, जन्मिएर बिहे नहुँदासम्म बुबाको , बिहे भएपछी पतिको अनि बुढेसकालमा छोराको । म सानो छँदै मेरो छिमेकी हजुरआमा भन्नुहुन्थ्यो ‘एउटा आइमाईको नमरेसम्म घर हुँदैन रे’ जबकी त्यतिबेला मलाई न त बिहेको बारेमा थाहा थियो न त यो समाजलाई नै राम्ररी बुजेको थिएँ मैले। अहिले सोँच्ने गर्छु, यो वैवाहिक सम्बन्ध दिगो राख्ने भूमिका के नारीको मात्र हुन्छ ?

हामीकहाँ हरेक समस्याको उपचार खोज्ने कानूनी व्यवस्था नभएका हैनन । कानूनी व्यवस्थाको दृष्टिले हेर्दा नेपाल विश्वमै अग्रपंक्तिमा आउने गर्दछ । अन्तराष्ट्रिय स्तरमा सम्पन्न भएका विभिन्न कार्यक्रममा नेपालले पनि आफ्नो तर्फबाट सहभागिता जनाई सोहीअनुरुप आफ्नो देशमा कानून निर्माण र परिमार्जन गर्ने प्रतिवद्धता जनाएको छ । फलस्वरूप लैङ्गिक समानता कायम गर्ने विभिन्न प्रयास पनि भै रहेका छन् ।

विवाहपश्चात् हुने घरेलु हिंसा, वैवाहिक वलत्कार, नारी माथि हुने अन्य कुनै किसिमका हिंसा वा दमन समेतका निन्दनीय र अमानवीय घटना रोक्ने प्रयास हामीकहाँ नभएका होइनन् । तर, कानूनी व्यवस्थाका वावजूद पनि हाम्रो व्यवहारमा सकारात्मक परिवर्तन हुन सकेको भने छैन । नीति बदलिए पनि हाम्रो मनस्थिति भने बदलिन सकेको छैन । यसैले बिहे विधान या बन्धन हो ? बिहे पश्चात् हरेक दम्पतिको मनमा उब्जिने यो प्रश्नको आजसम्म पनि चित्त बुझ्दो उत्तर कहि कतैबाट कसैले पाएको छैन होला सायद। लेखक अधिवक्ता हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।