ताजा अपडेट »

रुकुम (पश्चिम) घटना : ‘जातिय विभेदकै कारण ६ जनाको ज्यान गयो’

शुक्रबार, ३० जेठ २०७७, १४ : ४७
4 Shares

बुटवल । रुकुम (पश्चिम) चौरजहारीको घटना जातीय विभेदबाट सृजित घटना भएकोे प्रतिवेदन सार्वजनिक भएको छ । मानव अधिकार तथा शान्ति समाजको नेतृत्वमा नागरिक तहको मानवअधिकारकर्मी र पत्रकारहरुको एक अध्ययन अनुगमन टोलीले शुक्रबार बुटवलमा प्रतिवेदन सार्वजनिक गर्दै अन्तरजातीय प्रेमलाई परिवारले अस्विकार गरेकै कारण परिवार, जनप्रतिनिधि र सिंगो गाउँ नै आक्रमणमा उत्रेको ठहर गरेको छ ।

जेठ १० गते जाजरकोट भेरी नगरपालिका वडा न. ४ रानागाउँका नवराज विकलाई रुकुम पश्चिम चौरजहारीका सुष्मा मार्फत गाउँमा निम्तो दिई निश्चित व्यक्तिहरुको योजनामा क्रुर र बर्बरतापूर्ण तवरले सामूहिक हत्या भएको र अन्यलाई कुटपिट गरिएको प्रतिवेदनमा उल्लेख छ । आक्रमणबाट नवराज सहित टिकाराम नेपाली, गणेश बुढामगर, लोकेन्द्र सुनार, सञ्जु विक र गोविन्द शाहीको शव भेरी नदीमा क्षतविक्षत अवस्थामा भेटिएको थियो । मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले स्थलगत अध्ययन अवलोकन र अनुगमनबाट प्रशासन, जनप्रतिनिधि, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मी बीच घटनाबारे छलफल अन्तरक्रिया गर्दा, घटना जातीय भेदभाव छुवाछुत जस्तो अमानवीय कुप्रथाबाटै घटेको देखिएको बताए ।

सोती गाउँमा सुष्माकोे घर नजिक पुगेका यूवाहरुलाई देख्नेवित्तिकै आमा प्रकाशी मल्लले जातीय रुपमा अपमान गरी गाली गलौज गरेकी थिईन । त्यसपछि यूवाहरु विनोद मल्लबारे जानकारी लिएर गीत गाउँदै जाजरकोट तर्फ फर्किरहेका बेला घरेलु हतियार सहित ढुंगा मुढा हान्दै चौतर्फी आक्रमण भएको देखिएको खनालले बताए । प्रत्यक्षदर्शी तथा घाईते सुदीप खड्काका अनुसार ज्यान बचाउने कुनै उपाय नभएपछि भेरीमा १० जना हाम फालेका थिए । नवराज र अन्य ५ जनालाई भेरी किनार नपुग्दै कुटपिट गरेको देखिन्छ । प्रहरी नपुगेको भए आफूहरुलाई पनि भिडले मार्ने थियो भन्ने भनाई घाईतेहरुको रहेको प्रतिवेदनमा भनिएको छ ।

लकडाउन उल्लघन गरेर यूवाहरु गाउँ पसेको भन्दै चौरजहारी नपा वडा न. ८ का वडाअध्यक्षले प्रहरीलाई खबर गरेको तर घटनास्थलमा आउदा भने कुटपिट भइरहेको अध्ययन अनुगमन टोलीको भनाई छ । ‘स्थानीय प्रत्यक्षदर्शीका अनुसार निहत्था यूवाहरुमाथि एकोहोरो कुटपिट भएको थियो । त्यतिबेला कुटपिट नगर्न अनुरोध गर्दै चिच्चाउदा पनि गाउँलेहरुले लेख्ेटन छाडेनन् । युवाहरुले कुनै प्रतिवाद गरेको देखिदैन । गाउँलेहरु कोही पनि घाईते भएका छैनन’ प्रतिवेदनमा उल्लेख छ । कुनै प्रतिवाद नगरी घर फर्कन बाटो लागिसकेका यूवाहरुलाई गाउँमा शान्तिपूर्ण रुपमा छलफल गर्न सक्ने आधार हुँदा हुँदै वडाअध्यक्ष जस्तो जिम्मेवार जनप्रतिनिधिको नेतृत्वमा एकतर्फी साघांतिक आक्रमण र हत्या गरी भेरीमा फालेको देखिएको टोलीले जनाएको छ । ‘घटनामा नवराजसँगै गैरदलित समुदायका यूवाहरु गोविन्द शाही र गणेश बुढामगर मगरको समेत क्रुरता पूर्वक हत्या गर्नुमा दलित नवराजलाई साथ दिएको कारण नीजहरुलाई पनि कुटपीट गरीहत्या गरिएको देखिन्छ’ मानवअधिकारकर्मी खनालले बताए ।

आक्रमणकारीले एकोहोरो रुपमा ति यूवाहरुमाथि धारिता हतियार, तिखा ढुंगाहरुले प्रहार गर्दै माथिबाट तल भेरी नदी तर्फ लखेट्दै र आक्रमणकारीले निर्ममता पूर्वक ढुंगाले टाउको, मुखमा हिर्काएको÷थिचेको तथ्यले प्रमाणित गरेको भनिएको छ । घटनाको स्थलगत अध्ययन र अनुगमनले जातीय विभेदबाट सृजित भएर ६ जना यूवाहरुको हत्या हुँदा पनि जनप्रतिनिधि, राजनितिक दल र सचेत तप्का समेत मौन रहनु निकै रहस्यमय देखिएको संविधानसभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले बताए । उनले रुकुम पश्चिमको घटना निकै भयावह र कहालिलाग्दो भएकाले यो मानवता विरुद्धको अपराधका रुपमा कारवाही गर्नुपर्ने बताए । उनले प्रदेश सरकार, सांसद र जनप्रतिनिधिहरुले घटनामा संवेदना समेत दिन चुकेको बताए ।
बरिष्ठ पत्रकार अधिवक्ता बालकृष्ण चापागाइले सोती घटना अन्तरजातीय प्रेमलाई गैरदलित अभिभावकले अस्विकार गरेकै कारण सृजित भएकोमा कुनै शंका नै नरहेको बताए । उनले नवराजलाई साथ दिदा दुई जना गैरदलित यूवाले समेत ज्यान गुमाएकाले ६ जनालाई नै सामाजिक सहिद घोषणा गर्नुपर्ने सुझाव दिए ।

कानुनी सर्वोच्चता, विधिको शासन, न्याय र समानता कायम गरी संविधानमा उल्लेखित मौलीक हकलाइ कार्यान्वयन गर्न तथा घटनाका पिडित परिवारलाई न्याय, राहत, क्षतिपूर्ती र घाईतेहरुको उपचारको सम्पूर्ण प्रवन्ध गर्न सरकारको ध्यानआर्कषण समेत गराएको छ । उक्त अध्ययन अनुगमन टोलीमा एडभोकेसी फोरमका अधिवक्ता शिव गौडेल, बरिष्ठ पत्रकार माधव नेपाल, पत्रकार विनोद परियारको सहभागिता थियो । टोलीले जेठ २३ गतेदेखि २७ गतेसम्म रुकुम (पश्चिम) र जाजरकोटमा पुगेर स्थलगत रुपमा घटनास्थल, पिडित परिवार तथा अन्य सरोकारवालाहरुसँग भेटघाट र तथ्य सूचना संकलन गरि अध्ययन, अनुगमन गरेको थियो । पिडितले जेठ १३ गते जातीय विभेदका कारण हत्या गरिएको अभियोगमा किटानी जाहेरी दिएका छन् । थप अनुसन्धानका लागि सि.आइ.बि र विशेष सरकारी वकिलको कार्यालयबाट एक जना सरकारी वकिल समेत खटाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।