ताजा अपडेट »

‘लकडाउन’ मा महिला हिंसाका उजुरी घट्यो

मंगलबार, ०९ बैशाख २०७७, ०९ : ४१
6 Shares

काठमाडौं । नेपाल प्रहरीमा दर्ता भएका महिला हिंसाका घटनाका आधारमा ‘लकडाउन’ यता महिला हिंसाका घटनामा कमी आएको छ । प्रहरीले घटना नै कम भएको दाबी गरिरहँदा महिला अधिकारका क्षेत्रमा कार्यरतले भने घटना बढेपनि बाहिर आउन नसकेको बताएका छन् ।

पहिले महानगरीय प्रहरी परिसर काठमाडौँमा एक महिनामा सयभन्दा बढी महिला हिंसाका उजुरी आउने गरेकोमा ‘लकडाउन’ पछि झण्डै २० वटा मात्रै उजुरी आएका छन् । यो अवधिमा अरु अपराधका घटनासँगै महिला हिंसाका घटनामा पनि कमी आएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताए । अधिकांश घरेलु हिंसाका कारण मादक पदार्थ भएपनि अहिले ‘लकडाउन’ पछि मदिराको किनबेच कम भएकाले सेवनमा कमी आएको छ । उनले भने, “मदिरा कम भएपछि महिलामाथि हुने हिंसा कम भएको छ ।”

त्यस्तै, पहिले श्रीमान् वा श्रीमान् श्रीमती नै घर बाहिर काममा जाने हुँदा एक अर्काप्रति अविश्वासले पनि झगडा हुने गरेको उनले बताए । ‘लकडाउन’ पछि सबै परिवारसँगै बस्दा पारिवारिक वातावरणमा घर झगडा कम भएका छन् । कोभिड–१९ का त्रासका कारण पनि यी घटनामा कमी आएको उनले बताए । उनले भने, “अहिले सामान्य अवस्थाभन्दा हिंसाका घटना कम भएको छ ।” कोही महिला पीडित नै हुँदा पनि प्रहरी कार्यालयसम्म जान नसकेको हुन सक्ने भन्दै परिसरले तीनलाई लक्षित गरी विशेष व्यवस्था मिलाइएको बताएको छ ।

‘लकडाउन’ को समयमा प्रहरी कार्यालय जान नसकेका पीडित महिलाले मौखिक उजुरी पनि लिइरहेको परिसरले जनाएको छ । प्रहरीले १०० नम्वर वा नजिकैको प्रहरी कार्यालयमा फोन गरेर पनि उजुरी गर्न सक्ने व्यवस्था मिलाएको उनले बताए । पीडित महिलाले यी नम्वरमा फोन गरेपछि प्रहरी आफैँ ती महिलाको घर पुग्ने व्यवस्था मिलाइएको छ । उनले भने, “प्रहरीले घरमा नै पुगेर उजुरी लिन शुरु गरेको छ ।” यो अवधिमा हिंसाका घटना कम नभएपनि ती प्रहरी वा संस्थासम्म पुग्न नसकेको महिला पुर्नस्थापना केन्द्र (ओरेक) की कार्यक्रम संयोजक सञ्जिता तिम्सिनाले बताइन् । नेपालमा धेरै अध्ययनले महिला हिंसाका घटनामा पीडक परिवारकै सदस्य वा छिमेकी भएको देखिएको छ ।

‘लकडाउन’ का समयमा छिमेकीसम्म आउजाउ नभएपनि परिवारका सदस्य घरमै हुँदा हिंसा अझै बढेको हुनसक्ने उनले बताइन् । महिलाले पहिले हिंसा सहन नसकेको अवस्थामा सुरक्षित आवास (सेफ हाउस) मा बसेर पनि मुद्धा अघि बढाएका थिए । उनले भनिन्, “अहिले त्यसो गर्न नसक्ने अवस्था भएकाले पनि उजुरीकै लागि नगएको हुनसक्छ ।”ओरेकले ‘लकडाउन’ को शुरुदेखि नै हटलाइन नम्वर र परामर्शदाताको नम्वर दिएर आवश्यक सुझाव दिइरहेको छ । यी नम्वरमा अहिलेसम्म ८३ जनाले आफ्ना समस्या राखेका छन् । यीमध्ये कतिपय महिला अहिले पनि प्रहरी कार्यालय पुग्न सकेका छैनन् ।

अहिलेको अवस्था हेरेर कतिपय महिला ‘लकडाउन’ पछि नै उजुरी गर्ने योजनामा रहेको उनले बताइन्। सुकुम्वासी वस्तीमा र मजदूर वर्गमा हिंसाका घटना बढीरहेको उनले बताइन् । उनले विश्वका धेरै देशमा हिंसाका घटना बढेका छन्, नेपालको पनि अवस्था त्यस्तै रहेको जानकारी दिइन् । प्रहरीले ‘लकडाउन’ मा समाजमा घटिरहेका अरु अपराधको सम्भावित घटना रोक्ने र घटना भइहालेमा त्यसको अनुसन्धान गरी कारवाही अघि बढाइरहेको छ । ‘लकडाउन’ मा अरु अपराधका घटनामा पनि उत्तिकै ध्यान दिइएको प्रवक्ता बोगटीले बताए। यो अवधिमा अपराधका घटनामा भने ह्वात्तै कमी आएको छ ।

उल्लेखनीय रुपमा आत्महत्याका घटनामा कमी आएको छ । परिसरमा सामान्य अवस्थामा महिनामा ५५ देखि ६० वटासम्म आत्महत्याका घटना भएको देखिन्छ । ‘लकडाउन’ पछिको झण्डै एक महिनामा भने अहिलेसम्म नौ वटा मात्रै आत्महत्याको घटना भएको पाइन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।