ताजा अपडेट »

एउटा गरिबको नेतालाई पत्र

शनिबार, २९ चैत्र २०७६, १७ : १७
18 Shares

आदरणीय समग्र नेतागणहरु,
कोभिड–१९ संक्रमण नहोस् भन्ने कामनासहित नमस्कार !

आज लकडाउन भएको १८ दिन भएछ । मानव समुदायको रक्षाका लागि चालिएको सरकारको यो कदमलाई मैले ठीकै रुपमा लिएको छु । सरकार र सबै नेताहरु हाम्रा अभिभावक हुन् भन्ने बुझेकाले हाम्रो विरुद्ध सरकार वा नेतृत्व जाला भन्ने मैले कहिल्यै कल्पना गर्न सक्दिन । त्यसैले त यत्रादिन घरमा भएको चिज–बस्तु एकछाक खाएर वा भोकै बसेर भएपनि गुनासो गरिन । बिरामी हुँदापनि गाउँ–घरकै जडिबुटी खाएर चित्त बुझाएँ । छर–छिमेककालाई समेत घरभित्रै रहन सम्झाएँ । देशमा रोजगार नपाएर हात–मुख जोड्ने बाध्यतामा मुग्लान पुगेको मेरो कान्छो भाई र उसका परिवार त्यहाँको सरकारले लखेटेका कारण दशगजा पारी भारतमा अलपत्र पर्दा समेत मैले आम मानव भलाइका लागिउ तै रहन आग्रह गरे ।

अब मेरो केही चल्नेवाला छैन । भित्र–बाहिर भएको सबै सकियो । ममाथि आश्रित घरका बाल–बच्चा र बुबा–आमाहरु भोकै पर्न थालिसकेका छन् । उनीहरुले केही विकल्प निस्कला भनेर मेरो मुख हेरेर बसेका छन् । बाहिरी सहयोग बिना आत्महत्या सिवाय अरु उपाए छैन। गोठमा भंैसीले समेत दुध दिन इन्कार गर्न थाल्यो । स्थानीय व्यापारीहरुले वरल (दाना)ख्वाउने बानी बसालिदिएका कारण वरन –दाना) खान नपाएर दुध दिन लगभग छाड्यो । त्यसैले अब भने थेग्न नसक्ने निष्कर्षका साथ कहर कहन थालेको छु । कृपया पक्ष–विपक्ष नठानी वाचन गरेर सुनि–सुनाई दिनुहोला ।

नेताज्यूहरु, तपाईँहरु त म सानै हुँदादेखि देश बनाउने खेलमा लागि पर्नुभएको मैले रेडियो र टि.भि.मार्फत सुन्नपाएको छु । म त दुई बिसे भएँ । बिचरा तपाईँहरु सत्तरीको दशकसम्म युवा नेता भई सत्ता र विपक्षीको रुपमा सक्रिय राजनीतिमा होमिन वाध्य हुनुहुन्छ । २०४६ सालपछि त आफूहरुनै शासनमा आएर अझ कायापलट गर्ने भनी कसम नै खानुभएको थियो । भित्र–भित्रै धेरै गर्नु भएको होला । गराउनु भएको होला । खेल खेल्नु भएको होला । खुसी लाग्छ तपाईँहरुको यत्रो परिश्रम सुन्दा, पढ्दा । गर्वले छाती फुलेर आउँछ असफलताका बावजुद पनि तपाइँहरु अनवरत रुपमा देश बनाउने कुर्चीलाई म्यूजिकल चेयर खेलमा झैँ पालै–पालो बस्ने प्रयास जारी राख्नु भएकोमा । अझ औधी खुसी त यस मानेमा लाग्छ कि,अरुलाई लडाएर भएपनि आफू देश बनाउन सक्ने कार्यकारी कूूर्चीमा टपक्क टाँसिन वलिदानी नै गर्नुहुन्छ । कत्रो महानता ? कत्रो राष्ट्रियताले ओत–प्रोत सोँच ?त्यसैले तपार्इँहरुमा पनि खासै दोष देख्दिन म ।

हिजो चुनावताका राँगा, खसि ढालेर दिनै–पिच्छे भतेर लगाएको सम्झँदा अहिले मुख रसायर आउँछ । त्यतिमात्र हैन पैसा, खाद्यान्न, मासु, रक्सी जस्ता चीजहरु बोकेर हाम्रा घर–घरमा आउनु हुन्थ्यो । एक जनामात्र हैन दिनै–पिच्छे एकपछि अर्को गर्दै । घरमा प्रयाप्त चीज–बीज हुँदापनि बल–जफत उपहार भिराउनु हुन्थ्यो । बाइक हुनेलाई तेलका कुपन भिडाउनु हुन्थ्यो । थाहा छैन हामीले तपाइँलाई सत्तामा पुरायौँ या विपक्षी तथा कि तपाइँले दिएको महङ्गो उपहारको बदलामा चुनावमा निःशुल्क छाप(भोट) भनेकै ठाउँमा दियौँ ।हिजो मरेका बाउ, विदेशमा भएको दाइका नाममा समेत उपहारको बदला भोट हाल्यौँ । ति दिनहरु सम्झँदा तपाईँहरु अहिले पनि हाम्रो भगवान सरह लाग्छ । निःशुल्क भोटका लागि त्यत्रो लाखौँ वा करोडौँसम्म खर्चनु भयो ।

आज अवस्था फरक छ । चुनाव छैन । तथापि हामी हाम्रै भलाइका खातिर गरिएको लकडाउनले आहतमा परेका छौँ । बाँचे भोलि खाउँला भनेर भोक–भोकै समेत दिन काटेका छौँ । भगवान भरोसा रोगले बढारे त सक्किगो । तर,प्राणी भएपछि बाँच्दासम्म खान पर्दोरहेछ । बस्तुभाउलाई पनि खुवाउनु पर्दोरहेछ । यसै सेरोफेरोमा एकथरी आएर छाकै नपुग्ने सामान दिएर घण्टौं फोटा खिचेर हिडे । अर्का भातृ संगठन जस्ता देखिने टोलीले मेरो दैलोतर्फ नहेरी हिँडे । सायद मलाई उनीहरुले उनीहरुको इतर चिन्हमा भोट दिएको ठाने होलान् । निर्वाचन ताका म कसको पक्षमा छु वा भोटनै हाल्छु वा हाल्दिन भन्ने टुङ्गो नलाग्दा र आवश्यक नहुँदा समेत सामानको पोको दिनेहरुलाई यो विपद्का बेला किन मैले चुनावमा दिएको गोप्य मतको चासो बढेको होला? हिजो खान्न भन्दा पनि तुष पर्नेगरी घिँच भन्ने तपाईँहरु आज किन यति क्रुर ?न्यूनतम मानवीय भावनापनि देखिए न तपाईँहरुमा । किन यस्तो भएको हो ?दल, भोट,पक्ष,सत्ता,विपक्षीभन्दा ठूलो मानवता हैन र?

नेता ज्यू, अहिले नाकाहरुमा आफ्नै देशभित्र पस्न भीख मागिरहेका नागरिकलाई ल्याउने त कुरै छैन । उनीहरुको कुरा सुन्न समेत किन तपाइँहरु तयार हुनुहुन्न? आज नाकामा अल्झिएको भाइका परिवारलाई यसअघिको चुनावताका चोरबाटो तय गरी तपाइँहरुले भित्राउनु भएको बिर्सनु भयो । त्यतिमात्र हैन सोही चुनाव ताका विभिन्न शहरबाट (विदेशबाट समेत) पैसा तिर्न सक्ने वर्गका धेरै मानिसहरुलाई समेत निःशुल्क बसको व्यवस्था गरी गाउँ–घरसम्म बोक्नुभएको थियो । सहज अवस्थामा निःशुल्क यातायात व्यवस्था गर्नेले आज देशका विभिन्न ठाउँबाट घर जान नपाएर बाटोमा अलपत्र परेका बेखर्ची मजदुरहरुलाई बसको व्यवस्था गरी उनीहरुका गाउँ वा नगरपालिकको क्वारेन्टाइनसम्म किन पुर्याउन सक्नुहुन्न? भोट माग्दा सत्ता वा विपक्ष चाहिएन । सबै बराबरी । अहिले कहरका बेला दलको लेपन चाहियो ?सत्ता, विपक्षी, धर्म वा अन्य ट्याग चाहियो ?

आज मानवीय सहयोगको याचना गर्दा केहिको आँखामा हामी गरिबहरु विपक्षी दलका त केहीको नजरमा हामी सत्ता नजिक । के सहयोग गर्न सक्षम जो कोहिपनि यो काम त सरकारको हो भनेर पन्छिन मिल्छ? नैतिकताले दिन्छ? के यो विकास निर्माण हो र मात्र सरकारले लगानी गर्नुपर्ने? अनि सरकारमा रहेका नेताज्यूहरु किन हामीलाई निष्पक्ष अभिभावकत्व गर्न सक्नुभएको छैन? किन हामी टुहुरो झैँ सहयोगको भीख माग्न बाध्य हुनु परेको छ? आज विपत्ति आइनसकेको अवस्थामा हाम्रो यो अवस्था छ भने त्यस्तो नहोस् भोलि महामारी नै आयो भने हाम्रो हालत कस्तो होला ?

वर्तमान व्यवहार हेर्दा त हामी बलिका बोका हुने नै देखिन्छ । यस्ता व्यवहारहरु देख्दा लाग्छ, हामी सधैँ अर्घेलो भएर बाँच्नुपर्ने नियती रहेछ । सत्ता पक्षका आँखामा विपक्षीका भोटर र विपक्षिका आखाँमा सत्ताधारीका भोटर । भोट हाल्नुनै हाम्रो कमजोरी हो भने अर्को चुनावबाट हामी बहिष्कार गरौँला । अन्त्यमा सत्ता र प्रतिपक्षका नेताज्यहरु, इतिहासको कालखण्डमा हामी गरीब, मजदुर आदिको योगदान स्मरण गरी यस जटिल अवस्थामा हामीलाई हात–मुख जोड्ने व्यवस्था होस् भन्ने कामना सहित पत्र यहीँ रोक्छु । कलममा मसी किन्न सकेँभने पुनःअर्को पत्रमा भेट होला । हस्त !
उही तपाईँको अभागी नेपाली

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।