ताजा अपडेट »

मानवीय संवेदना र महामारी

मंगलबार, १८ चैत्र २०७६, १२ : ००
76 Shares

आज लक डाउनको ८ औं दिन । आजसम्मको समय समाजिक संजालमा देखिने सूचना/खबर र मानिसहरुका गतिविधिहरु हेर्ने, संगित सुन्ने, फिल्म हेरेर र घरमा संग्रह गरेर राखेका विविध पुस्तक अध्ययन गरेर बित्यो । केहि मित्रहरुका दैनिकी, विचार र भावना फेसबुकका वालमा पढ्दै गर्दा तटस्थ भएर बसिरहन मन लागेन । स्थानीय पत्रपत्रिकामा समसामयिक विषयमा फाट्टफुट्ट कलम चलाउने बानि भएको हुँदा मनका उकुस-मुकुसलाई अक्षर मार्फत अभिव्यक्त गर्ने जागर चलेर आयो आज ।

यतिबेला चीनको वुहानमा उत्पत्ति भएरविश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणले २१ औं शताब्दीको विश्व आतंकित भएको छ । डर र त्रास हेर्दा भयावह र कहालिलाग्दो देखिन्छ । जुन पहिलो विश्वयुद्धमा भन्दा ज्यादा देखिन्छ । यद्यपि यस्ता महामारी/महाब्याधिको रुपमा फैलने रोगहरु मानव सभ्यताको क्रमसंगै विभिन्न कालखण्डमा देखिँदै आएका छन् । भनिन्छ इतिहास दोहोरिन्छ तर, फरक स्वरुपमा महामारी/महाव्याधिको इतिहास केलाएर हेर्दा यस्तै तथ्य भेटिन्छन्।

वि.स.२०६०/०६१ तिर स्नातक तहमा अंग्रेजी साहित्य पढ्ने रहर जाग्यो । व्यवस्थापन संकायमा स्नातक गरिसकेको हुदा अर्को स्नातक डिग्रीको जरुरी त थिएन । तर सहित्यप्रतिको झुकाब भने सानै देखिको हो । त्रि.वि.को पाठ्यक्रममा रहेको भ्झिभलतक या एयभतचथ अध्ययन गर्दा कविताको रसस्वादन गर्न सिकें । पाठ्यक्रममा समावेश भएका कविता मध्ये W. H. Auden को ‘Musee des Beaux Arts’ कविताले त्यतिबेला स्वाध्ययनको क्रममा असाध्यै छोएको थियो । लक डाउनमा घरभित्रै सिमित भैरहदा पुनः उक्त कविता दाहोर्याएर पढें । कविता मार्फत कविले व्यक्त गर्न खोजेको भावना अहिलेको कोरोना संक्रमणको महामारीसँग मिल्दोजुल्दो पाएँ।२०औं शाताब्दीको शुरुवात तिर र दोश्रो विश्वयुद्धको संघारमा अलि भिन्न परिवेशमा लेखिएको उक्त कविता अहिलेको समयमा पनि उत्तिकै सान्दर्भिक छ ।

कविताको शिर्षक नेपालीमा ‘ललितकला सङग्राहलय’ हो । फ्रान्सको राष्ट्रिय संग्राहलयको नाम हो यो । Auden २०औं शताब्दिका विख्यात अंग्रेज कवि हुन् । उनले संग्राहलयको अवलोकनकर्ताका आँखामार्फत हामि मानवको रुपमा जानी जानी आ–आफ्नै दैनिक गतिविधिमा सकेसम्म मस्त र व्यस्त रहन्छौं भन्ने बताएका छन् । जबकि हामिलाई थाहा छ कोहि समस्यामा छ, दुखी छ । संग्राहलयमा रहेका तीन पुराना चित्र मार्फत उनले मानविय दुःखलाई अभिव्यक्त गरेका छन् । दुःख कष्ट व्यहोर्ने र नव्यहोर्नेहरुको जीवनलाई दर्शाउदै मान्छेका कष्ट, वियोग र भोगाइको सजिव चित्रण गरेकाछन् ।

कान्तिपुर समाचारमा अस्ति देखाइएको तनहुँका किसान मकैबारी खनजोत गर्दै गरेको । धान रोपाईंमा व्यस्त भएको । युवाहरु माछा मार्दै रमाइलो गरिरहेको । लक डाउन र कोरोना त्रासदीबाट बिल्कुल बेखवर जस्तै । भनिन्छ कवि साहित्यकारहरु युग श्रष्टा हुन् । २०औं शताब्दीको समयमा W. H. Auden ले फ्रान्सको राष्ट्रिय संग्रहालयमा देखेको आइकारसको पखेटा पग्लिएर आकाशबाट झर्दै गरेको दृश्यप्रति, उसको पिडा,दुःख र संभावित मृत्युप्रति कसैको ध्यान जाँदैन । किसानहरु हलो जोतिरहेका हुन्छन् । जहाज समुद्रमा आफ्नै नै गतिमा चलिरहेको हुन्छ ।

फेसबुकका वाल हेर्दा देखिन्छ तीस हजार भन्दा बढीको ज्यान लिइसकेको कोरोनाको कहर, त्रासदी र लक डाउन भैरहेको वर्तमान विश्व परिवेश प्रति चिन्ता व्यक्त गर्नेहरु भन्दा आ-आफ्नै किसिमले रमाइरहेको देखिन्छ । कोही मिठा मिठा परिकार बनाएर खानमा व्यस्त । कोही अटेर गरि गरि घुम्न, जमघट र रमाइलोमा व्यस्त । व्यापारी व्यवसायिलाई कमाउन, कर छुट र घरभाडा मिनाहाको चिन्ता । सत्ता र शक्तिमा रहेकाहरु इहि मौकामा चौका हान्न र भ्रष्टाचारमा मग्न । कोही हनुमानहरुलाई कोरोना विशेष अस्पताल अगाडि फोटो खिचेर संजालमा पोष्टिन हतार । कथित अर्थशास्त्रिहरुलाई जीवनको नभै अर्थतन्त्र र बजारको चिन्ता । जर्मनीका अर्थमन्त्री अर्थतन्त्र सम्हाल्न नसकेर आत्महत्या गरेको खबर ।

प्रकोप, दुःख र कठिनाईहरु कुनै पनि समय आउन सक्छन । यिनिहरु जीवनका अंग हुन् । आउँछन जान्छन् । त्यसैले के को चिन्ता ? दुख कष्टहरु सामान्य जीवनमा आइ नै रहन्छन् । मानव जीवन दुखै दुख र कष्टपुर्ण छ । यस्ता दुख र अप्ठ्यारा क्षण कहाँ कतिबेला आउँछन पत्तै हुन्न । त्यसैले हाम्रो दैनिक जीवन प्रभाबित हुनुहुन्न । निर्वाध चलिरहनु पर्छ । डा. रविन्द्र समिर ‘मृत्युको आयु’ सुत्र उपन्यासमा लेख्छन्– “बाँच्नका लागि हजारौं तयारी गरेको मान्छे मृत्युको आभासले मात्र पनि रुन्छ, छटपटाउँछ, हतप्रभ हुन्छ । किनकी मान्छेले कहिल्यै मर्ने तरिका सिकेको हुँदैन , मर्न तयारी गरेको हुँदैन ।” -(मिति २०७६ चैत्र १८ गते मंगलबार, तिलोत्तमा–३ रुपन्देही)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।