ताजा अपडेट »

पश्चिम रुकुममा पाँच महिनामै ४० लाखको मह बिक्री

सोमबार, २१ माघ २०८१, २१ : ००
34 Shares
सोमबार, २१ माघ २०८१
34 Shares

रुकुमपश्चिम । मह बिक्रीबाट यस वर्ष जिल्लाका किसानले रु ४० लाख आम्दानी गरेका छन् । गत साउन १ देखि पुस मसान्तसम्ममा चार मेट्रिकटन मह उत्पादन गरी बिक्रि गरेको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी लालबहादुर भण्डारीले जानकारी दिए । 

उनकाअनुसार मह प्रतिकिलो रु एक हजारदेखि एक हजार दुई सयसम्मको मूल्यमा बिक्री हुने गरेको छ । सबैभन्दा बढी मह बाँफिकोट गाउँपालिका र आठविसकोट नगरपालिकामा उत्पादन हुने गरेको छ ।  सानीभेरी, त्रिवेणी गाउँपालिका तथा मुसिकोट र चौरजहारी नगरपालिकामा पनि मह उत्पादन हुने गरेको छ । जिल्लाभर एक सय ५० देखि दुई सय किसानले मौरीपालन गर्दै आएका छन् । केही किसानले घरका लागि मात्र प्रयोग हुने मह उत्पादन गरे पनि एक सय ५० बढी किसानले व्यावसायिक मौरीपालन गर्दै आएका छन् । 

जिल्लामा उत्पादन भएको मह स्थानीय बजार खलङ्गा, सोलावाङ, चौरजहारी तथा जिल्ला बाहिर सुर्खेत, दाङ, नेपालगञ्ज काठमाडौंसम्म मह बिक्री हुने गरेको छ । सिजनमा मह बिक्रीबाट प्रत्येक किसानले रु पाँच हजारदेखि तीन लाखसम्मसम्म आम्दानी गर्ने कृषि विकास कार्यालयका सूचना अधिकारी भण्डारीले जानकारी दिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।