ताजा अपडेट »

राजनीतिसँगै  पेसाका रूपमा तरकारी खेती अँगालेका  वडाध्यक्ष ‘चौधरी’

विहीबार, ०३ माघ २०८१, १५ : २४
106 Shares
विहीबार, ०३ माघ २०८१
106 Shares

तुलसीपुर । यहाँको तुलसीपुर उपमहानगरपालिका–१२ का खुसीराम चौधरीको बारीमा अहिले लटरम्म गोलभेँडा फलेका छन् भने  प्याजका बेर्ना पनि उम्रिँदै छन् । उनी सो वडाका वडाध्यक्ष पनि हुन । वर्षौँदेखि तरकारी खेती गर्दै आएकाले पनि हुनसक्छ कचिला निवासी चौधरीले जनप्रतिनिधि निर्वाचित भएपछि पनि तरकारी खेतीलाई निरन्तरता दिइरहेका छन्।

“तरकारी खेती हाम्रो पुरानो पेसा हो”, उनले भने, “म जनप्रतिनिधि भए पनि यो पेसा छोड्न सक्दिन ।” करिब तीन कठ्ठा जमिनमा उनले गोलभेडा खेती गरेका छन् भने अन्यमा केराउ, प्याज र लसुन खेती गरिएको छ । चौधरीले जम्मा २२ कठ्ठा जग्गामा बर्सेनि तीन बाली खेती लगाउने गर्नुहुन्छ । कचिलामा बेमौसमी तरकारी बढी उत्पादन हुन्छ ।

वडाध्यक्ष चौधरी यही माघको अन्तिमतिर सिमी, करेला, बोडी, भेडे खोर्सानी रोप्ने तयारीमा रहेका छन्। उनले साउनमा काँक्रा, सिमी र बोडी रोप्ने गर्दछन् भने  असोजमा गोलभेँडा र केराउ रोप्ने गरेको उनी बताउँछन् ।

“जनप्रतिनिधि होस्, या अरू कुनै पेसा व्यवसाय अंगालेकाे व्यक्तिले प्रायः खेतबारीमा काम गरेको देखिँदैन”, वडाध्यक्ष चौधरीले भने, “तर, म जनप्रतिनिधि भएकाले पनि उत्पादनमा जोडिनुपर्छ, ताकी यो कुराले अरूलाई पनि प्रेरणा होस् ।”

उनले उत्पादन गरेको तरकारीले उचित बजार भने पाउन नसकेको उनको गुनासो छ । भारतबाट आयातित तरकारीका कारण स्थानीय स्तरमा उत्पादित तरकारीले बजार पाउन नसकेको उनको गुनासो छ । याँहा चिस्यान केन्द्र समेत नहुँदा यस्तो समस्या हुने गरेको उनी बताउँछन् । हाल कचिलासहित आसपासका वडामा उत्पादित तरकारीलाई बजारीकरण गर्न शितलपुरमा हाटबजार लगाउने तयारी समेत गरिएको छ ।

गोलभेँडा, प्याज, लसुन, खुर्सानीलगायत बिक्री गरेर चौधरीले वार्षिक चार लाखसम्म आम्दानी गर्दै आएका छन् । उनी राजनीति गर्ने मान्छेले अरू पेसा व्यवसाय गर्न हुँदैन र खाली नै बस्नुपर्छ भन्ने  पुरानो मान्यताको  अन्त्य हुनुपर्ने बताउँछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।