ताजा अपडेट »

शालीन सरिता

शुक्रबार, १४ मंसिर २०८१, ०७ : २२
284 Shares
शुक्रबार, १४ मंसिर २०८१
284 Shares

सरिता पन्थी, सुनार मूलतः गायिका हुन् । उनको रहर गायनमा नै छ । रहरलेमात्र जीवनमा बाँच्न मुस्किल हुँदो रहेछ । त्यहिभएर गायनसँग संगीत प्रशिक्षकका रुपमा आफूलाई उभ्याएकी छन् । गरिखाने आधार नै संगीत प्रशिक्षणलाई बनाएकी छन् । 

यतिबेला उनी बुटवल, शुक्रपथमा रहेको रागश्री संगीतालयमा संगीत प्रशिक्षकका रुपमा उनकै संगीत गुरु सुरेश सेञ्चुरीसँगै गतिशील छन् । सुरेश भन्छन्– सरिताको गायकीपना र स्वर मिठो छ । कर्मशील र लगनशील छिन् । साधना राम्रो छ । 

बाबा कमल र आमा कृष्णकी जेठी छोरी सरिताले गायन र संगीतमा भुलेर बिहे गर्नै बिर्सिन् । मन पराउने हजार भेटिएपनि उनको सांगीतिक कला बुझ्ने मान्छे खासै भेटिनन् । स्वर र संगीतसँगै आफूलाई बुझ्ने मान्छे नभेटेपछि गायन र संगीतलाई सारथि बनाएकी छन् । सरिताले स्कुले जीवनदेखि नै गीत गाउँथिन् । उनको गायकी क्षमता देखेर संगीततिर ध्यान दिन गुरुहरुले जोड दिएको बताउने सरिताले आफूलाई यो बाटोमा डोराउने गुरुहरु नै हुन् भन्दैथिईन् । 

घरको आर्थिक अवस्था कमजोर भएकै कारण उनले औपचारिक शिक्षालाई एसएलसीमा नै बीट मारिन् तर संगीततर्फ भने डिप्लोमा गरिन् । संगीततिरको लगावले नै सरिता भनेर चिनिने स्थान आफैले बनाईन् । पहिचानको गोरेटो आफै फैलाईन् ।

sarita in school 

रागश्री संगीतालयमा मात्र होईन तिलोत्तमा नगरीको एउटा मन्टेश्वरी तथा संस्थागत विद्यालयमा संगीत प्रशिक्षण दिँदै आएकी छन् । त्यो उनको जीवन जिउने आधार हो । सरिताकी कान्छी बहिनी वैदेशिक रोजगारमा छिन् । आफू मूनिका दुई बहिनीहरुले घरजम गरेर शिक्षण सेवामा कर्मशील छन् । सरितालाईभने संगीत र गायनले मोहनी लगायो । 

सैनामैना नगरपालिका-११, सालझण्डी जर्लैया गाउँ, स्थायी घर भएकी सरिता यतिबेला बुटवलमा बस्दै आएकी छन् । गायन र संगीतकै क्रममा उनी काठमाडौ हुँईकिएकी थिइन् तर बुटवलको सांगीतिक माहोल र सामीप्यताले उनलाई यतै  तानिरह्यो । काठमाडौंको रमझम र रङ्गीन दुनियाँले उनलाई तान्न सकेन र उनी बुटवल नै फर्किईन् । उनले गाएको  क ख ग... बोलको बालगीतले यूट्युवमा एक करोड २२ लाख ९२ हजार भ्यूअर्स पाएको छ । 

आधुनिक र सन्देशमूलक गीत गाउन रुचि राख्ने सरिताले गौतमबुद्व मुटु अस्पताल र दीप बोर्डिङ्गका बारेमा गाएको सन्देशमूलक गीतले आफू सन्तुष्ट रहेको सुनाईन् । करिव सय बढी गीत गाएर दुनियाँलाई मनोरञ्जन र सन्देश प्रवाह गरेकी उनले गीत गाएर नै पहिलोपटक नगद तीनसय रुप्पे हात पारेकी थिईन् । त्यो पैसाले उनलाई गायनको मर्म बुझायो । 

sarita3

गीत र संगीतमार्फत जीवन जिउन कुनै कठिन नहुने बताउँदै आएकी सरिताले राजेशपायल राई, रामचन्द्र काफ्ले र प्रमोद खरेलसँग युगल गीत गाएकी छन् । संगीत  र गायन सिकाएका उनका शिष्य कलाकारहरुले यतिबेला प्रख्याती कमाउँदैछन् । मन बुझाउने बाटो दिएको छ उनलाई । 

विभिन्न संघसंस्थाबाट सम्मानित सरिताले जातीय विभेदको अन्त्य नभई देशको सर्वाङ्गीण विकास सम्भव नभएको सुनाईन् । आफू स्कूले जीवनमा जातीय घृणा र द्वेषका कारण पछाडि पारिएको सुनाईन् । समानता र समावेशीको मुद्दालाई उठान गरि  सधैंभरि जातीय  उत्थान गर्न कटिबद्ध सरितालाई आफूले भोगेको जातीय विभेद, घृणित रहेको सुनाइन् । सरिताले भविष्यमा संगीत पाठशाला सञ्चालन गर्ने ईच्छा प्रकट गर्दै,आफू अब्बल र सवल गायक बन्ने योजना बुनेकी छन् । 

संगीत कलाबाट जीवन धान्न सकिन्छभन्ने उनको तर्क छ । युवाहरुलाई संगीतबाट स्वदेशमा रोजगार सिर्जना गर्न सकिन्छ भन्ने उनको ठहर छ । संगीतले जीवनलाई शान्त,शालीन र सुखी बनाउन सक्छभन्ने उनको गहिरो विचारप्रति सलाम गर्न मन लाग्यो । कहिले विद्यार्थीमाझ,कहिले स्टेजमा दर्शक,स्रोता अघि देखिरहने सरिताले आफू जहाँ रहेपनि ,जहाँ भएपनि गायन र संगीतमा नै रम्ने कल्पना गरेकी छन्।

sarita1

गायन र संगीतबाट आर्जन गरेको धनले आफूमात्र पालिएकी छैनन्, घरपरिवारलाई समेत पालेकी छिन् ।मादल, हार्मोनियम, किबोर्ड बजाउन र सिकाउन सिपालु सरिता, शालीन छन् । बोल्न लजालु उनी आफ्ना मनका भावहरु गीत, संगीतमार्फत पोख्छिन् । विभिन्न सामाजिक तथा शैक्षिक संघसंस्थाहरुद्वारा प्रशंसित तथा समान्नित उनलाई गीत, संगीतले जीवनमा थप आधार दिएको छ ।

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार