ताजा अपडेट »

सहनाईवाली सञ्चिता

शुक्रबार, ०७ मंसिर २०८१, ११ : २७
670 Shares
शुक्रबार, ०७ मंसिर २०८१
670 Shares

सिन्धुली कलाघरकी सफलतातर्फ उन्मुख  कलाकार हुन् सञ्चिता चुम्मी थापामगर । सहनाईवाली भनेपछि सबैले चिन्छन् । जोर सहनाईकी अर्की सारथि हुन् पवित्रा रम्तेल ।  सहनाई बजाएर दुनियाँलाई चकित पार्न सिपालु सञ्चिताको सहनाई बजाउने कला सुनेपछि  अरु बयान फितला लाग्छन् । उठेर, सुतेर, बसेर अनि नाँचेर पनि सहनाई बजाउने कला देखेर अनि सुनेपछि सबै मन्त्रमुग्ध र आकर्षित हुन्छन् । उनको त्यो बेजोड कलाको प्रशंसा नगर्ने को पो होलान् र ?  सहनाईसँगै उनले बाँसुरी समेत राम्रो बजाउँछिन् । बाँसुरीको धूनले सबैलाई लठ्ठ पार्छिन् । अरु बाजा पनि काम चलाउ बजाउँछिन् । 

कमलामाई नगरपालिका वडा नं.३, चपौलीमा उनको घर छ । बाबुआमाकी कान्छी छोरी सञ्चिताको खास रहर कलाकारितामा नै छ । दश जोड दुई कक्षासम्म अध्ययन गरेकी सञ्चिता उमेरले २२ टेकिन् । बाँकी जीवन समेत कलाघरलाई समर्पण गर्ने दृढ अभिलाषा छ उनको । त्यसैले कलाघरलाई कलाआश्रमका रुपमा विकास गर्नका लागि सिन्धुली कलाघरले मेचीकाली सांस्कृतिक एवम् सांगीतिक कलायात्रा थालेको छ । तिहारमा देउसी/भैलो खेलेर अर्थोपार्जन गरेको छ । कलाघरलाई नै संगीतपाठशाला बनाएर आफ्नो ज्ञान, सीपलाई त्यही पोख्ने,सिंचित गर्ने पवित्र  भावनासँगै अघि बढेकी छिन् उनी ।  

२०७५ सालदेखि सिन्धुली कलाघरमा जोडिएकी सञ्चिता यतिबेला कलाघरकी सहसचिव छिन् । भारत, हङकङलगायत नेपालका २० बढी जिल्लामा आफ्नो प्रतिभा देखाउन पुगेकी छिन् । नृत्य उनको रुचि र शौखको विषय हो । गायन उनको रहर र खुवी हो । कोकिल स्वरकी धनी उनले थुप्रै गीत रेकर्डिङ समेत गरेकी छिन् । नाटक,प्रहसनमा मिहिनेत, जाँगर र उत्तम क्षमता मिसाएकी छिन् । नृत्य सिकाउने उनको दक्षता छ । नृत्य प्रशिक्षक हुन् उनी । बाईक राइडर समेत हुन् । थप ड्राइभिङ सिक्दैछिन् । सानैदेखि कलाक्षेत्रमा समाहित सञ्चिता दर्शक,स्रोताकाबीच उस्तै लोकप्रिय र  परिचित छिन् । 

sanchita-magar

आफ्नो कलाघरको समूहले नौमती बाजा प्रतियोगितामा सर्वोकृष्टता हासिल गर्दै प्रथम हुँदाको खुसीले सगरमाथा चुम्नुको मज्जा सबैलाई बाँड्न रुचाउँछिन् । कलाकारिता दुखी पेसा भन्नेहरुलाई उनको जवाफ छ(खुसी बनाउने सबैभन्दा राम्रो माध्यम नै कला हो । कलाकारिताले नै सबै पिरव्यथा मेटाउँछ । 

सन्ताेष र निर्मलाका कान्छी छोरी सञ्चिताकी दिदी पारु र भाइ जीवन पनि कलाघरकै कलाकार हुन् । तीनै सन्तानलाई कलाकार बनाउन अनुमति मात्र दिएनन् उनका आमाबाबाले बरु घरपरिवारलाई नै कलाघर बनाए । संगीतालय बनाउन उत्प्रेरणा थपिरहे । सहरमा पढ्न बसेकी सञ्चितालाई उनकै अङ्कल सुमन थापा मगर 'नेपाली बाबू'ले कलाकार बन्न प्रेरणा दिए । सुमन, कलाघरका अध्यक्ष बनेर संस्थालाई अघि बढाई रहेका छन्। 

लजालु र कम बोल्न रुचाउने सञ्चिताले कलाकारितामार्फत आफ्नो भविष्य सुन्दर देखेकी छिन् । दुनियाँलाई कलामार्फत खुसी बनाउने अभियान सञ्चालन गर्न कलाघरलाई निरन्तर साथ,समर्थन दिईरहेकी छिन् । खिसिक्क हाँस्ने र सधैं मुस्कुराईरहने उनको उत्तम बानीलाई सबैले मनमा संगालेका छन् । सहनाई फुक्ने बेजोड प्रतिभालाई सम्मान गरेका छन् । उनको सुरिलो स्वरको समर्थक भएका छन् । कलात्मक नृत्यलाई आँखाभरि सजाएका छन् । 

jor sahanai

फुर्सदमा उनले रियाज गर्छिन् । कलाघर मा कला सङ्ग्रहालय बनाउन फलामको काम गर्छिन् । कहिले कोदो रोप्छिन् । कोदो काट्छिन् । ठट्टा गरेर सबैलाई हँसाउँछिन् पनि । दोहोरीमा झटारो हान्न  माहिर छिन् । बहुप्रतिभाशाली सञ्चिताको बयान गरि साध्य छैन । सफल र अब्बल कलाकार बनेर जीवनभर यही कलायात्रामा रहेको  देख्ने गरि सबैले सपना बुनेका छन् ।

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार