ताजा अपडेट »

हराएको कविता र आनिक

विहीबार, २२ कार्तिक २०८१, ०९ : २९
364 Shares
विहीबार, २२ कार्तिक २०८१
364 Shares

मंगलवार साँझपख घरतिर फर्किदै थिएँ । बुटवलको जोगीकुटी, शान्तिचोकनिर लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय (हामीले बुझ्ने गरेको तेस्रो लिङ्गी)को देउँसीभैलो कार्यक्रम चलिरहेको थियो । भीडभाडकासाथ दर्शकहरुले कार्यक्रम नियाली रहेका थिए । झुलुक्क हेरेपछि म आफ्नो बाटो लागें । सम्झिएँ, आनिकलाई । देखिनँ र मनमनै सोचें क्यान्सर पीडित, नसकेर नआएको हुन सक्छ ।  नत्र, मैले देख्थें नि ! मनमा कुरा खेलाएँ । 

बुधवार दिउँसोतिर अमृता अनमोलको फेसबुक वालमा आनिक रानालाई श्रद्धाञ्जलि दिएको देखें–क्रमशःगोविन्द, अस्मिना, सावित्रालगायतका साथीहरुका फेसबुकवालहरु श्रद्धाञ्जली र समवेदनाले शोकमा डुबेको पनि । उनको स्वास्थ्य समस्याका बारेमा हल्का थाहा थियो । तर, मृत्युको खबर यति छिट्टै आउलाभन्ने कुरामा म विश्वस्त हुन सकिनँ । 

आनिकसँग कहिले भेट भयो त ठ्याक्क भन्न सक्दिनँ तर आनिक र मेरो भेट बुद्ध टेलीभिजनमा  भएको हेक्का छ मलाई । आनिक पछि यमबहादुर राना बनेर नागरिकता लिएको समेत मलाई थाहा छ । आनिकका बारेमा मैले एकपटक ‘ऊ भनुँ वा उनी’ भनेर कविता लेखेको थिएँ । आनिकले ब्लू डायमण्ड सोसाईटीको पेजमा उक्त कविता राखेको र दुनियाँले हेरेको मलाई सुनाएका थिए । 

बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको उपप्रमुख महिला उद्यमशीलता कार्यक्रममा आनिकसँग पटकपटक भेट हुने अवसर तत्कालीन उपप्रमुख गोमा दिदीले मिलाइ दिएकी थिइन् । उनीहरुका लागि सञ्चालन भएको सिलाईकटाई तालिमको अनुगमन कार्यक्रममा सँगै थियौं । आफ्नो समुदायको हितका लागि उनी कुनैपनि कुरामा चुकेजस्तो लाग्दैनथ्यो । कहिलेकाँही उनले आफ्नो समुदायलाई समाजले हेर्ने दृष्टिकोण, यसको असर र आफूहरुलाई परेको पीडाका बारेमा खुबै सुनाउँथे । 

आत्मनिर्भर भएर समाजमा बाँच्न गरेको सक्दो प्रयास र प्रयत्नका सन्दर्भमा उनले लगाएको बेलीविस्तार आजजस्तै लाग्छ । उनले कहिल्यै आफूलाई हेपिएको नठानेपनि मनमा समाजले गरेको असमान व्यवहारप्रति खुलेर दुःख पोख्थे । समाजलाई आफूप्रति आकर्षित गरिराख्न जीवनका हरक्षण प्रयास गरेका आनिकले भौतिक शरीर त्यागेपनि, सुकर्महरुले उनलाई दुनियाँअघि सधैंभरि सम्झिरहने छन् । 

उनका बारेमा लेखिएको कविता ल्यापटपमा खुबै खोजें तर पाउन सकिरहेको छैन । फेसबुकमा पोष्ट गर्न उनकै कविता नपाएपछि यो सम्झना लेख्न मन गरेको हुँ । उनको घर कहाँ हो, परिवारमा कोको छन्, यावत कुराका बारेमा मलाई हेक्का छैन । नीजि मामिलामा मैले उनीसँग कहिल्यै कुरा गरिनँ । उनको बोलीमा दम थियो । बोल्न सक्ने र मानिसलाई आफ्नो पक्षमा ढाल्न सक्ने खुबीको उच्च प्रशंसक थिएँ म । 

आनिकसँग लामो समय बसेर उनका बारेमा वृत्तचित्रको स्क्रीप्ट लेख्न मेरो चाहनामा आजैदेखि बिर्को लाग्यो । उनको शाहस र आँटका बारेमा दुनियाँलाई थाहा दिने वृत्तचित्र बनाउने सपनामा पनि तुसारापात भयो । उनको समुदायलाई त उनको मृत्यु अपूरणीय क्षति होभने हाम्रो समाजका लागि पनि उनको अनुपस्थितिको घाउमा माम्री लाग्न थुप्रै वर्ष लाग्ने छ । अर्को आनिक जन्माउन थुप्रै कालखण्ड पर्खिन पनि पर्ने हुन सक्छ । 

आफ्नो समुदायका लागि उनी मियो बनेको, हकअधिकारको प्राप्तिमा सतीसाल बनेको, समाजमा पहिचान दिन दियो बनेको, समाजको विभेद हटाउन बुल्डोजर बनेर थापिएको कसैले भूल्न सक्ने छैन । यो नै आनिकको परिचय हो । कतिपयले आनिकलाई हेर्ने दृष्टिकोण फरक होला । तैपनि मेरो नजरमा आनिक उक्त समुदायका लागि दिशानिर्देशक थिए । पथप्रदर्शक बनेका थिए । 

उनकै बारेमा लेखेको कविता सुनाउँदा उनी भावुक भएका थिए । मेरो पनि कविता कोरिन्छभन्ने कुरा पत्यार लागेको थिएन उनले भनेको थिए । सो कुरा मेरा कानमा आजपनि गुञ्जिरहेका छन् । मनमा अमीट छाप बनेर सङ्गालिएका छन् । आनिक तिम्रो भौतिक शरीरले विश्राम पाएपनि तिम्रो अविरल यात्राले समाजमा नयाँ दिशा पक्रेर अघि बढाउन तिम्रो समुदायका साथीहरुले पक्कै पनि प्रयास गर्लान् । तिमीप्रति भावपूर्ण श्रद्धासुमन र परिवारजनमा समवेदना । 


 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार