ताजा अपडेट »

हरित ऋणपत्रः दीगो विकासको संवाहक

आइतबार, २३ असार २०८१, १२ : ०७
248 Shares
आइतबार, २३ असार २०८१
248 Shares

भोजराजपंगेनी
ऋणपत्र भनेको दीर्घकालीन प्रतिज्ञापत्र वा सुरक्षा हो । जुन कम्पनीहरू र सरकारले आफ्नो दीर्घकालीन वित्तीय आवश्यकता पूरा गर्नको लागि जारी गर्दछन् । ऋणपत्रका खरिदारहरूलाई ऋणपत्रधारीहरू भनिन्छ । ऋणपत्रधारीहरू जारी गरिएको कम्पनीका मालिक नभई ऋणदाता हुन् । कम्पनीले ऋणपत्रधारीहरूलाई नियमित रूपमा (सामान्यतया वार्षिक र अर्धवार्षिक) कुपन ब्याजको निश्चित रकम भुक्तानी गर्ने सहमति गर्दछ । ऋणपत्रको परिपक्व अवधिमा, कम्पनीले यसका प्रयोगकर्तालाई अङ्कित मूल्य फिर्ता गर्दछ ।

ऋणपत्र जारी गर्दा, जारी गर्ने कम्पनीले एक इन्डेन्चर तयार पार्नु पर्दछ ।  इन्डेन्चरले ऋणको शर्तहरू जस्तै ऋणपत्रको वर्णन, ऋणपत्रधारी र जारी गर्ने फर्मको अधिकार, ट्रस्टीको जिम्मेवारी आदि निर्दिष्ट गर्दछ । ऋणपत्र जारी गर्ने समयमा जारीकर्ताले नियुक्त गरेको ट्रस्टी सामान्यतया एक वाणिज्य बैंक हुन्छ । ट्रस्टीले ऋणपत्रधारीहरूको सामूहिक हितको प्रतिनिधित्व गर्दछ र संरक्षण गर्दछ ।

नेपाली अर्थतन्त्रमा सर्वप्रथम बोटलर्स नेपालले आर्थिक वर्ष १९८६/८७ मा ५० लाख रुपैयाँको ऋणपत्र जारी गरेको थियोे । त्यसैगरि श्रीराम शुगर मिल्स लिमिटेडले आर्थिक वर्ष सन् १९९७/९८ मा ९ करोड ३० लाख रुपैयाँको ऋणपत्र जारी गरेको थियो । यो परिवर्तनीय रूपमा थियो र प्रतिवर्ष १४ प्रतिशत ब्याज दर निर्धारण गरिएको थियो । पछिल्ला वर्षमा, धेरै वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ऋणपत्रजारी गरेका छन् । अहिले ऋणपत्र बजारको विकास हुँदै गइरहेको छ ।

दीर्घकालीन वित्तीय आवश्यकता पूरा गर्नको लागि दूरगामी संस्थाले आफ्नो उद्देश्य प्राप्तिका साथै वातावरण र जलवायु परिवर्तनलाई टेवा पुग्ने खालको ब्यवसायीक रणनीति बनाउनु पर्दछ र सोही अनुरुपका क्षेत्रमा लगानी लगाउनु पर्ने देखिन्छ । त्यस्ता वातानुकुलित र पर्यावरणमैत्री लगानीका लागि व्यवसायले आफ्नो सम्पुर्ण पूँजी लगाउन भने सक्दैन । त्यसकारण व्यवसायीक घरानाले आफ्नै उद्देश्य अनुरुप लगानी लगाउनु पर्छ । तसर्थ पर्यावरण संरक्षणका लागि लगानी कसरी जुटाउने त ?

हरित ऋणपत्र वातावरण र जलवायुमा सकारात्मक योगदान पुर्याउने वित्तीय योजनाहरूको लागि संगठनद्वारा जारी गरिएको एक ऋणपत्र हो । यस्ता ऋणपत्रबाट प्राप्त पूँजीलाई ऊर्जा कुशलता, नवीकरणीय ऊर्जा, प्रदूषण निवारण, परिष्कृत परिवहन, र हरित गृह परियोजनाहरूमा मात्रप्रयोग गरिन्छ । यसको विपरीत, परम्परागत ऋणपत्रहरूले विभिन्न परियोजनाहरूमा प्रयोग गरिन्छ । हरित ऋणपत्रले सकारात्मक सामाजिक र पर्यावरणिक प्रभावसँग सम्बन्ध राख्दछ ।

हरित ऋणपत्रको संक्षिप्त इतिहासः
सन २००७ मा यूरोपियन लगानी बैंक (European Investment Bank) ले पहिलो हरित ऋणपत्र जारी गरेको थियो र सन २००८ मा विश्व बैंकले हरित ऋणपत्र जारी गरेको थियो । यसले वित्तीय बजारमा विकास योजनाहरूको लागि आवश्यक पूँजी प्रदान गर्ने नयाँ तरिका सिर्जना गरेको थियो । सन २०१४ मा जापानको विकास बैंकले हरित ऋणपत्र जारी गरेको थियो । तब पछि, अनेक सरकार र कम्पनीहरूले हरित परियोजनाहरूको वित्तको लागि यस बजारमा प्रवेश गरेका छन् ।

विश्व बैंकको तथ्यांक अनुसार, सन २०२३ जनवरी सम्ममा विश्वभरीमा २.५ ट्रिलीयन अमेरिकी डलर भन्दा बढीको हरित ऋणपत्रबाट हरित तथा दिगो आयोजनाहरुमा लगानी भइसकेको छ ।

हरित ऋणपत्रको लाभहरू
पर्यावरणीय लाभः हरित ऋणपत्रहरूबाट प्राप्त पूँजीले पर्यावरणको लागि सकारात्मक परियोजनाहरूमा लगानी गर्दछ । यसले जलवायु परिवर्तनसँग लड्नमा मद्दत पुर्याउँछ ।
साक्षरता वित्तीय लाभः हरित ऋणपत्रहरूले वित्तीय साक्षरतामा मद्दत पुर्याउँछ । यसले लगानीकर्ता र जारी गर्ने सँस्थाहरूलाई वित्तीय प्रशासनमा अधिक जानकारी प्रदान गर्दछ ।
करछुट लाभः हरित ऋणपत्रहरूले लगानीकर्ताहरूलाई करछुट छुट प्रदान गर्दछ, जसले उनीहरूलाई लगानी गर्न आकर्षित बनाउँछ ।
सामाजिक लाभः हरित ऋणपत्रहरूले सामाजिक परियोजनाहरूमा लगानी गर्दछ, जुन समुदायको लागि उपयोगी छ । यसका साथै जारीकर्तालाई सामाजिक उत्तरदायी बनाउँछ ।

नेपालमा हरित ऋणपत्र सम्बन्धित कानुनी प्रावधानहरुः नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता तथा निष्कासन (सातौँ संशोधन) नियमावली, २०८०’ मार्फत हरित ऋणपत्र (ग्रीन बन्ड) सम्बन्धी कानूनी व्यवस्था ल्याएको छ । बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रममा हरित ऋणपत्र लगायतका नवीन वित्तीय औजार निष्कासन गर्न सक्ने गरी आवश्यक नीति, नियम तथा निर्देशिका संशोधन तथा तर्जुमा गरिनेछ भनी उल्लेख छ ।

“हरित ऋणपत्र वा ग्रीन बन्ड भन्नाले सङ्गठित संस्थाले पर्यावरणमैत्री परियोजना सञ्चालन गर्ने कार्यका लागि जारी गर्ने ऋणपत्र सम्झनु पर्दछ”, भनी नियमावलीले परिभाषित गरेको छ । त्यस्तै, यो शब्दले दिगो विकास कार्यका लागि लगानी गरी जलवायु परिवर्तनको प्रतिकूल प्रभावलाई न्यूनीकरणमा सहयोग पुर्याउने परियोजनामा लगानीका लागि जारी गरिने ऋणपत्रलाई जनाउने उल्लेख छ र प्रचलितकानूनको अधीनमा रही विदेशी लगानीकर्ताले समेत लगानी गर्न पाउने व्यवस्था छ ।

नेपालमा हरित ऋणपत्र

जब नवीकरणीय ऊर्जा परियोजनाहरूको लागि कोष सङ्ककलनका लागि ऊर्जा ऋणपत्र जारी गरिन्छ । तिनीहरू हरित ऋणपत्रका लक्ष्य र मापदण्डसँग मेल खान्छन् ।  यसका अतिरिक्त पर्यावरणीय सन्तुलनलाई दीगो प्रभावकारी तथा वैज्ञानिक बनाउने रणनैतिक उद्देश्यमा केन्द्रित रहेका हुन्छन् । तसर्थ, यस्ता सवालहरुमा ऊर्जा ऋणपत्रलाई हरित ऋणपत्रको एक उपसमूह मानिन्छ  । किनकी तिनीहरू सफा र स्थायी ऊर्जा स्रोतहरूको विकासमा योगदान पुर्याउँछन् ।

नेपालमा हरित ऋणपत्र अन्तर्गत ऊर्जा ऋणपत्र जारी भएका छन्। नेपालमा पहिलो पटक एनएम बि बैंक लिमिटेडले २०७८ जेठ २० गते  १५ लाख कित्ता प्रतिकित्ता रु १००० को दरले जम्मा एक अर्ब ५० करोड रुपैँयाको  १५ वर्षे, ४ प्रतिशत एम बि ऊर्जा ऋणपत्र (energy bond) २०९२/९३ जारी गर्यो । दोस्रो पटक पनि एनएम बि बैँकले नै  वि.स.२०७९ सालमा ३५ लाख कित्ता प्रतिकित्ता रु १००० का दरले जम्मा ३ अर्ब ५० करोड रुपैयाँको १५ वर्षे, ४ प्रतिशत एनएम बि उर्जा ऋणपत्र (energy bond II )२०९३/९४ जारी गर्यो ।

यस्तै गरी एभरेष्ट बैंकले वि.सं २०७९ सालमा २० लाख कित्ता रु १००० कित्ताका दरले जम्मा २ अर्ब रुपैँयाको १० वर्षे, ७.५ प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र (energy bond) २०८९’ जारी गरेको छ । यी ऋणपत्रबाट प्राप्त रकम नवीकरणीय ऊर्जा (जल विद्युत)मा लगानी गरेर दूरगामी व्यवसायिक रणनीति लिएको छ ।

पर्यावरणमा पर्याप्त क्षमता र जागरुकताको कमी, दीर्घकालीन वित्तको कमी, हरित परियोजनाहरुको कमी जस्ता समस्याले नेपालमा जलवायु मैत्री लगानीको अवसरमा बाधा पुर्याएका छन । अन्तर्राष्ट्रिय वित्त निगम (IFC)को अध्ययनले सन २०१८ देखि सन २०३० सम्मको कुल जलवायु-बुद्धिमान लगानीको अवसरलाई ४६ अर्ब अमेरिकी डलर  नेपालमा अनुमान गरेको छ । यस अवसरलाई हरित वित्तद्वारा कार्यन्वयन गर्न सकिन्छ ।

हरित ऋणपत्रद्वारा प्राप्त पूँजीले यी राष्ट्रसंघद्वारा उल्लेखित दीगो विकासका लक्ष्य (SDGs) पूरा गर्न मद्दत गर्दछ जस्तैः SDG 6 (सफा पानी र स्वच्छता): पानी सम्बन्धी परियोजनामा लगानीगर्न, SDG 7 (सस्तो र सफाऊर्जा): नवीन जलविद्युत शक्ति उत्पादन गर्न, SDG 9 (उद्योग, अविष्कार, र पूर्वाधार): जलवायु–सहिष्णु बनिउद्योग , नयाँअविष्कार र पूर्वाधार  निर्माण परियोजनामा लगानी गर्न, SDG 11 (स्थायीशहर र समुदाय): सफा परिवहन र शहरी विकासको प्रवर्धन गर्न, SDG 13 (जलवायु कार्य): हरित परियोजनामार्फत जलवायु परिवर्तनको सामनागर्न, SDG 15 (जीवनभूमि): जैविकविविधता संरक्षण र भूमिव्यवस्थापनगर्न ।

अन्त्यमा वर्तमान समयमा तिव्र गतिमा फैलिएको पर्यावरणीय सचेतनाका कार्यक्रमबाट नेपाल जस्तो प्राकृतिक स्रोत तथा साधनले भरिपूर्ण अर्थतन्त्रमा दीगो विकासका विश्वव्यापी साझा उद्देश्य , नीति तथा कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि हरित ऋणपत्र एकदमै सान्र्दभिक रहेको छ । नेपालले हरित ऋणपत्र मार्फत पूँजी व्यवस्थापन गरी विभिन्न परियोजनाहरुलाई सफल पार्न सक्छ जस्तैः जलवायु तथा पर्यावरण मैत्री पूर्वाधारमा लगानी, जलविद्युत तथा नवीकरणीय ऊर्जामा लगानी, फोहोर व्यवस्थापन तथा प्रदुषण नियन्त्रणमा लगानी, वातावरणमैत्री यातायातमा लगानी, जलको गुणस्तरमा सुधार तथा जलस्रोतको संरक्षणमा लगानी, कृषि तथा वन पैदावरमा उत्पादन गर्नका लागि लगानी गर्न सकिन्छ ।
 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।