ताजा अपडेट »

नेपालका कृषि बजार किसान र उपभोक्ता मैत्री हुन आवश्यक

शनिबार, २२ असार २०८१, ०६ : ३५
194 Shares
शनिबार, २२ असार २०८१
194 Shares

नेपाल कृषि प्रधान देश । एकिन तथ्याङ्क नभएपनि करिव ६० प्रतिशत जनसंख्या कृषिमा लागेका छन् । उनीहरु खेती किसानी, पशु पालन, माछा मासु उत्पादन फलफुल जडीबुटी उत्पादनमा लागेको पाईन्छ । मुलुकको भौगोलिक बनोट हावापानीका कारण तराई, पहाड, हिमालमा कृषि तथा पशु पालन ब्यवसाय गरिदै आएको छ ।

यद्यपी नेपालको जनसंख्याको ठूलो हिस्सा कृषिमा लागे पनि आत्मर्निभर भने छैन । हामीकहाँ मासिक अरबौको खाध्यान्न फलफुल तरकारी आयात गर्नुपर्ने अवस्था छ । तर बिकसित देश अमेरिका, जर्मनी, अस्टे«लीया, जापान लगायतका देशहरुमा १० देखि २० प्रतिशत जनसंख्या कृषि कार्यमा लागेर पनि ५० प्रतिशत भन्दा बढी कृषिजन्य उत्पादन निर्यात गरेर राम्रो विदेशी मुद्रा आर्जन गरिरहेको उदाहरण भेटिन्छ  । अनि उनीहरु देशलाई आत्मनिर्भर बनाउन सफल छन् । तर हाम्रो देशमा कृषिको राम्रो संभावनासँगै ठूलो हिस्सा कृषि कार्यमा लाग्दा पनि आत्मर्निभर हुन सकेका छैनौं । यस्तो हुनुमा सरकार, राजनितीकर्मी, कर्मचारी र किसान बीच तालमेल हुन नसक्नु र स्पष्ट योजनाको कमी नै हो ।

मुलुकमा कोरोनाका कालपछि कृषि कार्यमा अलि सम्भावना देखेर जागेका किसानले पनि सरोकारवाला निकायको खासै साथ र सहयोग पाउन सकेको देखिँदैन । मुलुकमा कृषि मैत्री वातावरण नहुनु, कृषि शिक्षा अनिवार्य नहुनु, सरकारको स्पष्ट कृषि नितीको अभाव, कृषिमा आवश्यकता अनुसार आधुनिक प्रबिधि भित्रन नसक्नु, विउ बिजन, मलखदको समयमा नपाउनु,सहुलियत कृषि ऋणको अभाव, कृषि अनुदानको दुरुपयोग, कुषि उत्पादनको बजारीकरणको समस्या जस्ता कारण नै प्रमुख समस्या हुन ।

कृषि क्षेत्रको बिकासलाई अर्थतन्त्र र आर्थिक बिकासको मूल आधारको रुपमा लिईएको छ । कृषि क्षेत्रको उत्पादन अवस्था र उत्पादित बस्तुहरुको बजारीकरण कृषि क्षेत्रको बिकासका लागि अपरिहार्य पक्ष हो । कृषि उत्पादनको उचीत बजारीकरण बिना कृषकले आफ्नो श्रमको मूल्य पाउन सक्दैनन् । तसर्थ नेपाल सरकारले आफ्ना नीति कार्यक्रम योजना बनाउँदा कृषि उपजको बजार र बजारीकरण बिकासलाई महत्वका साथ ध्यानदिन आवश्यक छ ।  भनी बजार मूल्यप्रत िपनि ध्यानदिन त्यत्तिकै जरुरी छ । कतिपय ठाउँमा थोक बजार र खुद्रा मूल्यको अन्तर निकै बढी हुँदा किसान र उपभोक्ता ठगिने गरेका छन् ।

देशभित्र तरकारी तथा फलफूल जस्ता मूल्यवान बस्तु उत्पादन र बिक्री बितरणमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको छ तर सरकरले निजी क्षेत्रको मत्वलाई बुझेर आत्मसाथ गर्न सकिराखेको देखिँदैन । अहिले सरकार अन्तरगत मुलुकभर  जम्मा ११ बटा संघीय बजार छन् त्यसमा पनि केही बजार ब्यवस्थित छन् भने केही बजार अब्यवस्थित छन् । उता ७७ जिल्लामा साना ठूला निजी बजार संचालनमा छन् । राज्यले गर्नेकाम निजी क्षेत्रले गरिरहेको छ । कतिपय निजी बजारले बजारको पूर्वाधारको लागि करोडौ करोड रुपैयाँ लगानी गरेको छ तर त्यस्ता बजारको महत्व बुझेर चासोका साथ  सरकारले उपयोग गर्न सकिरहेको छैन ।

यदि यथार्थमा सरकारले कृषि कार्यमा जागेका ब्यवसायी, बजार संचालक र किसानहरुलाई साथ सहयोग दिन सक्ने हो भने यो पेसा ब्यावसायबाट राम्रो आम्दानी लिन सकिन्छ र विदेशी आयात घटाउदै स्वदेशमै रोजगारको ठूलो अवसर सृजना गर्न सकिन्छ  ।

यो पटक गतहप्ता चितवन, लालबन्दी, ढल्केबर, धरान, बिर्तामोड झापा, सिन्धुली लगायत ठाउँमा रहेका संघीय तथा निजी बजार अवलोकन गर्ने क्रममा ब्यवसायी, बजार संचालक, किसानहरु कृषिकार्यमा जमेरै लागेको देखियो । बजार सञ्चालकले पनि जग्गा लिजमा समेत लिएर ऋण लगानी गरिदिएर किसानहरुले तरकारी पलफूल खेती, पशुपालनबाट राम्रो आम्दानी लिन सफल भएकाहरुको कथा पनि भेटियो । कृषि कार्यबाट घरमै बसीबसी वार्षिक लाखौं रुपैया आम्दानी गरेको पाईयोे । कति कृषि कर्ममा जागेका किसान ब्यवसायिमा निरासा पनि भेटियो ।

पछिल्लो समय कृषि पूर्वाधार बिकास तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्रले पहिलो पटक निजी क्षेत्रका केही बजारलाई महत्व दिएर कृषि बारे तालिम तथा बजार अवलोकन गराउनुका साथै  संयुक्त छलफल गराएर निजी क्षेत्रको बजारको महत्व बोध गरेको छ । जेठमा ११ वटै सरकारी र केही निजी बजारका संचालक र कर्मचारीहरुलाई पोखरामा जमघट गराई कृषिका बिभिन्न विषयका बारे तालिम दिई असारमा पूर्वी नेपालका केही महत्वपूण फलफूल तथा तरकारी बजार अबलोकन गराएको कृषि पूर्वाधार बिकास तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्रका प्राविधिक सहायक रामचन्द्र सापकोटा बताउनु हुन्छ । यसले गर्दा सरकारी र निजी बजारलाई सहकार्य गरेरकाम गर्न सजिलो हुने उहाको भनाईछ ।

यो पटक बजारहरुको अवलोकन अन्तरक्रियामा आफू पनि सहभागी हुन पाएकोले कृषि बजारका बारे केही ज्ञान हासिल गर्ने मौका मिल्यो । हुन त यसअघि आफै पनि काठमाडौंको कालिमाटी बजार, धुम्बाराही कृषि उत्पादन बिक्री बजार, बल्खु कृषि बजार, मनोहरा तरकारी बजार, मुना मार्केट लगायतका बजारहरु अवलोकन गर्ने र केही कृषि उत्पादन गरिएका ठाउँहरु अवलोकन गर्ने अवसर पनि प्राप्त गरेको थिए । ती बजारमा ब्यवसायीहरुको लगानी, मेहनत र उत्साह देख्दा नेपालमा कृषि क्षेत्रमा राम्रो सम्भावना  देखिन्छ ।

तर पनि सरकार, कुषि  मन्त्रालय र बिभाग  किसान र ब्यवसायीका सुझाव  गुनासा सम्भावना प्रति त्यति चासो दिएर लागेको पाइँदैन । विश्व परिबेस अनुसार निजी क्षेत्रले तरकारी फलफूल उत्पादन र बिक्रिका क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेपनि सरकारको ध्यान जान नसकेको  ब्यवसायिहरुको भनाई पाईन्छ ।

वर्षौदेखि खेत, बारी, बजारमा  तरकारीसँग लड्दै भिड्दै आएका किसानहरु कृषिको बजेट वास्तविक किसानले पाउनु पर्ने, अनुदानको रकम बिचौलियाले मात्र उठाएका छन् जसका कारण वास्तविक  किसान र कृषि ब्यवसायीहरु निरास छन् । कतिपय ठाउँमा कृषि पैदावार वेचविखन गर्ने थोक बजार र ब्यवस्थीत खुद्रा बजार नहुँदा किसानले आफ्ना उत्पादनको भाउ पाउन नसक्दा निरास छन् ।

हुन त कतिपय जिल्लामा निजी क्षेत्रले कृषिको ब्यापार प्रवर्द्धन गरेर कृषकलाई उत्साहित गराउँदै आर्थिक जीवनस्तरमा सूधार ल्याउन  सहयोग पुर्याउँदै आएपनि सरकारले निजी क्षेत्रको बजारको महत्व बुझ्न नसकेको कतिपय तरकारी फलफूल थोक ब्यावसायीको भनाई पाईन्छ ।
बिभिन्न ठाउँमा स्थापना भएका निजी र सरकारी  बजारले गर्दा हिजो बारीमा त्यसै कुहीएर खेर जाने स्कूस, फर्सी, तामा, घिरौला, लौका, काँक्रा, चुच्चे करेला, मेवा जस्ता कृषि पैदावारले आज राम्रो बजार पाएको छ । जसको आम्दानीबाट उनीहरुले घर खर्च चलाएका छन्, छोराछोरीलाई राम्रो विद्यालयमा पठनपाठन गराएका मात्र छैनन् राम्रो प्रगति समेत गरेका छन् ।

धरान कृषि बजारमा धनकुटा जिल्लाबाट किसानका पौरख रैथाने बाली फलफूल तरकारी ठूलो मात्रामा भित्रिन्छ । जसको भारतीय बजारमा राम्रो माग भएपनि सरकारको स्पष्ट निर्यात नीति नहुँदा  बिचौलीया दलालका माध्यामबाट नेपाली उत्पादन भारतीय बजारमा पूग्ने गरेको धरान कृषि बजारका ब्यवस्थापक लक्ष्मण भट्टराई बताउनुहुन्छ । यो बजारमा किसान र ब्यवसायिका लागि सुफथ मूल्यमा बस्न पाईने होस्टल र बाख्राको लागि होल्डिङ सेन्टर समेत निर्माण गरेर धरान कृषि बजारले उदाहरणीय काम गरेको छ ।

रुपन्देही, कपिलबस्तु, धनुसा, सर्लाही, सिराह लगायत अन्य तराईका जिल्लामा  पनि फलफुल  तरकारी आयात निर्यातमा ठूलो समस्या देखिएको छ । कृषि बजार बिर्तामोड ४ बिगाहा ३ कट्ठामा फैलिएको नेपालकै ठूलो सरकारी बजार हो । तरकारी फलफूलको ठूलो भोलुममा कारोबार हुने यो बजार दलीय राजनीति खिचातानिकै कारण सम्भावना भएर पनि पछि परेको सञ्चालकहरुको गुनासो छ ।

ढल्केबर कृषि बजार धनुसाका प्रमुख बजार ब्यवस्थापक शम्भु दास बजारमा ७० प्रतिसत लोकल कृषि उत्पादकको कारोबार हुने बताउँदै ढुवानी साधन नहुँदा किसानसँग किनेका तरकारी फलफूल बिक्री वितरणमा समस्या भएको वताउनु हुन्छ । २०७५ सालमा स्थापना भएको निजी क्षेत्रको महानगर फलफूल तरकारी बजार चितवनले पनि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । जहाँ ७५ देखि ८० प्रतिसत नेपाली तरकारीको कारोबार हुने गर्दछ । उता लालबन्दी तरकारी बजार सर्लाहीबाट पनि किसानका उत्पादन दैनिक काठमाण्डौ लगायत बिभिन्न जिल्लामा पुग्ने गर्दछ ।

रुपन्देहीको भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरू भएकोले  कर्णाली र लुम्बिनी प्रदेशका कृषिजन्य उत्पादनको अन्तर्राष्ट्रिय बजारमा समेत बजार विस्तार हुन सक्ने सम्भावना बढेको छ । त्यस्तै रुपन्देहीको मणिग्राममा निजी क्षेत्रको ठूलो लगानीमा आधुनिक सुबिधायुक्त नेपालकै ठूलो लुम्बिनी कृषि उपज थोक बजार सचालनमा आएको छ । तीन बिगाह क्षेत्रफलमा फैलिएको यो बजारमा १ सय ७८ वटा आधुनिक ब्यावसायिक सटरहरु छन् । जहाँ किसान लक्षित ४ जिल्ला समेटिएको कृषि सहकारी पनि रहेको छ । जुन बजारमा किसानका उत्पादन बिक्रिका लागि किसान चौतारीमा निःशुल्क ठाउँको ब्यवस्था समेत गरिएकोछ । तर निजी क्षेत्रका यस्ता बजारले तीन तहका सरकारबाट कुनै साथ र सहयोग पाउन सकेको छैन । न त यस्ता बजार प्रयोगमा ल्याएर फाईदानै लिन सकेको छ ।

यदि हामीले नेपालमै बाझै रहेका जग्गामा ठूलो भोलुममा टमाटर, आलु, प्याज, लसुन लगाएतका कुषि जन्य बस्तुको खेति गर्न सके नेपालमै थुप्रैले रोजगार पाउने छन् र ठूलो रकम विदेशिनबाट समेत रोकिन सक्छ । अनि यस्ता ठूला बजारहरुको भूमिका अझ बढेर जाने देखिन्छ । तसर्थ सरकारले कृषि क्षेत्रको यस्तो सम्भावना लाई स्पष्ट योजना बनाएर किसानलाई प्रोत्साहन गर्न जरुरी छ । यसो भएमा ठूलो युवा जनशक्ति विदेसिनबाट  रोकिन सक्छन् ।

पोखराको श्री कम्प्लेक्सका संचालक एवं नेपाल उद्योग बाणिज्य महासंघ कृषि उद्यम केन्द्र, तरकारी तथा फलफुल बजार उप समितिका संयोजक झलकलाल श्रेष्ठ नेपालमा निजी क्षेत्रको तरकारी फलफूल बजारको निकै महत्वपूर्ण भूूमिका रहेको बताउँदै यस्ता बजारले किसान, व्यवसायी र उपभोक्ता बीच पुलको काम गर्दै आएको बताए । निजी क्षेत्रका बजारले सरकारले गर्ने काम गरेर किसानका उत्पादनलाई बजारको ब्यवस्था गरिदिएको भएपनि यस्ता बजारलाई सरकारले कुनै सुबिधा दिन सकेको छैन भन्नुहुन्छ । उहाँले तिनै तहको  सरकारले यस्ता  बजारलाइृ  पानी, बिजुली, फोहर ब्यवस्थापन वा भाडामा केही सुबिधा दिएर हौसला बढाउन सक्नुपर्ने  बताउनु हुन्छ  ।

उता कृषि पूर्बाधार बिकास तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्र ललीतपुरकी समिक्षा बडाल निजी क्षेत्रले तरकारी फलफूल बजारमा खेलेको भूमिकालाई ध्यान दिँदै संघीय र निजी बजारका लागि निती र प्रचलित कानूनको अभिमुखिकरण एकसाथ गराउनुका साथै अन्तरक्रिया समेत गरिएको बताउनु हुन्छ । उहाँले आगामी दिनमा निजी क्षेत्रका बजारको महत्वलाई बुझेर केन्द्रले कार्यक्रम समावेस गर्ने सोच लिएको पनि जानकारी दिनुभयो ।

तसर्थ सरकार कृषि क्षेत्रका सम्भावना वारे गम्भीर हुन जरुरी छ । अब सरकारको कृषि मैत्री नीति, उत्पादनमा अनुदान, गाउँमै प्राबिधिक उपलब्धता, मल विउको सहज व्यवस्था, बजार र मुल्यको सुनिश्चितता, कृषिजन्य बस्तुको मूल्यमा विमा जस्ता विषयमा गम्भीर हुन आवश्यक छ ।

 

दामोदर खनाल
लेखकको बारेमा
दामोदर खनाल
स्तम्भकार