ताजा अपडेट »

साठीकोलदेखि बुटवलसम्म

ग्रामीण पर्यटन विकासका लागि गाउँकै यात्रा

बुधबार, १२ असार २०८१, ०८ : २२
1.04K Shares
बुधबार, १२ असार २०८१
1.04K Shares

मैदान गाउँबाट हिड्नेबेला पौने ६ बज्दै थियो विहानको । यो कुरा  असार ३ गतेको हो । साथमा मूर्तिकार एवम् कलाकारहरु हरि वयम्बू, बेनु थापा, सञ्चारकर्मीहरु जगिलाल थापा, रीमा सोमै, माधव पाण्डेय र कलाकार रनवीर अनि म त भइहालें । राति हल्का पानी परेको कारणले पूर्वीपाल्पाको मौसम चिसो थियो । यो मैदान गाउँ, पूर्वखोला गाउँपालिका वडा नं.२, जल्पाको किनारबस्ती हो । कृषि र बाख्रापालनसँगै पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावित स्थल समेत हो । करिव ६५ घरधूरी सबै मगरजातिको बसोबास रहेको मैदान गाउँ मनोरम छ । ५८ घर भेजामा समावेश रहेछन् । भेजा यहाँको सांस्कृतिक परम्परा रहेछ ।

मैदान गाउँको टापूबाट तल तलै हिडेर वडा नं.२, जल्पाको छेउको वस्ती साठीकोल पुग्नु थियो । त्यहाँ हामी पुग्दा विहानको सवासात बजिसकेको थियो । कच्चीबाटो, तुँवालोको कारण बाटो नदेखिने, गेग्रान बाटो, मोटरसाइकिलको सहारामा पुग्नु सास्ती थियो । घरि मोटरसाइकिललाई डोराउँदै, घरि लतार्दै, घरि दुईजना सरर तल गाउँतिर सर्किदै गुड्दाको अनुभव कसरी शब्दमा उतारुँ र ? जोखिम यात्राको बयान कठोर हुन सक्ला । भीरैभीरको बाटोमा पीरैपीर बोकेर हिड्नुको दुर्दशा कस्तो होला ?

गाउँमा पुगेपछि आनन्द आयो । कुहिरो डम्मै थियो । रनवीर र माधवले दानबहादुर ठाडा मगरकहाँ हामीलाई पुराए । तातोपानी पिलाइन् घरबेटी दिदीले । रातो चिया खाइयो । पार्लेजी बिस्कुट समेत हसुरियो । कला आमै पनि भेटिइन् । नब्बे उमेर पुगेपनि घरको काम गर्न विपत्तै टाठी । लाहुरेनी आमैको लामै अन्तर्वार्ता लिए कलाकार बेनुले । यता रीमाले सिआइएनएनका लागि दानबहादुर लगायत गाउँलेहरुसँग दालचिनी, अम्रिसो र स्थानीय विकास निर्माणका कुरा समेटेर वार्ता गरिन् ।

रनवीर, माधव र मैले स्थानीयको सहयोगमा कोतघरमा भएको हतियार हेरेका थियौं । खुँडा र खुकुरीहरु थिए । कोतघर अघि मौला थियो । गाउँलेहरुका आस्था केन्द्र रहेछ । गाउँ झुरुप्पै । मान्छेहरु नै टन्नै । ६ सय बढी जनसंख्या भएको कुरा सुनियो । एक घरबाट एक जनादेखि चार जनासम्म वैदेशिक रोजगारका लागि गएको कुरा सुन्दा पनि निरस लाग्यो । गाउँमा जनप्रकाश आधारभूत विद्यालय रहेछ । करिव ७४ जना विद्यार्थी रहेछन् । गाउँमा अम्रिसो, दालचिनी र तरकारी खेतीबाट मनग्य आम्दानी भएको दानबहादुर ठाडाबाट थाहा पाइयो । उनी गाउँकै विद्यालयमा १५ वर्षदेखि नै नीजिस्रोतका शिक्षक रहेछन् । स्नताक गरेका उनी दुईपटक संगीत विषयमा बुझ्न जापान गएका रहेछन् । गाउँमा संगीतसाधकहरुका लागि संगीत सिक्ने संगीत हल रहेछ । झनकसिं ठाडाको अध्यक्षतामा समिति गठन भइ यहाँ गिटार, मादल सिकाइदो रहेछ ।

साठीकोल वा साठीकोहल उच्चारण फरकफरक पाइयो गाउँको नाम पनि । कोहल घुम्ति । कोल तेल पेल्ने पुरानो घरेलु साधन । कसैले भने गाउँ पुग्न ६० वटा घुम्ति काट्नुपर्छ । त्यसैले गाउँको नाम साठीकोहल । कसैले भने गाउँमा तेल पेल्ने कोल थियो होला ६० वटा जति, त्यसैले साठीकोल हुन पुग्यो । सुन्दर छ गाउँ । ठाडा, सारु, रुचाल, लुङ्चे, राना, आले र लामिछाने थरका मगरहरु बस्ने गाउँ नै साठीकोल रहेछ ।

samev

गाउँमा लिफ्टिङ्गबाट पानीको व्यवस्था गरिएको रहेछ । यतिबेला पानीको सुविधा राम्रो देखियो । जापानी नागरिक ओके बाजी र साकुराइ हिरोकोले गाउँका बालबालिकाहरुलाई पानी बोक्दा पढाईमा असर पुग्ने देखेर आमाको पानी नाम दिएर गाउँमा पानी आएको थाहा पाइयो । जापानीज नागरिकहरुले नेपालमा गरेको सहयोग प्रशंसनीय छ ।

गाउँको उत्पादन बेच्न, बुटवल, स्याङ्जा, नवलपरासी पुग्ने चलन रहेछ । नजिकको बजार बनेको जल्पा, ढोलीमारा नै रहेछ । गाउँमा दालचिनी प्रशस्त देखियो । यही आम्दानीले गाउँलेहरु खुसी रहेछन् । तरकारी राम्रो उत्पादन हुँदो रहेछ तर बाटोको कारण असज देखियो । गाउँमै तरकारी बेचेर धेरै कमाउने युवाहरु समेत भेटिए ।

गाउँमा मगरभाषा गजवले बोलिदो रहेछ । तर मगरभाषाको पाठ्यपुस्तक भने पुगेको रहेन छ । सो कुरा स्थानीय विद्यालयका शिक्षक धनु सारुले बताइन् । उनीहरु विद्यालयको आवासगृहमा बस्दा रहेछन् । गाउँलेहरुको विद्यालयप्रति सहयोगी भावना रहेको, खाजा पकाउन अभिभावकहरु नै आउने गरेको समेत सुनाइन् ।

 sathikolbata

हामी हिड्ने बेला आकास खुल्यो केही । साठीकोलले आफ्नो घुम्टो उघार्यो । घण्टीफूलहरुले हामीलाई विदाई गरे । हामी गाउँ छाडेर उकालियौं । फेरि आइन्छ नाइँ थाहा भएन । तर गाउँको दृश्य र गाउँलेहरुका मायालाई मनमा कसेर उँभो लागियो । तर मनमा एउटै पीर बोकें मैले । केही समयपछि गाउँमाथि खानी खनिदै रहेछ । गाउँको उठिबास लाग्ने त होला नि अब ?   

गाउँमा झर्दाभन्दा उकालो चढ्दा मोटरसाईकिलमा सजिलो त भयो । दुई ठाउँमा मोटरसाइकिल नाँच्यो । बल्लबल्ल धकलेर मैदान गाउँमा आइयो । बेनुको इज्जतको सवाल नै भयो मोटरसाइकिल यात्रा । रीमाको हाँसोले यात्रामा रमाइलो थप्यो ।

मैदानमाथिको गाउँ हेरियो घडेरीथुम्का हेरियो । जहाँबाट हिमाल, पहाड र तराई सजिलै देखिने कुरा रनवीरले सुनाए । यतिबेला गाउँलेहरुले वृक्षरोपण गरेका रहेछन् । ओखरका बेर्ना रोपेका रहेछन् । टिम्बुर पनि रहेछन् । काफल त डाँडाभरि नै । गुराँस पनि उस्तै ।

ओरालो लागेपछि मैदान गाउँ आइयो । चन्द्रीसरा रखाल र मोहन रखाल सरकहाँ खाना खाइयो । त्यतिबेला विहानको ११ बजिसकेको थियो । सिल्टुङमा गहत मिसिएको दालसँग भात  । तरकारी अनि पुदिनाको चटनी ।  थपीथपी स्याम्म खाइयो खाना । खाना खाएपछि रीमाले चन्द्रिका मेडमसँग बाख्राको, रनवीरसँग बाजाको, खडकसिं बाह्रघरेसँग फलामका काम बारेमा अन्तर्वार्ता गरिन् । बेनु र हरिले भित्तामा लेख्न थाले । आधाघण्टा जति आँखाको विष मारें ।

दिउँसोको एक वजे हामी मैदानबाट मोहन सर, खडक दाइ, चन्द्रिका मेडमहरुसँग विदा मागेर ढोलीमारा हुँदै जल्पा पुगियो । जल्पादेवी मन्दिर, ओके बाजीले हेलीकप्टर ल्याण्ड गरेको अग्लो डाँडा हेरियो । मादले गुफामा पुगियो । माधव, रनवीर र बेनु दाइ गुफामा विपत्ता भएको खबरले मन आत्तियो पछि उनीहरु निस्किए । जल्पाको कान्छी दिदीकहाँ माया रानाले दिएको रोटी, मटर र अण्डा नास्ता खाइयो । त्यतिबेला दिउँसोको चार बजेको थियो । माधवका घरमा कागतीपानी खाएर शित्तल भएको थियो ।

ytrama

रनवीर, माया र माधवलाई जल्पाकै जिम्मा दिएर हामी त्यहाँबाट  बेसर्घा पुगियो । कमलादेवी प्रावि स्कूल हेरियो । पुरानो भवन र विद्यार्थीलाई धराप भएको पढेको थिए । विद्यालयका प्रअ धनुमायासँग फोनमा कुरा भयो । उनी शनिवारका दिन घरतिर रैछिन् । कार्यपालिका सदस्य रेवती घर्तिमगरकहाँ पुगियो । भेटियो । उनको चियाको अनुरोधलाई ढिला भएको कारण स्वीकार्न सकिएन । पानीधरि नपिइ हिडेकोमा चर्को गुनासो आजपनि उनको कायमै छ ।

काफलडाँडाबाट रीमा र जगिलाललाई विदा गरेर हामी देवीनगर पुगियो मेहरसिं थापाकहाँ । एकछिन भुलेर हामी अघितिर हिडियो । हुमिनबाट रामपुरतिर बाटो लगाइदियौं हरि वयम्बूलाई। त्यसपछि म र बेनु आर्यभञ्ज्याङ्गहुँदै बुटवल आइयो । त्यतिबेला रातिको सवा आठ बजिसकेको थियो ।

 


 

 

 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार