ताजा अपडेट »

ग्रामीण पर्यटन विकासका लागि गाउँतिरकै यात्रा

पर्यटन विकासका लागि आफ्नो गाउँ आफै चिनौं, आफै हिडौं अभियान

आइतबार, ०९ असार २०८१, १० : १८
614 Shares
आइतबार, ०९ असार २०८१
614 Shares

खाना खाने बेला दिउँसोको डेढ बजिसकेको थियो । त्यतिबेला पूर्वखोला गाउँपालिका वडा नं. ४ को देवीनगर बजारमा थियौं हामी । मसँग कलाकारहरु बेनु थापा, हरि बयम्बु र पत्रकारहरु रीमा सोमै अनि जगिलाल थापा थिए ।  पर्यटन विकासका आधार र सम्भावनाहरु खोज्दै गाउँ पुगेका थियौं । पर्यटन मनोरञ्जनमात्र हो कि, व्यापार, व्यवसाय हो कि, उद्योग हो अहिलेसम्म कुनै ठेगान लाग्न सकिरहेको छैन । कसैले धूँवारहित उद्योग नै पर्यटन हो भनेका छन् । कोही भन्छन्-पर्यटन त व्यवसाय हो । सबैका तर्क एउटै छैनन् । सबैका मत एक छैनन् पनि ।

तैपनि हामीले ग्रामीण पर्यटनबाट कसरी गाउँलेहरुका जीवनमा समृद्धि आउन सक्ला भनेर अध्ययन गर्न हिडेका थियौं । यो कुनै स्वदेशी वा विदेशी परियोजनाको सहयोगमा सञ्चालित कुनै यात्रा पनि  थिएन । हामीले आफ्नौ खर्चमा भट्भटे कुदाएका थियौं । नास्ता खाएका  थियौं तर ग्रामीण क्षेत्रका नागरिकहरुले स्वागत र सम्मानपूर्वकको गाँस र बासलाई नाइँ भन्न सकेनौं ।  

reporting

 

उकालो बाटो हुँदै देवीनगरको भानुमाता मन्दिर हेरेका थियौं । मन्दिर माथिपट्टिको सम्मोभाग र पिकनिक स्पट समेत हेरेका थियौं । एक झर्को पानी समेत त्यहीको सेडमा बस्दा खेप्यौं । स्थानीय भानुमाता सामुदायिक वनका अध्यक्ष र सचिव लगायतका साथीहरुसँग यहाँको पर्यटन विकासका बारेमा छलफल गरेका थियौं । साथमा सोही वडाका वडाध्यक्ष एवम् पालिका प्रवक्ता मेहरसिं थापा, समाज उत्थान सहयोग केन्द्रकी विष्णु जीसी समेत सहभागी भएका थिए ।

सामुदायिक वनको बीचमा पिकनिक स्पट उचित नहुने तर्क पेस गरे मैले । त्यहाँ बरु देशभरिका विरुवाहरु रोप्ने नमूना वनस्पति पार्क बनाउन सकिएमा उत्तम हुने सुझाव दिएँ । विजुली पुगिसकेको रहेछ । पानीका लागि ठूलो रिजार्ज पोखरी खनिएको रहेछ । वरिपरि काफलका रुखहरु थिए । सुकाठ कतै देखिएनन् । लुम्बिनी प्रदेश सरकारको जिल्लामा एउटा वनस्पति पार्क बनाउने सपना अहिलेसम्म रोल्पाले बाहेक अरुले पूरा गर्न सकेको छैन । यो कुरा डिभिजन कार्यालय,पाल्पाका वरिष्ठ डिभिजनल अधिकृत नारायणदेव भट्टराईबाट थाहा लाग्यो । यस्तो पार्क भानुमाता सामुदायिक वनभित्र बनाउन सकिएमा राम्रो हुने हामी सबैको सहमति भयो । सोही वडाको चिर्तुङनिर रहेको भेजाडाँडामा पर्यटकीय स्थल बनाउने योजना रहेको वडाध्यक्षले बताएका थिए । भेजा चढाउने ठाउँमा अर्मूत मूर्ति बनाउन सल्लाह मूर्तिकार एवम् कलाकार हरि वयम्बु र बेनु थापाले दिए । सम्मो पारिएको उक्त भागमा कलात्मक भेजा मन्दिर बनाउन सकेमा स्थानीय गाउँलेहरुलाई पूजाआजा गर्न सजिलो र पर्यटकहरुलाई आकर्षण समेत थप्ने थियो ।

स्थानीय बासिन्दाहरुको समेत उपस्थिति रहेको उक्त ठाउँमा गाउँलेहरुले सो क्षेत्रमा वृक्षरोपण गर्ने,हरियाली बनाउने, केही सेट बनाउने,बालबालिकाहरुलाई भुल्ने पार्क बनाउने र बीचमा फूट ट्रेल बनाउने इच्छा रहेको  सुनाए । ढोलीमारा होमस्टेमा जाने पर्यटकहरुलाई यहाँ पसालेर लैजान सकिएमा जाती हुने सबैको तर्क थियो । मैलेचाँही भेजाडाँडामा धजा बाँध्ने चलन विकास गर्न सकिएमा राम्रो हुने सुझाव दिएँ ।

mandir

जल्पाको सत्यवती मन्दिर पुग्नेबेला पानी आउला जस्तो भो । यो कुरा असार दुई गते चुरे दिवसको हो । पूर्वखोला गाउँपालिका वडा नं.२ जल्पाका वडाध्यक्ष निरबहादुर सारु हामी त्यहाँ पुगेको सात मिनेटमा आइपुगे । मन्दिर कलात्मक बनेको छ । मन्दिरमूनि ताल बनेको छ । पानीको फोहोरा फाल्ने योजना रहेछ । मन्दिरभित्र कस्तो मूर्ति राख्ने कुराको सल्लाह हरि र बेनुले दिए । छेवमैमा पालिकाको एकमात्र खेलमैदान तयारी अवस्थामा रहेको देखियो ।

वडाध्यक्षले आफ्नो वडालाई पर्यटकीय सम्भावनाको वडा भएको अन्तर्वार्ता रीमा सोमै र जगिलाल थापालाई दिए । मिठो अन्तर्वार्ता दिएका थिए । निरबहादुर सारुले आफूले जल्पालाई चिनाउन कम्मर कसेर लागेको सुनाएका थिए । ढोलीमारा पुग्दा आकासमा बादल मडारियो तर माया रानाको लिची खाने अनुरोधलाई बालले छेकेन । किला एक लिची मिठोगरी खाइयो । कुरा गर्नभन्दा पनि लिची चुस्ने कुरा प्राथमिकतामा परेको थियो हाम्रो ।

pokhari

मायाले पानीले रुझाउँछ क्यारे भन्दै गर्दा हामीले मोटरसाइकिलको कान बटारेर दौडियौं । लाँकुरीडाँडामा पुग्दा हल्का पानीका थोपाले स्वागत गर्दै थियो । स्पीड कम नगरी बहादुरपुर  र मैदान जाने दोबाटोमा नपुग्दै पानीले लुछुप्पै पा¥यो । हामी झनै कुद्यौं । मैदान पुग्दा पानीले बिदो लियो तर हामीभने एकफरे गजवले रुझ्यौं ।

रनवीर बरालको दिदीको घरअघि हाम्रा भटभटे र स्कूटी रोकिए । रनवीर र माधव पाण्डेय हामीलाई भेट्न आइपुगे । हामी स्थानीय कमला आधारभूत विद्यालयतिर लाग्यौं । हेडसर मोहनबहादुर रखाल सरले चाँबी खोलेर सभाहलमा हामीलाई पराए । गाउँमा विहे रहेछ । जन्तीहरु गइसकेका थिए हामी गाउँपुग्दा ।

reoprt

मैदान गाउँको पर्यटकीय सम्भावना र उपायहरुका विष्।यमा अन्तक्र्रिया काम सुरु भयो । मैले सो विषयमा अवधारणा पत्र पेश गरें । प्रमुख अतिथिका रुपमा रहेको वडाध्यक्ष निरबहादुर सारु, स्थानीयहरु मोहनबहादुर रखाल,माधव पाण्डेय,रनवीर बराल,चन्द्रिका रखाल,जगिलाल थापा,हरि बयम्बु,बेनु थापा र रीमा थापाले कार्यक्रममा सहभागिता जानएका थिए । गाउँलेहरुको उपस्थिति उल्लेखनीय नै थियो ।

मैदानमा गाउँमा रहेका सिद्धलेक, घडेरीथुम्का, कोतघर, भुटीरह लगायतका स्थानहरुको भौतिक विकास एवम् यहाँ रहेको लोकसंस्कृति र सम्पदाको प्रचारप्रसार गर्न सकिएमा पक्कै पनि गाउँमा आन्तरिक एवम् बाह् पर्यटकको आगमन हुने कुरामा कुनै द्विविधा रहने छैन । ढोलीमारा गाउँमा आएका पर्यटकहरुलाई मैदानसम्म ल्याउन प्रयास गरेमा राम्रो हुने र ढोलीमारा होमस्टेलाई मैदान गाउँले विभिन्न तरिकाले सहयोग गर्नुपर्ने देखिन्छ । जस्तैः होमस्टेलाई चाहिने तरकारी, अचार, स्थानीय रक्सी,भाले,खसी र बोका अनि कोसेलीका रुपमा झोला,खादा समेत । त्यसो गर्न सकिएमा ढोलीमारा र मैदानको सम्बन्ध नङ र मासुकोजस्तै हुनेछ । यतिबेला स्मार्ट बाख्रापालन , मौरीपालन, अम्रिसोखेती र तरकारी खेतीबाट मैदान परिचित छ ।

रनवीरकहाँ गास हालियो र मोहन सरकहाँ बास बसियो । त्यतिबेला रातको ११ बजिसकेको थियो  । प्रमुख अतिथिका रुपमा आएका वडाध्यक्षभने आफ्नै घरतिर राति नै टाप कसेका थिए ।

 

 

 

 

 

 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार