ताजा अपडेट »
सन्दर्भ : विश्व रक्तदान दिवस

रगत माग्न आउने दिन डराउने आखिर कहिलेसम्म ?

शुक्रबार, ३२ जेठ २०८१, ०९ : ५३
328 Shares
शुक्रबार, ३२ जेठ २०८१
328 Shares

भनिन्छ मानिसको जीवन अमुल्य छ ? न कसैले पैसाको विटोले किन्न सक्छ न त  साट्न नै । यहि अमूल्य जीवनमा कहिले काहि नसोचेको दुःखत दिनहरु आई पर्छ । र त्यसलाई बचाउन रगतको अति आवश्यक पर्दछ । त्यसैकारण त रगतको माग दिन प्रतिदिन निकै बढ्दै गएको छ । रगतको माग बढ्नु भनेको पछिल्लो समयमा निकै काहालि लाग्दा सडक दुर्घटना, भूकम्प, बाढी, पहिरो एवं महिलाका सवालमा अनिच्छित गर्भधारण, सिजेरियन अपरेशन जस्ता कुराले पहिलेको तुलनामा अहिले रगतको माग बढ्दै गएको हो । अधिक रक्तस्रावका बिरामी, प्रसूति, मुटु–मस्तिष्क लगायतको शल्यक्रिया र दुर्घटनामा परेकालाई बचाउन रगत अनिवार्य हुन्छ । थालासेमिया, ल्यूकेमिया लगायतको रक्त क्यान्सर, हेमोफिलिया लगायतको रक्त क्यान्सर र रक्त अल्पताजस्ता समस्यामा रगत आवश्यक परिहन्छ ।

ब्लड बैंकका तथ्याङ्क नियाल्दा नेपालमा वार्षिक ३ लाख ५० हजारदेखि ४ लाख युनिटसम्म रगतको माग हुँदै आएको छ । आधुनिक विज्ञानले अन्य क्षेत्रमा ठूलो फड्को मारे पनि कृत्रिम तरिकाले रगत बनाउने सूत्र फेला पार्न सकेको छैन । पछिल्लो समयमा ब्लड बैंकहरुले आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेका छैनन् । योग्य व्यक्तिहरुले पनि रक्तदान नगर्ने प्रवृतिले गर्दा देशमा रगतको चरम संकट परेको हो । अस्पतालले रगत चाहियो भन्छ, रगत मागको फारम बोकेर विरामीका आफन्त ब्लडबैंकमा लाइनबद्ध हुन्छन । रगतमाग गर्छन । जव रगतको अभाव हुन्छ त्यहीबाट आवाज आउछ रगत पाईएन । कहिले काही व्लड बैकका प्रतिनिधिहरुको सवाल रहन्छ तपाई रक्तदान गर्न सक्षम हुनुहुन्छ । रक्तदान गर्नुहोस केही सहज हुन्छ  । तव ति आफन्तलाई आफू कमजोर बनिन्छ । रगत दिनु हुँदैन भन्ने लाग्छ र रगत दिन मान्दैनन् । यो हुनुको पछाडि हामीले अहिलेसम्म बुझाउन नसकेको कुरा के छ भने रगत दिँदैमा कोही कमजोर बन्दैन ।

पुरुषको शरिरमा प्रतिकेजी ७६ एमएल र महिलाको शरिरमा प्रतिकेजी ६६ एमएल रगत हुन्छ । तर हामी मानवको जीवन संचालनार्थ ५० एमएल रगत भए पुग्छ । त्यसकारण पुरुष र महिलाको शरीरमा प्रतिकेजी क्रमश २६ र १६ एमएल रगत बढी नै हुने गर्दछ । यही बढी भएको रगतमात्रै दान गर्ने हो । कसैको जीवन बचाउने रक्तदान नै सबैभन्दा ठूलो धर्म हो । हामीले शरीरमा भएको रगत दान नगरेपनि तीन महिनामा त्यो रगत त्यत्तिकै खेर जान्छ । खेर जाने रगत दान गर्दा कसैको ज्यान बच्छ भने किन नगर्ने ? रगत बिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । सोइच्छाले रगत दान गर्नुनै रक्तदान हो । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो । तर रक्तदान गर्नु अघि केही कुरामा ध्यान भने अवश्य  पुर्याउनुपर्छ । स्वस्थ शरीर, मानसिक सन्तुलन ठीक, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको, मलेरिया, क्षयरोग, जन्डिस, मधुमेय तथा एचआईभी एड्स नलागेको व्यक्ति रक्तदान गर्न सक्षम हुन्छन् । गर्भवती र महिनावारीको समयमा रक्तदान गर्न मिल्दैन भने  सुत्केरी भएको छ महिनाभन्दा पछि मात्रै रक्तदानमा सहभागि हुन सकिन्छ । शहरदेखि गाँउसम्मका आम नागरिक समक्ष यी कुरा बुझाउन सक्यो भनेमात्र पनि केही हदसम्म रगतको मागलाई सहज रुपमा वितरण गर्न अव्वल हुने थिए ब्लड बैंक ।

रगतले शरीरभित्र पोषण, लवण, हर्मोन, भिटामिन, अक्सिजन, रोगसँग लड्ने एन्टिबडीसँगै कार्वनडाइअक्साइड, युरियाजस्ता विकार ओसार–पोसार गर्छ । रगतको रातो रक्तकणले अक्सिजन तथा कार्वनडाइअक्साइड चलायमान गर्न, श्वेत रक्तकणले रोगसँग लड्न र प्लेटलेट्सले रगत जमाउने काम गर्छ । रक्तदान गर्दा कतिपय मुटुजन्य रोगका समस्या र कतिपय मधुमेहजन्य रोगका समस्या निदान हुने विभिन्न स्वास्थ्य अनुसन्धानले प्रमाणित गरेको छ । रक्तदान गर्दा केही रोगको परीक्षण गरिने हुँदा आफूमा स्वास्थ्यको सतर्कता रहन मद्दत गर्छ । यसरी रक्तदान गर्नु सबैभन्दा ठूलो आत्मसन्तुष्टि हो । यसले कसैको जीवनलाई मात्र नभई उसको घरबार पनि बचाउँछ । परिवारको कोही सदस्यको निधनलाई केही हदसम्म दुर लैजान सक्छ । देशमा शिक्षित व्यक्तिको संख्या वृद्धि भएपनि अझै रक्तदानको ज्ञान बारेमा पर्याप्त जानकारी छैन । रक्तदान गर्दा कमजोर भइन्छ भन्ने भ्रम हटाऔं ।

रक्तदान गर्नुपूर्व विभिन्न स्वास्थ संस्थाबाट रक्तदान सम्बन्धी जानकारी लिन सक्छौं । रक्तदान जीवनदान हो । मन्दिरमा गएर धूप बत्ती बाली लाखौंको फलफूल, प्रसाद चढाएर धर्म हुँदैन । रक्तदान गरेजस्तो पुण्यको काम अरु केही हुँदैन । हामीले रक्तदान नगरे आवश्यक व्यक्तिले कसरी रगत पाउँछन् । कुनै बेला हामी आफैलाई रगत चाहिँदा कसले दिन्छ ? नेपालमा २००० सालदेखि रक्तदान कार्यको सुरुवात भएको इतिहास छ । ‘रक्तदान जीवनदान । रक्तदान महादान’ मुल मन्त्र सहित रक्तदानगरी समासेवी दयावीरसिंह कंसाकार नेपालका पहिलो रक्तदाता बने । हाल नेपालमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेम कर्मचार्यले १७८ पटक रक्तदान गरिसकेका छन् भने महिला तर्फ निता घिरईयाले १६४ पटक रक्तदान गरेकी छन् । त्यसैले रक्तदान गरौं र अरुको अमूल्य जीवन बचाऔं ।

 

उषाकिरण पन्थ
लेखकको बारेमा
उषाकिरण पन्थ