ताजा अपडेट »

नेपालमा भित्रियो मनसुन : सरदरभन्दा बढी वर्षा हुने, बाढी पहिरोको जोखिम

सोमबार, २८ जेठ २०८१, १४ : २४
5.39K Shares
सोमबार, २८ जेठ २०८१
5.39K Shares

बुटवल । यस वर्षको मनसुन नेपालमा भित्रिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो वर्ष सरदर मितिभन्दा तीन दिन अगाडि नै मनसुन नेपाल भित्रिएको महाशाखाले जनाएको छ । गत वर्ष नेपालमा १२४ दिनसम्म रहेर २८ असोजमा मनसुन बाहिरिएको थियो । सरदर मितिभन्दा एक दिन ढिला गरी ३१ जेठमा भित्रिएको मनसुन १३ दिन ढिलो बाहिरिएको थियो ।

हाल कोशी प्रदेशमा केन्द्रित रहेको मनसुन नेपालका अन्य भूभागमा केही दिनभित्रै क्रमिक रुपमा फैलिँदै जाने छ । नेपालमा दक्षिण हिन्द महासागर, भारतको केरला, बंगालको खाडी, सिक्किम हुँदै नेपालको ताप्लेजुङ–इलामतर्फबाट मनसुन नेपाल प्रवेश गर्छ । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टुबर २ तारिखमा बाहिरिने गर्दछ ।

महाशाखाका अनुसार आज कोशी प्रदेशमा मनसुन भित्रिए पनि नेपालको सुदूरपश्चिमसम्म फैलिन भने अझै केही दिन लाग्ने छ । महाशाखाले जेठ २६ गते विशेष बुलेटिन जारी गर्दै जेठ २८ गतेसम्म तातो हावा चल्ने भएकाले सतर्कता अपनाउन भनेको थियो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष सरदरभन्दा बढी वर्षा र सरदरभन्दा बढी गर्मी हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म छ । विभागका अनुसार सुदूरपश्चिम प्रदेशको उत्तरपश्चिम भूभाग, बागमतीको दक्षिण पूर्वी भूभाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिम भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

बढी वर्षा हुँदा बाढी पहिरोको जोखिम पनि बढी हुने भएकाले  पूर्व सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । दक्षिण एसियाली देशमा मनसुनलाई ठूलो असर गर्ने प्रणाली भनेको प्रशान्त महासागरमा देखिने ‘अल–निनो’ र ‘ला–निनो’ गतिविधि हो । समुद्रको सतहको पानी सामान्यभन्दा बढी तातेको अवस्थालाई ‘अल–निनो’ भनिन्छ । यसको असर वायुमण्डलमा पर्दा कम वर्षा हुन्छ ।

‘अल–निनो’को ठिक उल्टो ‘ला–निनो’ हो । अर्थात् समुद्रको सतहको तापक्रम औसतभन्दा चिसो भयो भने त्यसलाई ‘ला–निनो’ भनिन्छ । यसो हुँदा औसतभन्दा बढी वर्षा हुन्छ र बाढी पहिरोको जोखिम बढी हुन्छ । गत वर्ष अलनिनोको प्रभाव थियो । त्यसैले नेपालमा कम वर्षा हुने र बढी गर्मी हुने भनेर जल तथा मौसम विज्ञान विभागले गरेको प्रक्षेपण मिलेको थियो ।

यस वर्ष भने ‘ला–निनो’को प्रभाव छ । सास्कोफका अनुसार चार महिनाको मनसुन अवधिमा सुरुका दुई महिना (जुन–जुलाई)मा ‘अल–निनो’को स्थिति तटस्थ अवस्थामा रहने अनुमान छ । त्यसपछिका दुई महिना अर्थात् (अगस्ट–सेप्टेम्बर)मा ‘ला–निनो’को अवस्था हुने सास्कोफको निष्कर्ष छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।