ताजा अपडेट »

कपिलबस्तुको पुरातात्विक अन्वेषण, संरक्षण र विकासका लागि बृहत गोष्ठिको प्रस्ताव

शनिबार, १२ जेठ २०८१, ०८ : ५८
92 Shares
शनिबार, १२ जेठ २०८१
92 Shares
लुम्बिनी । प्राचिन कपिलबस्तुको पुरातात्विक क्षेत्रको अन्वेषण, उत्खनन संरक्षण तथा विकासका लागि बृहत गोष्ठि गर्नुपर्ने प्रस्ताव गरिएको छ । २५६८ औं बुद्धजयन्तीका दिन प्राचिन कपिलबस्तुको तिलौराकोटमा शुक्रबार आयोजित बुद्धजयन्ती तथा प्रसुती उत्सव समारोहमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले सबै सरोकारवालाहरुविच एकै ठाउँमा बसेर साझा धारणा र बुझाईका लागि बृहत गोष्ठिको प्रस्ताव गरेका हुन ।
 
उपाध्यक्ष डा. लामाको प्रस्तावमा समारोहका प्रमुख अतिथि राष्ट्रियसभाका उपाध्यक्ष बिमला घिमिरेले समर्थन जनाउँदै अब सबै पक्ष बसेर कपिलबस्तुको पुरातात्विक अन्वेषण, संरक्षण र विकासका लागि साझा दृष्टिकोण बनाउनुपर्ने बताईन । उनले लुम्बिनी विकास कोषले कपिलबस्तुलाई उपेक्षा गरेको गुनासो धेरै हुने तर यसको समस्याबारे एकै ठाउँमा बसेर छलफल गर्दा त्यसले परिणाम ल्याउन सहयोग गर्ने बताईन । ‘मन्त्रीदेखि सांसदसम्मले गुनासो गरेका छौं, खासमा बुद्धको गृहनगर कपिलबस्तु ओझेलमा किन छ, यसबारेमा जनप्रतिनिधि, स्थानीयहरु सबै जागरुक बनौं’ उपाध्यक्ष घिमिरेले भनिन ।बुद्धजयन्तीको भोलिपल्ट लुम्बिनीबाट तिलौराकोटमा दरबार ल्याइएको शिशु बुद्धलाई स्वागतपछि लुम्बिनी विकास कोषको आयोजना तथा कपिलबस्तु नगरपालिकाको सहयोगमा तिलौराकोट दरबारमा प्रसुती उत्सवका रुपमा कार्यक्रम गरिएको थियो । कार्यक्रमलाई भव्य बनाउनका लागि कपिलबस्तुवासीले समेत बुद्धजयन्तीलाई महत्व दिनुपर्नेमा उपाध्यक्ष घिमिरेले जोड दिईन ।
 
कोषका उपाध्यक्ष डा. लामाले नियुक्त भएदेखि नै बुद्धको गृहनगरलाई व्यवस्थित र एक करोड बढि बुद्धिष्टहरुलाई आमन्त्रण गर्ने गरी विकास गर्ने सोँच बनाएको समेत बताए । उनले पुरातात्विक स्थल भएकाले कतिपय संरचना बनाउन चाहेर पनि बनाउन नसकेको भन्दै आगामि दिनमा कसरी जाने भन्नका लागि बृहत रुपमा गोष्ठि गर्नुपर्ने बताएका हुन । उनले कपिलबस्तुबाट प्रतिनिधित्व गर्ने मन्त्री, सांसद, पूर्व सांसद, कपिलबस्तुका सम्पूर्ण स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक पार्टीका नेता, पुरातत्व विभाग र विज्ञहरु बसेर कपिलबस्तुलाई विकास गर्नका लागि सार्वजनिक सुनुवाई गर्न आवश्यक रहेको बताए । ‘अब गुनासो गर्ने मात्रै होईन, समस्या कहाँ छ, कस्ले बनाएको छ, त्यसलाई चिर्नका लागि सिंहदरबारमा दवाव दिनुपर्छ’ उनले भने । उनले आफूहरुले चाहेर मात्रै पुरातात्विक स्थलहरुमा चाहेर विकास गर्न नसकिने बताए । 
 
उनले तिलौराकोटलाई कोषले प्राथमिकतामा राखेर काम अघि बढाएको र केही वर्षमै अब तिलौराकोट विश्व समपदा सूचीमा सूचीकृत हुने बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री अर्जुनकुमार केसीले बुद्धको गृहनगरको विकासको गति निकै सुस्त भएको भन्दै कोषले ध्यान दिनुपर्ने बताए । उनले विदेशी विश्व विद्यालयको प्रयोगशाला मात्रै कपिलबस्तुलाई नबनाउन आग्रह गर्दै तिलौराकोटमा हुने उत्खननमा नेपाली विज्ञ टोली उत्पादन गरी अघि बढ्न सुझाव दिए ।
 
लुम्बिनी प्रदेशका सांसद  सुधाकर पाण्डेयले लुम्बिनीमा लुम्बिनीमा प्रधानमन्त्रीको उपस्थितीमा बुद्ध जयन्ती तामझामका साथ मनाइरहँदा तिलौराकोटमा सामान्य कार्यक्रम गरेर मनाइएको गुनासो पोखे । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेल, कोषका बोर्ड सदस्य नारद कोहार, परिषद सदस्य गोपिकृष्ण शर्मा, दामोदर सापकोटा लगायतले बोलेका थिए । यस्तै सोही अवसरमा माछापुच्छ«े बैंकले कपिलबस्तु क्षेत्रको सरसफाईका लागि ‘ग्रास कटर’ मेशिन प्रदान गरेको छ । माछापुच्छ«े बैंक लुम्बिनी शाखा प्रवन्धक बर्षा खनाल र तौलिहवा शाखा प्रमुख संघर्ष रेग्मीले कोषको तिलौराकोट सम्पर्क कार्यालयका प्रमुख माधव प्रसाद आचार्यलाई हस्तान्तरण गरे । 
 
प्रसुती उत्सव कार्यक्रममा प्रदेशका सांसद गिरीधारीलाल न्यौपाने, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, बोर्ड सदस्य श्याम रोक्का, विभिन्न स्थानीय तहका वडाअध्यक्ष, पत्रकार, विज्ञ र स्थानीयहरुको उपस्थिती थियो । प्रत्येक वर्ष लुम्बिनीबाट मायादेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कदै गर्दाको प्रतिकको रुपमा लुम्बिनीबाट शिशु बुद्व प्राचीन कपिलबस्तुको तिलौराकोट दरबार ल्याउने गरिएको छ ।
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।