ताजा अपडेट »

शिक्षण छाडेर पशुपालनमा रमाइरहेका गोपाल

बुधबार, २६ बैशाख २०८१, १२ : ०८
148 Shares

घोराही । दाङको घोराही उपमहानगरपालिका–२ रामपुर निवासी ३४ वर्षीय गोपाल खनाल वि.सं. २०७३ सालअगाडि शिक्षण पेसामा आवद्ध थिए । गाउँमै एक बोर्डिङ स्कुलमा पढाउँदै आएका उनी पछिल्लो आठ वर्षदेखि भने शिक्षण छोडेर कृषि पेसामा लागिरहेका छन् ।

‘ग्रीन लक्ष्मी गाई तथा भैँसी फर्म’ स्थापना गरेदेखि उनी अरु सबै काम छोडेर यही पेशामा रमाइरहेका छन् । “शिक्षण पेसा अथवा अन्य कुनै जागीर गर्नुभन्दा आफ्नै व्यवसाय गर्दा आत्मसन्तुष्टि र आम्दानी पनि हुने बुझाइसहित फर्म स्थापना गरेको थिए । अहिले यसमै रमाइरहेको छु”, खनालले भने, “कोरोनाको समयमा केही समस्या भए पनि अहिले सहज हुँदैगएको छ । अब त यसैमा अभ्यस्त भइसकेँ ।”

सुरुका दिनमा चार लिटरबाट दूध बेच्न सुरू गरेका उनले हाल एक सय २० लिटर उत्पादन गरेर बिक्री गरिरहेका छन् । त्योमध्ये अधिकांश दूध डेरीलाई बिक्रिविरण गर्दै आएको बताउने उनलाई अहिले बिहान उठेदेखि बेलुकासम्म गाईभैँसीको स्याहारसुसार र दूधको चाजोपाँजो मिलाउन भ्याइनभ्याई छ । परिवारको सहयोग र आफ्नो मेहनतले रु ४० हजारबाट सुरू गरिएको व्यवसायमा अहिले रु ६० लाख लगानी पुगेको खनालको भनाई छ ।

“सुरुआती दिनमा व्यवसाय कसरी अगाडि बढ्ला भनेर चिन्ता लाग्ने गर्थ्यो तर निरन्तर मेहनत गरेमा सफलता मिल्दो रहेछ । अहिले मासिक रु एक लाखको कारोबार गरिरहेको छु भने वार्षिकरूपमा करिब रु सात लाखसम्म बचत हुने गरेको छ”, खनालले भने। उनले गाईभैँसीका लागि आवश्यक दाना बजारबाट किन्ने गरे पनि घाँस भने आफैँ उत्पादन गर्न थालेदेखि आम्दानीको केही रकम जोगाउन सकिएको बताए । उनी स्थानीय सरकारले किसानको समस्या बुझ्न र व्यवसायवृद्धिका लागि प्रोत्साहन गर्नसके थप सहज हुने बताउँछन् ।

व्यावसायिक पशुपालन र कृषि उद्यम गर्न चाहनेहरूलाई सरकारले सहुलियतका कार्यक्रम ल्याए विदेशीन चाहने युवालाई पनि स्वदेशमै रोक्न सकिने धारणा उनको छ । किसानका लागि सहुलीयतका कार्यक्रम ल्याउनसके धेरै जना उद्यमशीलतातर्फ आकर्षित हुन्छन् भन्ने उनको विश्वास छ । त्यसो गर्न नसके पनि भएका नीतिनियमको कार्यान्वयन र किसानमैत्री ऐन कानुन बनाउनसकेमा पनि उद्यमशीलता विकासमा टेवा पुग्नसक्ने उनले बताए । “मजस्ता उद्यमशील युवाले स्थानीय सरकारलाई आग्रह नगरेका पनि हैनौँ तर विविध कारणmे जिल्लामा विभिन्न पेसा–व्यवसायमा जोडिएका युवासमेत पछिल्लो समय व्यवसाय नै बन्दगरेर विदेशीन थालेका छन् । यसलाई रोक्न जरूरी छ”, उनले भने ।

डेरीलाई प्रतिलिटर रु ७० मा बिक्री गर्ने उनको सबैभन्दा ठूलो चित्त दुखाइ आफैँले उत्पादन गरेको दूधको मूल्य निर्धारण प्रक्रियामा सङ्लग्न हुन नपाउनुमा छ ।  “हामीले नाफाघाटा, दुःखकष्ट सहेर उत्पादन गर्छौ तर न सरकारले दूधको उचित मूल्य निर्धारण गर्छ न त मूल्य निर्धारण प्रक्रियामा कृषकलाई सहभागी गराउँछ । यसले हामीलाई निराश बनाएको छ”, खनालले गुनासो गरे ।

खनालको फर्ममा अहिले २८ वटा गाईभैँसी छन् । उनीलगायत घोराही उपमहानगरपालिका–२ रामपुर क्षेत्रका किसानबाट दैनिक एक हजार लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।