ताजा अपडेट »
कथा:

मैयाँको मन

शनिबार, ०८ बैशाख २०८१, १२ : ४७
574 Shares

मैयाँको खाजा, खानाको होटलमा रक्सी र चुरोट पनि थपियो पछि । चुरोटको धुँवा उडाउँदै मैयाँको मायालाई धुँवाभित्र रुमल्ने सपना बोके कति ग्राहकहरुले । रक्सीको चुस्की लिदै उनको बैंशलाई काखी च्यापेर दिल्ली, बम्बै पुग्ने कल्पना गरे कति ग्राहकले ।

मैयाँले आठ पास गरेपछि स्कूल छाडिन् । बाबाआमाले यति पढेपछि पुग्छ । योभन्दा धेरै पढाउन सकिन्न भने । मैयाँले पढ्छु नै भनेर जिद्दी गर्न पनि सकिनन् । त्यतिबेला उनको उमेरले १४ पुगेर १५ टेक्दै थियो । गाउँको बस्ती । घाँस, दाउरा, सोत्तर, पानी गर्दै घरधन्दामा नै जीवन बिताउन थालिन् । पढाइ छाडेपछि उनको हात माग्न, धुइरो नलागेको पनि हैन । उमेर पुगेको छैन भनेर उनका बाबाआमाले मैयाँलाई विहे गरिदिएनन् । घरधन्दा गरेर आमाबाबालाई खुसी पारेकी थिइन् मैयाँले । मैयाँका दुईटी दिदीहरुले भागी विहे गरेका थिए । दाइले पनि भगाएरै विहे गरेका थिए । तर मैयाँलाई भने धुमधाम, बाजागाजासहित मागी विहे गर्ने इच्छाले राज जमाएको थियो ।

कहिले भारतीय लाहुरे माग्न आउँथे, कहिले गाउँकै मास्टरहरुले माग्न आउँथे अनि नेपालका प्रहरी, सेनाले पनि उनको हात माग्न नआएका कहाँ हुन् र ? गाउँकै लालीगुराँस थिइन् मैयाँ । धपक्कै बलेकी मैयाँको गायन र नृत्यकलाको बयान गरिसाध्य छैन । उनी नाँच्दा भूइँको धूलो आकासमा उड्थ्यो । उनको कोकिलकण्ठ स्वरले मान्छेहरु झुम्थे । लाएको र खाएको पनि विपत्ता सुहाउँथ्यो उनलाई ।

दिनहरु बित्दै गए । गाउँमा चुनखानी खुल्यो । बाटो पुग्यो । बिजुली पुग्यो । डोजर, टिप्परहरुले काम पाउन थाले । गाउँ नै बजारजस्तै भो । सयौंका संख्यामा चालक, सहचालकहरुको धुइँचो लाग्न थाल्यो । बाटो पुगेपछि गाउँलेका खुसीले धूरी चढे । बटौली बजार आउँदा, जाँदा पैसा लागेन टिप्परमा । गाउँमा एम्बुलेन्सको काम गर्यो टिप्परले । कहिले बुटवल, कहिले भैरहवा कहिले नारायणघाटसम्म मध्यरातमा विरामी वा घाइतेहरुलाई बोकेर टिप्परले धेरैको ज्यान जोगायो । टिप्पर चालकहरु त देउता सावित भए । कोही त दुर्घटना गराएर राक्षस, दैत्य नभएका पनि होइनन् ।

मैयाँले चुनखानी नजिकै बाबाआमाको सल्लाहमा चालक, सहचालक र खानी मजदूरहरुलाई खाजा, खाना खुबाउने गरी ‘मैयाँ होटल’ खोलिन् । उनको होटल राम्रोसँग चल्यो । विहानेदेखि मध्यरातसम्म उनका हात खाली भएनन् । बाबाआमा सहयोगी बने मैयाँका । दाम राम्रै छापिन् । चाँदी काटिन् । उसै राम्री मैयाँको रुप हेर्न समेत चालक, सहचालकहरुको प्रतिस्पर्धा चल्थ्यो । मैयाँले मायालु पारामा सबैका मन खुसी पार्थिन् । मिठो, नमिठो र खाए न खाएको सबैलाई सोध्थिन् । बाबाले काउण्टरमा पैसा गन्थे । आमाले पकाउने र खुवाउने काम गर्थिन् । ग्राहकहरुसँग मैयाँले सम्वाद गर्थिन् ।

मैयाँको खाजा, खानाको होटलमा रक्सी र चुरोट पनि थपियो पछि । चुरोटको धुँवा उडाउँदै मैयाँको मायालाई धुँवाभित्र रुमल्ने सपना बोके कति ग्राहकहरुले । उनको बैंशलाई काखी च्यापेर दिल्ली, बम्बै पुग्ने कल्पना गरे कति ग्राहकले रक्सीको चुस्की लिदै । मैयाँका पाखुरा नतानिएका पनि होइनन् कहिलेकाँही ग्राहकहरुबाट । उनको ओठमा आफ्ना ओठ जोड्न नखोजेका पनि होइनन् ग्राहकहरुले । तरपनि संयमित भएर मैयाँले उनीहरुका कर्मलाई ‘ग्राहक देउता हुन्’ भनेर छाडिदिन्थिन् ।

‘मैयाँ होटल’ चलेपछि गाउँका सागपात, कुखुरा, बोका र खसीहरुले राम्रो बजार पाएका थिए । भाले बास्न नपाउँदै मैयाँको कराहीमा भुटिन्थ्यो । बोकाहरु उनको होटल अघि बिलो लाइन्थ्यो । चालक, सहचालक र मजदूर साथीहरुका गुडफ्राइडे मैयाँको होटलमा चल्थ्यो । बर्थ डे पर्व त दैनिक नै चल्थ्यो । दिनमा तीन सय बढीले उनको होटलमा खाना, नास्ता खान्थे । मैयाँले होटल चलाएको वर्ष दिनमै बुटवलमा घडेरी जोडेको कुरा डढेलोजस्तै फैलियो गाउँभरि । मैयाँले बैंश पनि बेची भनेर शंकाको काँचो वायु चल्यो ।

‘मैयाँ ठूली होटलवाल्नी बनी । साहुनी बनी । पैसा कमाउने भएपछि हाम्लाई किन हेर्थी र’ भन्न समेत भ्याए कतिपय ग्राहकहरुले । मनमा प्रेमको आगो ताप्न रुचाउनेहरुले अनेक कोण, दृष्टिकोणबाट मैयाँको ब्याख्या, विश्लेषण गर्न थाले । उनले सबै भ्रमित कुराहरुलाई पानीको फोका ठानिन् ।

३६७२ को चालकसँग उनको बढी हिमचिम हो कि भनेर अरु ग्राहकहरुले शंका गर्थे । ३६७२ ले मनको कुरा साट्थ्यो । दुःख, सुखको कुरा मैयाँसँग गथ्र्यो । कहिलेकाँही पैसा सापटी चलाउँथ्यो । भावुक थियो । अरुजस्तो थिएन ऊ । चुरोटको कारण दम बढेर बजै बितेको उसलाई राम्रै हेक्का थियो । रक्सीले हित गर्दैन भनेर बाबाको मृत्युपछि उसले थाहा पाएको थियो । सरल, सोझो थियो । मैयाँको मायालाई नजानिदो रुपमा मनको बाक्सामा ताल्चा ठोकेको थियो ।

मैयाँले पनि फुर्सदमा ३६७२ लाई मायालु पाराले हेर्थिन् । खाए न खाएको राम्रोसँग सोध्थिन् । टिप्पर चलाउँदा ख्याल गर्नू, बढी न कुदाउनू, दुर्घटनाबाट बच्नू भनेर सुझाउँथिन् । उसले पनि आदेशपालनाको संकेत टाउको हल्लाएर दिन्थ्यो । अघोषित प्रेम थियो । अर्मूत मायाको बीऊ रोपिदै थियो उनीहरुका । मैयाँसँग प्रेम प्रस्ताव त राख्न सकेको थिएन उसले तरपनि उनीहरुका आँखा र मन साटिदै गएको अड्कल भने काट्न सकिन्थ्यो । फेसबुकमा उनीहरुका लाइक र कमेन्टहरुले मायाको साटासाट हो कि भनेर शंका गर्ने ठाउँ दिन्थ्यो ।

मैयाँको विहे छिनियो गाउँकै केटोसँग । देश, विदेश जाने आउने केटो रहेछ । मैयाँको मिहिनेत र उनको व्यवसाय देखेर पनि हुन सक्छ केटाको परिवारले मैयाँसँग नाता गाँस्ने, सम्बन्ध जोड्ने कामको थालनी गरेको ? जेहोस् मैयाँको विहे हुने कुरा उनका ग्राहकहरुका कानकानमा पुग्नु कुनै अनौठो कुरो पनि भएन । धेरै ग्राहकहरुले मैयाँको होटल सेवाबाट बञ्चित हुने पीर प्रकट गरे । कतिपयले होटल सेवा बन्द नहुने अड्कल काटे ।

मैयाँको विहे फागुन, पहिलो साता पञ्चेबाजासहित धूमधाम भयो । विहेको भोजमा चारवटा खसी काटेको कुरा, रक्सीको खोलो बगेको समाचार गाउँभरि फैलियो । गहनाले त मैयाँलाई झपक्कै ढाकेको थियो रे भनेर देख्नेले भन्दैथिए । मैयाँलाई विहेको हनिमून मनाउन उसको बुढोले पोखरा लैजाँदा यता उनका होटल ग्राहक भने अनेक अड्कलबाजी गर्दैथिए । उनको बूढा परदेश हिडें । मैयाँ होटल फर्किन् । तर ३६७२ उनको होटलमा फर्किएन । साथीहरुलाई भन्दैथियो रे–सारै मन दुखाएर गई । उसको कुरा साथीहरुले चुरोटको धुँवाझैं उठाइदिए ।

एकाबिहानै  मैयाँको होटलमा टिप्पर छिर्यो । टीनको छानोले छाएको अस्थायी होटल भत्कियो । मैयाँ घाइते भइन् । बाबाआमा भने भागेर जोगिए । दुर्घटना भएपछि सबै चालक, सहचालक र खानी मजदूरहरु होटल नजिकै आइपुगे । टिप्पर उत्तानो परेको थियो । नम्बर हेर्दा त्यही ३६७२ थियो । तर चालक थिएन ।  मैयाँलाई हतारहतार लुम्बिनी प्रादेशिक अस्पताल पुराए । उपचार सुरु भयो । यातायात मजदूर तथा व्यवसायी भलाई कोषले टिप शुल्क काटेको कारण उपचार खर्च ब्यहोर्ने भयो । विहे गरेको महिना नपुग्दै दुर्घटना उसैमा पनि ३६७२ बाट ? मैयाँको मन झन पोल्यो ।

खोइ ! कताबाट हो ३६७२ को चालक मैयाँ उपचारार्थ कक्षमा पुग्यो । मैयाँलाई नजिकबाट नियाली रह्यो । मैयाँले पहिरिएको सिन्दूर उसलाई फिक्का लाग्यो । हातको चूरा हत्कडीजस्तै ठान्यो । लामो स्वास तान्यो र भन्यो–मैयाँ मलाई माफ गर । म तिम्रो पागलप्रेमी भएछु । खोइ ! कसरी घटना घट्यो ? म सजायँ भोग्न तयार छु । बिन्ति मलाई माफ गरिदेऊ । सयौंपटक उसले मैयाँसँग माफ माग्यो । चोट लागेको खुट्टामा उसले चुम्बन गर्यो ।

आँसु खसाल्यो र फरक्क फर्किने बेला प्रहरीहरुले ३६७२ लाई पक्रे । सम्बन्धित स्थानमा लगे । उसले ब्रेक फेल भएर दुर्घटना घटेको भनेपनि प्राविधिक जाँचले त्यस्तो देखाएन । प्रहरीहरुले चालक र मैयाँबीचको सम्बन्ध, साइनो र शंकालाई केलाउने भयो ।

भलाई कोषले पूर्ण उपचार गरिदिने र कुनै थप भवितव्य भएमा हाजिर गराउने सहमतिमा ३६७२ लाई भलाई कोषको रोहवरमा उसलाई प्रहरीबाट छुट्कारा दिए । ऊ घर फर्किन सकेन । उसलाई मैयाँको यादले सताइ रह्यो । दुर्घटनाप्रति आत्मग्लानि गर्न फेरि अस्पतालतिर लम्क्यिो ।

३६७२ त्यहाँ पुग्दा मैयाँलाई थप उपचारका लागि काठमाडौं लगिएको थाहा भयो । ऊ निराश भएर फर्कियो अस्पतालबाट । लाखौं रुपैयाँ खर्च गरेर मैयाँलाई अस्पतालले बचायो तर दाहिने खुट्टा भने उनले सधैंका लागि गुमाइन् ।

मैयाँको लोग्नेले साथ छोड्दै गयो । सम्बन्ध चिसिदै गयो । घृणाको पात्र बनिन् मैयाँ । बैसाखीले भित्रबाहिर गर्दैथिइन् । घरकाले पनि सहेनन् । त्यही बैसाखी टेक्दै मैयाँ उही ‘मैयाँ होटल’ आइपुगिन् । चालक, सहचालक र खानीका मजदूरहरुले मैयाँले पुनर्जीवन प्राप्त गरेकोमा खुसी प्रकट गरे । तालीले स्वागत गरे । छेउमै बसेर ३६७२ ले पनि ताली बजाइरहेको थियो । मैयाँले पुर्लुक्क हेरिन् । लामो स्वास तानिन् । नजानिदो तरिकाले मैयाँको मनले ३६७२ को चालकलाई क्षमा दिइन् ।

 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार